राजकुमार ह्यारीको गोर्खाली नाता

चैत्र ७, २०७२-
म गोर्खालीहरूका साथमा हुँदा सबैभन्दा बढी सुरक्षित महसुस गर्छु – बेलायतको राजपरिवारमा जन्मी–हुर्किएका राजकुमार ह्यारीको यो भनाइबाट थाहा पाउन सकिन्छ, गोर्खाली सेनाप्रति उनको कति विश्वास, स्नेह र समर्पण छ । राजकुमार ह्यारी कहिले गोर्खाली सेनाका साथ युद्धको मोर्चामा होमिन्छन्, कहिले विकलाङ्ग गोर्खाली सैनिकका निम्ति सहयोग जुटाउन बरफमा यात्रा गर्छन् । ‘आई हेट सेल्फी’ भन्दै प्रशंसकहरूबाट भाग्ने ह्यारी गोर्खाली युवतीसँग भने सेल्फी खिच्न उत्साहित हुन्छन् । उनी कतिसम्म भन्छन् भने, ‘म कुनै बेला गोर्खा सैनिकमा भर्ती हुन चाहन्थें तर समयले साथ दिएन ।’
यिनै ह्यारी अहिले नेपाल भ्रमणमा रहेका छ्न् । नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापित भएको २ सय औं वर्षगाँठ मनाउने क्रममा राजकुमार ह्यारी नेपालीहरूको न्यानो आतिथ्य ग्रहण गरिरहेका छन् । नेपाल र बेलायतबीच सन् १८१६ मा दौत्य सम्बन्ध स्थापित भएको थियो । यो डेढ दशकयताको सर्वाधिकउच्चस्तरिय भ्रमण हो । ह्यारी पाँच दिने भ्रमणका चैत ६ गते शनिवार नेपाल आएका हुन् ।

स्वर्गीय राजकुमारी डायनाका कान्छा छोरा ह्यारी ब्रिटिस सिंहासनको पाँचौं नम्बरका दावेदार हुन् । ह्यारीको नामको पछाडि यस्ता थुप्रै विशेषण झुन्डिएको छ— ज्यानको बाजी थापेर युद्ध लड्नेदेखि प्रेम रोमान्समा उन्मुक्त रमाउनेसम्म ।

गोर्खाली सेनासँगै युद्ध मोर्चामा

अफगानिस्तानमा तालिवान विरुद्ध गोर्खाली सेनाले युद्ध छेडिरहेका बेला राजकुमार ह्यारी पनि साथै थिए । गोर्खाली सेनासँग रमाउने ह्यारीले त्यहाँ दस हप्ता विताए । त्यतिबेला उनको उमेर २३ वर्ष थियो ।

त्यतिबेला गोर्खाली सेनाका साथ बिताएको दुईमहिने अवधिलाई उनले जीवनकै अविस्मरणीय र रोमाञ्चक क्षण बताउँदै आएका छन् । ‘म बेलायतको महलमा बस्न चाहन्नँ,’ ह्यारीले भनेका थिए– ‘प्रेस र अखबारबाट टाढा रहनु मेरा लागि सुखद अनुभव थियो ।’

अफगानिस्तानको हेल्मन्ड प्रान्तमा रहँदा उनी गोर्खाली सेनासँग नजिकिएका थिए । उनले त्यहाँ ‘एयर कन्ट्रोलर’को जिम्मेवारी सम्हालेका थिए । ह्यारी युद्ध मोर्चामा सामेल भएको कुरालाई गोप्य राखिएको थियो । यद्यपि अस्ट्रेलियाको एक अखबारले उक्त गोपनियता चुहाइदियो । अन्तत: ब्रिटिस रक्षा मन्त्रालयले उक्त खबर पुष्टि गरेपछि त्यसले विश्वभर चर्चा मात्र पाएन, ह्यारीको सुरक्षा खतरा बढ्यो । फलत: निर्धारित समयभन्दा अगावै उनलाई फिर्ता बोलाइयो । सामान्य परिस्थितिमा उनले त्यहाँ ६ महिना बस्नुपर्ने थियो ।

राजकुमार ह्यारीले सेनाको विशेष तालिम लिएका छन् । उनले दश वर्षसम्म सैन्य सेवामा आबद्ध भएर काम गरे । यस क्रममा उनले अफगानिस्तानमा दुई पटक युद्धको मोर्चा सम्हालेका थिए । ह्यारीले आफ्नो सपना सैन्य सेवामा सामेल हुने भएको बताउँदै आएका थिए । १० वर्ष लामो सैन्य जीवनवाट उक्त सपना पूरा भएको उनको भनाइ छ ।

गोर्खाली सेनाको सहयोगार्थ हिउँमा यात्रा
अफगानिस्तानमा आफूसँगै युद्धमा होमिएका कतिपय गोर्खाली सेना अंगभंग भए । यसरी युद्धका कारण विकलाङ्ग हुन पुगेका सेनाको सहयोगार्थ उनले २० घण्टा सून्य देखि ३५ डिग्रीभन्दा कम तापमानको ठिंहीमा बिताए । त्यस्तै, जाडो महिनामा दक्षिणी धुव्रको स्की यात्रासमेत गरे । ह्यारीले अन्टार्टिका क्षेत्रमा ३ सय किलोमिटर लामो दूरी यसरी नै पार गरेका थिए । त्यतिबेला उनका यात्रामा बेलायती सेनाका भूतपूर्व अधिकारी तथा सैनिकहरू सहभागी थिए ।

जब ह्यारीको समर्थनमा गोर्खाली नांगिए
ह्यारी र गोर्खाली सैनिकबीच कति प्रगाढ सम्बन्ध छ भन्ने कुरा थाहा पाउन एउटा घटना पर्याप्त छ । लस भेगासको एउटा होटलमा केही युवतीका साथ राजकुमार ह्यारी निर्वस्त्र भए । उक्त तस्बिर अमेरिकी गसिप वेबसाइट टीएमजेडले सार्वजनिक गरिदियो । त्यसले बेलायत राजघरानामा ठूलै हलचल मच्चाइदियो । मदिराको सुरमा गरिएको उक्त हर्कतको सर्वत्र आलोचना भयो ।

ठीक यही बेला ह्यारीको समर्थनमा बेलायती सेना नाङ्गिए, जसमा गोर्खालीहरूको संख्या बढी थियो । बेलायतका हजारौं सैनिक, उनीहरूका श्रीमती तथा गर्लफ्रेन्डले सोशल नेटवर्किङ साइटमा छुट्टै पेज बनाएर आ–आफ्ना नग्न तस्बिर अपलोड गरे । यसका निम्ति ‘सपोर्ट प्रिन्स ह्यारी विथ अब न्याकेड स्यालुट’ अभियान नै सञ्चालन गरिएको थियो ।

गोर्खाली चेलीसँग सेल्फी

ब्रिटिस सेनामा गोर्खा भर्ती भएको दुई शताब्दी पूरा भएको अवसरमा लन्डनको चेल्सी हस्पिटलमा विशेष कार्यक्रम हँुदै थियो । उक्त समारोहमा बेलायती महारानी एलिजावेथलगायत राजपरिवारका सदस्यहरू पनि सामेल थिए । अफगानिस्तानको युद्ध मोर्चामा साथै लडेका गोर्खा सेनासँग राजकुमार ह्यारी निकै उत्साहपूर्वक खुसी साटिरहेका थिए । उनले गोर्खाली जवान एवं तिनका परिवारसँग खुलेर तस्बिर खिचाए । अन्य प्रशंसकका साथमा सेल्फी खिच्न तयार नहुने ह्यारीले गोर्खाली चेलीसँग भने हार्दिकतापूर्वक तस्बिर खिचाए ।

बेलायतको गोर्खा कनेक्सन


अंग्रेज–नेपाल युद्धको समयमा गोर्खालीहरूले देखाएको साहस तथा बहादुरीबाट प्रभावित भएर युद्धविरामपछि अंग्रेजहरूले गोर्खालीलाई आफ्नो सेनामा भर्ती गरेका थिए । सन् १८१६ मा प्रारम्भ भएको यो सिलसिला अझै टुटेको छैन । यस अवधिमा १३ जना गोर्खाली सेना ‘भिक्टोरिया क्रस’बाट सम्मानित भैसकेका छन् । भिक्टोरिया क्रस बेलायतको सबैभन्दा ठूलो सैनिक सम्मान हो ।
ekantipur

,

news and entertainment