'ट्राफिक मामा'को मुख थुन्न दुई सय काफी



सुवास गोतामे |
२०७१ कार्तिक १७ सोमबार

काठमाडौं : 'ए भाइ मामालाई कति बुझाइस्?' शुक्रबार बिहान काठमाडौं-नारायणगढ चल्ने ना२ख ६४२७ (नम्बर परिवर्तन) नम्बरका माइक्रो बसचालक नवराज लामाले सहचालकसँग सोधे। सहचालक युवराज तामाङले जबाफ दिए, 'मामाले बल्लतल्ल दुई सयमा मान्यो।' यस्तो दृश्य नजिकैबाट नियाल्न पाइयो।

बिहान ६ बजे छुट्नुपर्ने माइक्रो ट्राफिक प्रहरीलाई पैसा बुझाएपछि एक घन्टासम्म कलंकी आसपासमै अल्झिइरह्यो। हतारिएका यात्रु चालकलाई छिटो गर्न कराइरहेका थिए। तर चालक 'अब जाने' भनिरहेका थिए। दैनिक यस्तै हो भाइ भनेर सोध्दा सहचालक तामाङले भने, 'के गर्ने दाइ, गाडी खाली कुदाउँदा तेलको पनि पैसा उठ्दैन, बरु ट्राफिकको मुख थुन्न दुई सय दियो भने यात्रु त भर्न पाइन्छ।'

यस्तो बेथिति देखेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख केशव अधिकारीसँग कुरा गर्दा उनले भने, 'पैसा खाने ट्राफिक प्रहरीको नाम पाऊँ, म कारबाही गर्छु।'

ट्राफिक प्रहरीले नियमअनुसार कारबाही गर्ने कि यात्रुले नै ट्राफिकलाई फोन गरेर पैसा खायो भनेर जानकारी दिने भन्ने प्रश्नमा अधिकारीले भने, 'निगरानी टोली पठाएर घूस लिएको पाइए कारबाही गर्छु।'

कलंकीबाट करिब ७ बजे छुटेको माइक्रोलाई खानीखोला ट्राफिक प्रहरीले रोके। सार्क शिखर सम्मेलनका लागि चेक प्वाइन्ट राखिएको होला भन्ने भान प:यो। माइक्रोले सिट क्षमताभन्दा बढी यात्रु राखेर गुडाइरहेको थियो।
सहचालक ट्राफिकसँग बोल्दैनबोली सीधै ट्राफिक कार्यालयमा पुगेर पाँच सय रुपैयाँ जरिबाना चिट ल्याए। कलंकीमा ट्राफिकलाई दुई सय र खानीखोलामा पाँच सय गरी सात सय रुपैयाँ बुझाइसकेपछि चालकले भने, 'गाडीको अस्वस्थ प्रतिस्पर्धा छ। बरु सात सय तिरेर भए पनि नाफा त कमाउनैप:यो। हामी सधैं सिट क्षमताभन्दा बढी मान्छे ओसार्छौं र जरिबाना तिर्छौं।'

सहचालक तामाङले एक ट्राफिक जवानलाई हात हल्लाउँदै भने, 'के छ हो सर कमाइ राम्रै भएको छ नि?' तामाङले ती जवानलाई उद्धृत गर्दै भने, 'बुधबारमात्रै सिट क्षमताभन्दा बढी यात्रु बोकेका सवारीसाधनमाथि कारबाही गरेर खानीखोला ट्राफिकले डेढ लाख रुपैयाँ जरिबाना असुलेछन्।' ट्राफिक प्रहरीले ठूला सवारीसाधनलाई भन्दा पनि माइक्रोबसलाई बढी कडाइ गरेको पाइयो। 'ठूला बसमा मान्छे जति कोचेर लगे पनि ट्राफिकले केही गर्दैन तर माइक्रोमा एकजना बढी भयो भने किचकिच सुरु भइहाल्छ', चालक लामाले भने।

चितवनबाट साँझ ट्याक्सीमा फर्कंदै गर्दा थानकोट चेकपोस्टअगाडि ट्राफिक प्रहरीले ट्याक्सी रोके। 'खै पटके कार्ड दिनुस्' भनेर कार्ड मागेपछि ट्राफिक प्रहरीले भने, 'ए आज चिट काट्न पाइएन। भोलि त काट्न पाइन्छ, ल जानुस्।' राति १० बजे काठमाडौं आएका ट्याक्सीचालक ट्राफिकको चिट काट्ने धम्कीपछि राति नै खाली गाडी चितवन फर्किए।

प्रहरीले प्रत्येक सार्वजनिक कार्यक्रममा भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता भन्दै आएपछि शुक्रबार राजमार्गमा देखिएको बेथितिले भनाइ र गराइमा ठीक उल्टो रहेको छर्लंग हुन्छ। कलंकी र खानीखोलामा ट्राफिक प्रहरीको मनोमानीको सूचना प्रहरी महानिरीक्षकसम्म पुग्यो। महानिरीक्षक अर्यालले बेथितिबारे अनभिज्ञता प्रकट गर्दै भने, 'के भएको रहेछ, म बुझेर अनुसन्धान गर्न निर्देशन दिन्छु।'


annapurnapost.com

,

news and entertainment