जन्मदिनमा धुर्मुस–सुन्तलीको नमुना बस्ती अभियानलाई सहयोग

काठमाडौँ, २१ वैशाख, दोस्रो नमुना बस्ती बनाउने घोषणा गरेका धुर्मुस–सुन्तलीको अभियानमा सहयोगी हातहरुको अहिले उल्लेख्य सहभागिता रहन थालेको छ । सिन्धुपाल्चोक जिल्लाको गिरान्चौरमा एकीकृत बस्ती निर्माण अभियानमा जुटेका उनीहरुलाई देश–विदेशबाट सहयोग जुट्न थालेको हो । यसअघि काभ्रेमा नमुना बस्ती निर्माण गरी उदाहरणीय कार्य गरेर देखाएका धुर्मुस–सुन्तलीलाई दोस्रो नमुनाबस्ती निर्माण गर्न अलि सहज हुने देखिएको छ ।


धुर्मुस–सुन्तलीको अभियानबाट प्रभावित बन्दै अमेरिकामा बसोवास गर्ने नेपाली श्रीमान्-श्रीमतीले आफ्नो जन्मदिनको खर्च कटाएरै सहयोग गर्ने घोषणा गरेका छन् । केही वर्षदेखि अमेरिका बस्दै आएका श्रीमान्-श्रीमती सुरेश वाग्ले र रोशनी खनालले यो अभियानलाई ५० हजार रुपैयाँ (५०० डलर) सहयोग गर्ने घोषणा गरेका हुन् । "श्रीमती रोशनीको जन्मदिन कसरी फरक किसिमले मनाउने भनेर सोच्दै थिएँ संयोगले त्यसै दिन दोस्रो एकिकृत बस्ती बनाउन सहयोगी मनहरुलाई धुर्मुस–सुन्तलीको अपिल आएको रहेछ । यसपछि थप सहयोग गर्ने गरी पहिलो चरणमा ५ सय डलर सहयोग गर्ने घोषणा गरियो" वाग्लेले भने । वाग्लेले यो महान कार्यमा अलिकति भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

यता रोशनीले पनि आफ्नो श्रीमानले जन्मदिनमा गरेको घोषणाले आफू उत्साहित भएको बताइन् । "धुर्मुस–सुन्तलीले यस अघि गरेको कामबाट हामी प्रभावित थियौँ । काम गर्न खोज्ने र गरेर देखाउनेलाई सहयोग गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ । आगामी दिनमा पनि सहयोगको क्रम जारी रहने छ" उनले भनिन् । रोशनीले अमेरिका लगायत विश्वभरी छरिएर रहेका नेपालीलाई धुर्मुस-सुन्तलीको कामको मूल्याङ्कन गर्दै सहयोग गर्न आह्वान गरेकी छिन् ।

यस अघि काभ्रेको डाँडागाउँ स्थित पहरी बस्तीमा २१ घरसहितको नमुना बस्ती निर्माण गरेको धुर्मुस-सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको मेलम्चीमा महत्वाकांक्षी योजना सुरु गरेको छ । मेलम्ची नगरपालिका-८ गिरान्चौरमा ६५ नमुना घर सहितको पर्यटकीय गाउँ बनाउने लक्ष्य फाउन्डेसनले लिएको छ ।
aajakokhabar

,

news and entertainment