मलाई ध्वस्त पार्ने प्रयास भइरहेको छ : कंगना

वैशाख २१, २०७३- पछिल्लो समय विवादमा तानिएकी बलिउड अभिनेत्री कंगना रनावतले आफूलाई ध्वस्त पार्ने प्रयास भइरहेको बताएकी छन् । ‘यो पुरानै चलन हो । कसैलाई प्राप्त गर्न सकिएन भने उसलाई खत्तम गरिदिने, अहिले केही मानिसहरु मलाई नपाएपछि त्यस्तै प्रयासमा लागेका छन्,’ इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा कंगनाले भनेकी छन् ।


कंगनाले ऋत्विकलाई आफ्नो पूर्वप्रेमी दावी गरेपछि ऋत्विकले त्यसको खण्डन गरेका थिए । यी दुवैले एक–अर्कालाई कानुनी चेतावनीहरु दिएका छन् ।

ऋत्विक–कंगना झगडा सार्वजनिक भइरहेका बेला कंगनाका पूर्वप्रेमी अध्ययन सुमनले कंगनाले आफूलाई मानसिक र शारीरिक रुपमा टर्चर गरेको, आफ्नो करिअर ध्वस्त पारेको र आफूमाथि ‘काला जादु’ गरेको बताएका थिए ।

अध्ययनका पिता तथा अभिनेता शेखर सुमनले समेत कंगनाले आफ्नो छोरामाथि काला जादु प्रयोग गरेको बताएका थिए । यो कुरा सार्वजनिक भएपछि ट्विटरमा कंगनालाई ‘बोक्सी’ भन्दै ट्रेन्ड चलेको थियो ।

कंगनाले यस विषयमा पनि अन्तर्वार्तामा टिप्पणी गरेकी छन् । उनले भनेकी छन्, ‘मलाई कसैले बोक्सी भन्छ भने मलाई केही फरक पर्दैन । महिलालाई बोक्सी, साइको, वेश्या भनेर अपमानित गर्ने परम्परा धेरै पुरानो हो ।’ उनले भनेकी छन्, ‘कुनै महिला धेरै काम गर्ने र सोच्ने भइ भने उनलाई साइको भन्ने, यौनिक रुपमा सक्रिय भइ भने वेश्या भन्ने र कसैगर्दा पनि उसलाई कमजोर बनाउन सकिएन भने बोक्सी भनिँदै आएको छ, मानिसहरुको मानसिकता अहिले पनि उस्तै छ ।’

उनले आफ्नो सफलता नै आफूले लिने बदला भएको पनि बताएकी छन् ।
ekantipur

,

news and entertainment