अव सुशील-ओली र प्रचण्डको भिडन्त मैदानमै

१२ माघ, काठमाडौं ।

नेपाली कांग्रेसले आफ्ना सभासद्लाई जिल्ला जान निर्देशन दिएको छ । सभासद्लाई आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि १० दिनको समय भएको भन्दै कांग्रेस सभापति सुशील कोइरालाले सबै सभासद्लाई जिल्ला जान र संविधान निर्माणका क्रममा अहिलेसम्म भएका गतिविधिबारे जनतालाई जानकारी गराउन निर्देशन दिएको सभासद् धनराज गुरुङले जानकारी दिए ।


नेकपा एमालेले पनि हिजो नै आफ्ना सभासद्लाई आफ्नो निर्वाचन क्षेत्रमा जान निर्देशन दिइसकेको छ । कांग्रेस एमालेका प्रस्ताव समितिमा रहेका बाहेकका सभासद्ले १० दिनको छुट्टि पाएका हुन् । प्रस्ताव समितिको बैठक १७ गतेका लागि बोलाइएको र त्यसपछिका पाँच दिन पनि प्रस्ताव समिति नै सकृय हुने भएकाले अरु सभासद् फुर्सदिला भएका हुन् ।

बहुमतिय प्रकृयामा गएर आफूहरुलाई पेल्न खोजेको भन्दै एकीकृत माओवादी सहितका १९ दलले जनताको बीचमा गएर आफ्ना कुरा राख्ने बताएकै बेला सत्तारुढ दुबै दलले आफ्ना सभासद्लाई पनि जिल्ला जान निर्देशन दिएका हुन् । त्यसैले अव सत्ता पक्ष र प्रतिपक्षका सभासद्को मैदानमै भेट हुने भएको छ ।

यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत माओवादी नेतृत्वको मोर्चालाई वार्ताका लागि आब्हान गरेका छन् । बिहान एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी वार्तामा आउन आग्रह गरेका हुन् । तर प्रचण्डले भने संविधानसभाका अध्यक्ष नेम्वाङले चालेको कदम नसच्चिएसम्म आफूहरुले वार्ता नगर्ने निर्णय गरिसकेको जवाफ प्रधानमन्त्रीलाई दिए ।

news and entertainment