मनकामनामा भारतीय पर्यटकको ओइरो

फागुन १५ मा क्षमापूजा

१० फागुन, गोरखाबजार

प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल गोरखाको मनकामना मन्दिरमा भारतीय पर्यटकको चाप बढ्दै गएको छ ।

दिनहुँ केबुलकारमार्फत मन्दिरमा पूजाअर्चनाका लागि भारतीय पर्यटक भित्रँदै आएका छन् । विशेषगरी साताको दुई दिन (शुक्रबार अपराह्नपछि र शनिबार दिनभर) मन्दिरमा पूजाअर्चनाका लागि भारतीय पर्यटकको भिड हुने गरेको छ ।


“दिनमा सात हजारसम्म भक्तजन मनकामना मन्दिर आउँछन्”–मनकामना क्षेत्र विकास समितिका पूर्वअध्यक्ष दीपक जोशीले भन्नुभयो–“तीमध्ये अधिकांश भारतीय पर्यटक देखिन्छन् । मनकामना आउने भारतीय पर्यटकको सङ्ख्या क्रमशः बर्सेनि बढ्दै गएको जोशीले जानकारी दिए । अन्य दिनभन्दा शुक्रबार र शनिबार भारतीय पर्यटकको चाप बढ्ने उनको भनाइ छ । नेपाल र भारतका मानिसको संस्कार, संस्कृति मिल्दोजुल्दो छ । मनकामना पूजाअर्चनापछि मनको कामना, पुकार पूरा हुने उद्देश्यले भक्तजन मनकामना भित्रँदै आएका छन् ।


कति भारतीय पर्यटक भित्रिए भन्ने यकिन तथ्याङ्क राखिएको छैन”–जोशीले भने– “दर्शनका लागि लाइनमा बसेकामध्ये धेरैजसो भारतदेखि आइपुगेका हुन् ।” भारतीय लगातार तीन पटकसम्म मनकामना मन्दिरमा पूजाअर्चनाका लागि आउने भएकाले सङ्ख्या बढ्दै गएको उनको तर्क छ ।

मनकामनामा नेपालकै भक्तजन वार्षिक पाँच लाख भित्रने गरेका छन् । अधिकांश नेपाली केबुलकार चढेर मनकामना पुग्छन् । त्यस्तै केही मात्रामा सडकमार्फत पनि आन्तरिक पर्यटक, भक्तजन मनकामना पुग्न थालेका छन् । मनकामना जोड्ने विभिन्न ठाउँबाट नौ सडक छन् । आन्तरिक पर्यटकको चाप पनि बर्सेनि बढ्दै गएको छ ।

केबुलकार चढेर पोहोर (गत वर्ष) चार लाख भारतीय पर्यटक मनकामना पुगेको तथ्याङ्क छ । “पहिलेको भन्दा १६ प्रतिशतभन्दा बढी भारतीय पर्यटक केबुलकार चढेर मनकामना भित्रिएका छन्”–मनकामना केबुलकारका स्टेसन म्यानेजर डिएन कायस्थले भने–“पूजाअर्चना र अवलोकनका लागि मनकामना भित्रने पर्यटकको सङ्ख्या बढ्दो छ ।

भारतीय पर्यटक मनकामना क्षेत्रमा भित्रिएपछि त्यस क्षेत्रमा खुलेका १२५ भन्दा धेरै होटल तथा लजको व्यापार बढेको गोरखा उद्योग वाणिज्य सङ्घ, मनकामना एकाइले जनाएको छ । भारतीय पर्यटक भाकल पूजालगायत पूजाअर्चनाका लागि मनकामना आउने गरेका छन् । त्यस्तै अमेरिका र युरोपेली देशबाट पनि पर्यटक मनकामना भित्रँदै आएका छन्

यसैबीच सदरमुकामदेखि दक्षिण भेगमा रहेको मनकामना मन्दिरमा यही फागुन १५ गते क्षमा पूजा गरेर जगैदेखि जीर्णोद्धारको प्रक्रिया अघि बढाइने भएको छ । जीर्णोद्धारको बेला पनि मन्दिरको पूजा नरोकिने पुजारी इन्शान थापाले जानकारी दिए । रासस

news and entertainment