वीरगञ्जमा १३ वर्षकी बेहुलीले मण्डपबाटै विवाह अस्वीकार गरेपछि सबै भगाभाग

२६ माघ, वीरगञ्ज । बाजागाजा र तामझामसहित जन्ती लिएर बिन्दवासिनी मन्दिर पुगेका ५० वर्षका हरिन्द्र साहले यस्तो होला भन्ने चिताएका थिएनन् । आफूभन्दा धेरै कान्छी मात्र नभएर उमेरै नपुगेकी बेहुलीसँग बिहेको तयारीसहित शनिबार जन्ती लिएर बिन्दवासिनी परिसरमा पुगेका महुवन गाविसका बेहुला हरिन्द्र साहसँग बिहे गर्दिन् भन्दै १३ वर्षकी बालिकाले अस्वीकार गरेपछि उनले बेहुली भित्र्याउन पाएनन् ।


अभिभावकले अनमेल विवाह गराउन करकाप गरे पनि भारतको मुहर्वाकी १३ वर्षकी ती बेहुलीले साहस गर्दै मण्डपबाटै बिहे अस्वीकार गरिन् । बिन्दवासिनी मन्दिर परिसरमा मण्डपमा बसेर बेहुली कुर्दै गरेका ५० वर्षका हरिन्द्रलाई देखेपछि आत्तिदैं ती बालिकाले कुनै पनि हालतमा बिहे नगर्ने अडान लिएकी थिइन् ।
‘म यो मान्छेसँग बिहे गर्दिनँ,’ मन्दिर परिसरमै आयोजित अर्को एक वैवाहिक समारोहमा सहभागी धर्मनाथ सर्राफले ती बालिकाको भनाई उदृत गर्दै भने, ‘कसैले दबाब दियो भने पुलिसलाई खबर गरिदिन्छु ।’ बालिकाको इन्कारका अगाडि अभिभावक वा बेहुला पक्ष कसैको केही जोर चलेन । मधेसी समुदायमा बेहुलीका अभिभावक आफैंले बेहुला रोज्ने र बिहेको लगन तय गरिदिने प्रचलन रहँदै आएकाले बिहेको मण्डपमा नपुगेसम्म बेहुलीले भावी जीनवसाथीलाई बिरलैमात्र देख्न पाउने गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।
विधुर हरेन्द्र साहले सन्तान प्राप्तिका लागि दोस्रो बिहे गर्ने योजनासहित भारतको मुसहर्वाबाट ल्याएकी बेहुलीसँग बिहे गर्न खोजेका थिए ।
विन्दवासिनी प्रहरी चौकीका इन्चार्ज असई सोमबहादुर मोक्तानले बिहे मण्डपमै बेहुलीले बिहे अस्वीकार गरेको बारेमा आफूले जानकारी पाए पनि विस्तृत विवरण पत्ता लगाउने प्रयास भइरहेको बताए ।

, , ,

news and entertainment