यौनसम्पर्क कति भएपछि बढी हुन्छ ?



धेरैको मनमा प्रश्न हुन्छ, कतिको यौनचाहना वा यौनक्रियाकलाप सामान्य हो। यौनचाहना तथा क्रियाकलाप व्यक्ति-व्यक्तिअनुसार फरक-फरक  हुन्छ, कसैलाई कम भने कसैलाई बढी। आफ्नो दैनिक सामान्य जीवन अस्तव्यस्त नहुने गरी कोही यौन क्रियाकलापमा बढी नै संलग्न हुन्छ  भने पनि त्यसलाई सामान्य नै मान्नुपर्छ। यदि कोही आफ्नो नियमित सामाजिक जीवन नै अस्तव्यस्त हुने गरी यौन क्रियाकलापमा लाग्छ भने  बढी भएको मान्नुपर्छ।

अधिक यौन चाहनाको समस्या

यौन चाहना प्रबल भएको स्थितिमा पनि व्यक्तिले यसलाई एकहदसम्म नियन्त्रित राखेको हुन्छ। विशेष गरेर सामाजिक परिवेशमा यसका  नियमहरू पालन गर्न र उसले उसको जीवनको अन्य पाटोमा नकारात्मक असर पर्न नदिई नियन्त्रणमा राखेको हुन्छ। स्वाभाविक रूपमै कुनै  व्यक्तिमा यौन चाहना बढी हुन्छ भने कसैमा कम। दम्पतीको बीचमा यौनचाहना र यौन क्रियाकलापमा संलग्न हुने कुरामा सामान्य परिधिभित्रै  परे पनि तालमेल नमिले बढी वा कम जस्तो लाग्न सक्छ। कुनै व्यक्तिमा यति नै यौन चाहना हुनुपर्छ भन्ने छैन। हुन त अत्यधिक यौन  चाहनाको समस्याले महिलालाई पनि नपिरोल्ने होइन, तर यो तुलनात्मक रूपमा पुरुषमा बढी देखिएको पाइन्छ।

हुनुपर्ने वा भनौं रुचाइएको भन्दा बढी यौनचाहना, कामावेग भएको स्थितिलाई अंग्रेजीमा एक्सेसिभ सेक्सुअल डिसायर भनिन्छ। यस्तो  स्थितिमा व्यक्तिले यौनसम्बन्धी कुराको अत्यधिक आवश्यकता महसुस गर्छ र ऊ त्यसमा उग्र तवरले संलग्न हुन्छ भने उसको दैनिक कार्य र  सामान्य सम्बन्धमा नै नकारात्मक असर पर्छ। यस्तो हुनु एक गम्भीर स्थिति हो। यसलाई स्वास्थ्य विशेषज्ञहरूले विभिन्न नाम दिएका छन्।  कतिपयले यी शब्दहरूले फरक-फरक परिभाषामा बोकेको बताए पनि मूलभूत रूपमा यस्तो कम्पल्सिभ सेक्सुअल बिहेबियर लाई  हाइपरसेक्सुअलिटि भनिन्छ। कतिपयले यस्तो स्थिति हाइपरएक्टिभ सेक्स, निम्फोमेनिया वा इरोटोमेनिया शब्दको प्रयोग पनि गर्छन्। केहीले यस्तो स्थितिलाई सेक्सुअल अडिक्सन वा यौन लत पनि भन्ने गरेका छन्।


अत्यधिक यौनेच्छा किन जागृत हुन्छ भन्ने कुराको निक्र्यौल गर्न गाह्रो हुन्छ। त्यसका कमै मात्र शारीरिक कारण भेटिन्छन्। विशेष गरेर पुरुष  हार्मोन अनि यसका साथै यससँग सम्बन्धित मस्तिष्कको कार्यप्रणालीमा भएको कुनै गडबडी नै यस्ता कुराका कारण हुन्छन्। केही स्थितिमा  यस्तो व्यवहार स्नायु प्रणालीसम्बन्धी विकारले पनि हुनसक्छ। अन्य कतिपय स्थितिमा कारण मनोवैज्ञानिक हुन्छन्। विशेष गरेर म्यानिक डिस्वोर्डर भएका व्यक्तिमा यस्तो अत्यधिक यौनेच्छा हुने देखिएको छ। धेरै विशेषज्ञले यौन व्यवहारमा अब्सेसन वा कम्पल्सन  हुनु एक किसिमको मनोरोग मानेका छन्। यस किसिमको यौन व्यवहार व्यक्तिको आफ्नो मुड वा पर्सन्यालिटि डिस्वोर्डर वा अन्य  भावनात्मक समस्यालाई सामना गर्ने संयन्त्र हो पनि भनिन्छ। विशेष गरेर भत्किएका परिवारमा हुर्किएको वा यौन, भावनात्मक वा शारीरिक  रूपमा शोषित भएर हुर्किएको व्यक्ति भए यौनसम्बन्धी कुरामा अस्वस्थकर धारणाको विकास भएको हुनसक्छ।

तपाईंको पत्रमा तपाईंको यौनजीवनका सम्बन्धमा निकै कम जानकारी भएकाले तपाईको यौन व्यवहारलाई यसै हो भन्न सकिने स्थिति छैन।  पत्रमा तपाईंको यौन जीवन सुमधुर नै देखिन्छ, त्यसैले यसलाई कम गर्नेतिर लाग्नुपर्ने कुनै कारण देख्दिनँ, तर यहाँ उल्लेख भएका केही  जानकारीका आधारमा भने तपाईंले आफ्नो स्थितिको आँकलन गर्न सक्नुहुनेछ भन्ने आशा लिएका छौं र आवश्यक भए थप प्रश्न सोध्न  अनुरोध गर्छौं।

,

news and entertainment