फ्रि भिसा र टिकट फिर्ता लिने बारेमा हामी छलफल गर्न नै तयार छैनौ - श्रममन्त्री

सेलाइसकेको फ्रि भिसा र टिकटको निर्णय किन ब्युताएँ व्यवसायीले
श्रम तथा रोजगारमन्त्री दीपक बोहराले फ्रि भिसा र टिकट कुनै पनि हालतमा फिर्ता नलिने बताएका छन्। व्यवसायीहरुले फ्रि भिसा र टिकट निर्णयका लागि आफूलाई जस्तोसुकै दबाब दिएपछि त्यो फिर्ता नहुने मन्त्री बोहराले बताए। व्यवसायीहरुले भनेजस्तो फ्रि भिसा र टिकटमा सरकार र आफू लचिलो नभएको मन्त्री बोहराको भनाइ छ ।

'वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन अन्य विषयमा छलफल गर्न हामी तयार छौं', मन्त्री बोहराले भने, 'फ्रि भिसा र टिकटका विषयमा कुनै छलफल नै हुँदैन।'

'व्यवसायीहरु भ्रममा नपरे हुन्छ', मन्त्री बोहराले थपे, 'मन्त्रालयको स्ट्यान्ड भनेको फ्रि भिसा र टिकटमा कुनै छलफल र सहमति नै नगर्ने नै हाे ।

'व्यवसायीलाई परेका समस्या सुनाउने थलो मन्त्रालय नै हो', मन्त्री बोहराले भने' तर व्यवसायीलाई फाइदा हुने र कामदारलाइ मर्का हुने गरी फ्रि भिसा र टिकटमा निर्णय हुन्न । पहिलाको निर्णय जस्ताको त्यस्तै लागू हुन्छ ।'

म्यानपावर कम्पनीहरुमा ठगी भएको भन्दै महानगरीय अपराध महाशाखाले छापा मारेपछि व्यवसायीहरु झन्डै एक महिना आन्दोलनमा उत्रिएका थिए। समस्या समाधानका लागि सरकार व्यवसायी दुवैतर्फबाट वार्ता टोली गठन गरेपछि अहिले भने व्यवसायीले काम सुरु गरेका छन् ।

ठगी बढेको भन्दै प्रहरीले छापा मारेपछि आन्दोलनमा उत्रिएका व्यवसायीले सेलाइसकेको फ्रि भिसा र टिकटको निर्णय पुनरावलोन गर्नुपर्ने माग अघि सारेका छन् । व्यवसायीहरुले कामदार पठाए वापत कामदारले पाउने एक महिनाको तलव वा ४ सय अमेरिकी डलर आफूहरुले उठाउन पाउनुपर्ने नयाँ सर्त तेर्साएकाछन् ।

मन्त्री बोहराले भने 'व्यवसायीले जस्तोसुकै माग तेर्साएपनि  फ्रि भिसा र टिकटसँग सम्बन्धित भएका ती मागमा छलफल नै हुन्न । यसअघिका श्रममन्त्री टेकबहादुर गुरुङले गत असार २१ गतेदेखि  मलेसिया लगायतका खाडी मुलुक कतार, युएइ, ओमन, साउदी अरव, बहराइन र कुवेतमा  कामदार फ्रि भिसा र टिकटमा पठाउने निर्णय गरेका हुन्।

सरकारले असार यो नियम लगाएसँगै म्यानपावर व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । व्यवसायीहरु निर्णय फिर्ता गराउन तत्कालिन प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग हार गुहार गर्न पुगेका थिए। अन्तत फ्रि भिसा र टिकटका नाममा एक कामदारसँग बढीमा १८ हजार लिन पाउने प्रावधान सरकारले तोकेपछि व्यवसायी निर्णय मान्न तयार भएका थिए । त्यसपछि सेलाइसकेको विषय प्रहरीले छापा मारेसँगै व्यवसायीहरुले ब्युँताएका हुन्।
setopati

,

news and entertainment