सिंहदरबारमा विद्युत् सेवा अवरुद्ध गर्ने चेतावनी
काठमाडौँ, २६ जेठ। माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको क्षमता वृद्धिका विरोधमा रहेका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सङ्घ तथा सङ्गठनले सो निर्णय फिर्ता नलिए मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारको समेत विद्युत् प्रसारण अवरुद्ध गर्ने चेतावनी दिएका छन्।
गैरकानुनी रुपमा क्षमता वृद्धि गरिएको छ भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले सरकारले तत्काल सो निर्णय फिर्ता लिएर सहज वातावरण निर्माण गर्न समेत माग गरेका छन्। नेविप्रा कर्मचारी युनियनका अध्यक्ष रामप्रसाद रिमालले सरकारले तत्काल सो निर्णय फिर्ता नलिए सिंहदरबारको विद्युत् प्रवाहसमेत अवरुद्ध गरिने जानकारी दिनुभयो। उहाँले आन्दोलनकै क्रममा आज दिउँसो मात्रै ललितपुरको पुल्चोकमा अवस्थित मन्त्री निवासको विद्युत् प्रवाह अवरुद्ध गरिएको बताउनुभयो।
प्राधिकरण सञ्चालक समितिले यही जेठ १७ गते माथिल्लो त्रिशूली तेस्रो ‘ए’ आयोजनाको क्षमता परिवर्तन गरी ९० मेगावाट कायम गर्ने निर्णय गरेको थियो । सो निर्णयका विरुद्धमा रहेका प्राधिकरणमा क्रियाशील चार ट्रेड युनियनले यही जेठ १९ देखि २१ गतेसम्मको पहिलो तथा २२ देखि २४ गतेसम्म दोस्रो चरण र २४ गतेदेखि तेस्रो चरणको आन्दोलन सुरु गरेका छन्।
आन्दोलनका क्रममा मन्त्रिनिवासको विद्युत् काट्नेदेखि सिंहदरबारको समेत विद्युत् प्रणाली अवरुद्ध गर्ने कार्यक्रम रहेको नेविप्रा कर्मचारी युनियनका अध्यक्ष रिमालले जानकारी दिनुभयो। प्राधिकरण सञ्चालक समितिले गरेको क्षमता वृद्धिको निर्णय फिर्ता नभए अझ थप कार्यक्रम गर्न बाध्य हुने नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेविप्राका महासचिव झुलीराम थापाले जानकारी दिनुभयो।
