नीताले चिनाइन् ब्वाइफ्रेन्ड

मंगलवार, कार्तिक १८,
नायिका नीता ढुंगानाले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् । रियल लाइफमा नीताका ब्वाइफ्रेन्ड हुन्– अमेश भण्डारी । नीताले आफ्नो आधिकारिक फेसबुक पेजमा आफू र अमेशको फोटो पोस्ट गरी ‘विथ माई लभ’ लेखेकी छिन् ।
अमेश अभिनेता, गायक तथा संगीतकार हुन् । हाल सुटिङ भइरहेको दिनेश डिसीको फिल्म फूलैफूलको मौसम तिमीलाईमा नीता र अमेश जोडी भई अभिनय गरेका छन् । त्यसभन्दाअघि पनि नीता र अमेशले तँ, म र ऊ फिल्ममा सँगै अभिनय गरेका थिए ।
‘अमेश मेरो ब्वाइफ्रेन्ड हो,’ आफू विगत तीन वर्षदेखि अमेशको प्रेममा रहेको खुलासा गर्दै नीताले भनिन्, ‘हाम्रो चिनजान  पारिवारिक रूपमा भने सानैदेखि थियो । तर,  भेट भने तीन वर्षअघि मात्रै भएको थियो । त्यसपछि हामी निकट हुँदै गयौँ ।’ नीताले आफू र अमेशको भेट एक स्कुलको कार्यक्रममा भएको स्मरण गरिन् । ‘पहिलो भेटमा हेराहेर मात्र भयो । पछि, कुराकानी हुँदै जाँदा प्रेममा पर्‍यौँ,’ नीताले भनिन्, ‘हामीबीच एकदमै अन्डरस्ट्यान्डिङ छ । उनी पनि फिल्ममै करिअर बनाउन चाहन्छन् । एक–अर्कालाई हामीले निकै नजिकबाट बुझेकाले हरेक कुरा सजिलो भएको छ ।’

काठमाडौं, कालीमाटीका अमेश पनि नीता र आफू गहिरो प्रेममा रहेको स्वीकार गर्छन् । ‘नीता र म प्रेममा छौँ,’ अमेश भन्छन्, ‘दुवैजना एकै क्षेत्रका भएकाले हामीलाई निकै सजिलो भएको छ ।’
अझै केही समय प्रेममै मस्त हुने र आगामी वर्ष भने विवाहबन्धनमा बाँधिने योजना नीता–अमेशको छ । ‘बिहेचाहिँ अर्काे वर्ष गर्नुपर्ला,’ नीता भन्छिन्, ‘अहिले त हामी करिअरमै कन्सन्ट्रेट छौँ ।’
तँ, म र ऊ तथा फूलैफूलको मौसम तिमीलाई पछि पनि नीता अमेशकै जोडी भई फिल्म खेल्ने भएकी छिन् । ‘हामी दुवैलाई लिएर फिल्म बनाउने केही अफर छन्,’ नीता भन्छिन्, ‘आफ्नो मान्छेसँग काम गर्दा निकै सहज हुन्छ ।’
अफेयरको कुराले करिअरमा असर नपर्ने बुझाई नीताको छ । ‘अफेयरको कुराले करिअरमा कुनै असर पर्दैन,’ उनको दाबी छ, ‘हामी दुवैजना प्रोफेसनल कलाकार हौँ ।  अफेयर, बिहेपछि पनि फिल्म अभिनयमै रहनेछौँ । यो कुराले त झन् सजिलो पो हुन्छ त ।’ उनी आफू र अमेशको सम्बन्धलाई दुवैको परिवारले स्वीकार गरिसकेको बताउँछिन् ।
 लक्ष्मण सुवेदी/ नयाँपत्रिका

,

news and entertainment