नेपालका एकमात्र अर्बपति चौधरीलाई श्रद्धाञ्जली दिन नेतादेखि मन्त्रीसम्म आर्यघाट पुगे

काठमाडौं, २२ माघ । नेपालका एक मात्र अर्बपति उद्योगी एवं चौधरी ग्रुपका संस्थापक स्वर्गीय लूनकरणदास चौधरीको शुक्रबार काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।
स्वर्गीय चौधरी नेपालका अहिलेका चर्चित उद्योगपति विनोद चौधरीका पिता हुनुहुन्थ्यो ।
हजारौं शुभेच्छुकहरुको सहभागितामा बिहान ११ बजे ठमेलस्थित स्वनिवास सरस्वती सदनबाट दर्जनौ प्रकारका फूलले सुसज्जित विशेष बाहन तयार गरी पार्थिव शरीरलाई नगर परिक्रमासँगै पशुपति आर्यघाटतर्फ लगिएको थियो । बाटोमा सयौ शुभेच्छुकले नेपालका निजी क्षेत्रका संस्थापकमध्येका एक तथा नेपालमा व्यापारलाई उद्योगमा रुपान्तरण गर्ने एक अग्रणी स्वर्गीय चौधरीप्रति पुष्पगुच्छा चढाउँदै ठाउँ ठाउँमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
अपार जनसागर चौधरीको पार्थिव शरीरलाई अन्तिम विदाई गर्न पशुपति आर्यघाट पुगेको थियो । मानवसागरका बीच तीन छोराले पार्थिव शरीरमा दागबत्ती दिनुभएको थियो ।

स्वर्गीय चौधरी
ब्रम्हलीन स्वर्गीय चौधरीलाई अन्तिम विदाई गर्न आर्यघाटमा माओवादी नेता मोहन वैद्य “किरण”, कुलप्रसाद के.सी. (सोनाम), पूर्वमन्त्री जयपुरी घर्तिमगर, अर्थमन्त्री विष्णु पौडेल, कानूनमन्त्री अग्नी खरेल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे लगायत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की, उच्च पदस्थ राजनैतिक, सामाजिक, औद्योगिक एवम् प्रशासनिक व्यक्तित्वहरू रहेका थिए ।
मधेशवादी नेता महेन्द्र राय यादव, नेपाल सरकारका विशिष्ट अधिकारी, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका उच्चपदस्थ व्यक्तित्वहरू, व्यापारिक, शैक्षिक प्रतिष्ठानका प्रमुख, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स्का अधिकारी, संचारकर्मी, सर्वसाधारण लगायतको ठूलो सहभागिता थियो ।
आर्यघाटमा विशेष प्रकारले सुसज्जित चितामा चौधरीको पार्थिव शरीर धूवा हुँदै ब्रम्हलीन हुन पुगेको थियो । आर्यघाटको वातावरण निकै शोकमग्न थियो, अधिकांशका आँखा रसाएका थिए ।
बुबा (पिताजी) को देहवासानका कारण छोरा, छोरी, नाति नातिना तथा चौधरी परिवारका सदस्य तथा बाहिरका शुभेच्छुक पनि रोइरहेका देखिन्थे ।
९४ बर्षीय लूनकरणदास चौधरी विगत लामो समयदेखि विभिन्न स्वास्थ्य सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । आफू संस्थापक अध्यक्ष समेत रहेको नर्भिक अस्पतालमा लामो समयसम्म राखेर उहाँलाई उपचार गरिएको थियो । उहाँको बिहिबार दिउँसो ३ बजेर ३ मिनेट जाँदा निधन भएको थियो ।

चौधरी नेपाली निजी क्षेत्रका अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो । नेपाली उद्योग व्यवसाय क्षेत्रमा झण्डै डेढ शताब्दीपूर्व अर्थात् राणाकालीन युगमै कपडाको व्यापारबाट उहाँले व्यवसाय आरम्भ गर्नुभएको थियो । उहाँ नेपाली बहुर्राष्ट्रिय कम्पनी चौधरी ग्रुपको संस्थापक अध्यक्ष हुनुहुन्छ । नेपाली उद्योग व्यवसायमा जापानी प्रविधिको स्टील, फ्लोरिङ एण्ड फर्निसिङ, फ्रान्स र बेलायतका विविध विद्युतीय सामाग्री, एप्पारेल्स इत्यादि समेतको व्यवसाय गर्नुभएको थियो । उहाँले राष्ट्रकै दोश्रो र पूर्वाञ्चलको पहिलो बिस्कुट तथा कन्फेक्सनरी, मैदा मिल्स्, प्याकेजिङ उद्योग आदि संचालनका लागि जर्मन प्रविधि भित्र्याउनुभएको थियो ।

नेपालकै पहिलो डिपार्टमेन्टल स्टोर ‘अरुण इम्पोरीयम’ समेत चौधरीले स्थापना गरी नेपालमा डिपार्टमेन्टल युगको समेत थालनी गर्नुभएको थियो । चौधरी मारवाडी सेवा समिति नेपालका संस्थापक तथा आजीवन सदस्य, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य संघका संस्थापक सदस्य, चौधरी फाउण्डेसनका संस्थापक तथा लूनकरणदास गंगादेवी चौधरी साहित्य–कला मन्दिर, लूनकरणदास गंगादेवी च्यारिटी हस्पिटल, दुहबी सुनसरीका संस्थापक तथा संरक्षक हुनुहुन्थ्यो ।
हाल चौधरीले स्थापना गरेका ५ दर्जन भन्दा बढी औद्योेगिक प्रतिष्ठानमा ७ हजार ५ सय भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । चौधरीका तीन छोरा र एक छोरी हुनुहुन्छ ।
dainiknepal

,

news and entertainment