सुर्खेतबाट चीनको गुप्तचरी गर्ने म्यागीलाई त्यसै छाडियो, प्रहरीमाथि अमेरिकी दबाब

सुर्खेत, १६ बैशाख । अनुमति विनै सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर आसपासमा ड्रोन क्यामरा उडाएर तस्विर र भिडियो खिच्ने निर्देशन दिने सिएनएन हिरो म्यागी डोयनलाई सुर्खेत प्रहरीले छाडेको छ । तर उनका सहयोगी क्यानडाका नागरिक २५ वर्षिय जेर्मी रेज्मीबललाई थप अनुसन्धानको लागि काठमाडौ लगिएको छ ।
बुधबार वीरेन्द्रनगरका विभिन्न स्थानमा ड्रोन क्यामराबाट तस्विर र भिडियो लिएका म्यागीे र जेर्मीलाई काँक्रेबिहारको जंगलबाट पक्राउ गरिएको थियो । बुधबार राती ९ बजेसम्म नाम दिन अनकनाएका जिल्ला प्रहरी कार्यालयका एसपी वीरेन्द्र श्रेष्ठले बिहीबार मात्रै औपाचारिक रुपमा मुख खोलेका छन् । तर सिएनएन हिरोलाई एसपीले बचाउँ गर्दै भने,- ‘बाहिर सन्देश गलत गयो म्यागीले ड्रोन चलाएकी हैनन्, जेर्मीले मात्रै चलाएका हुन्, उनी विरुद्ध थप अनुसन्धान गर्न हामीले काठमाण्डौ पठायौं ।’

क्यानडाका जेर्मीलाई सुर्खेत प्रहरीको एक टोलीले बिहीबार नागरिक उड्यन प्राधिकरणको काठमाण्डौ कार्यालयमा लिएर गएको एसपी श्रेष्ठले बताए । मध्यपश्चिमाञ्चल प्रहरी कार्यालयका डिआईजी माधन नेपाल र एसपी वीरेन्द्र श्रेष्ठले रातभरमै बोली परिवर्तन गरेका छन् । बुधबार राती करिव ११ बजेसम्म म्यागीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमै राखेर सोधपुछ गरिएको सुरक्षा निकायको उच्च स्रोतले जानकारी दियो । ‘११ बजेपछि भने म्यागीलाई बिहीबार बिहान १० बजे कार्यालयमा उपस्थित हुनेगरी छाडिएको थियो’ एक सुरक्षा अधिकारीले भने ।

क्यानडाका नागरिक जेर्मी एक्लैले मात्रै कसरी वीरेन्द्रनगरका विभिन्न स्थानमा पुगेर तस्विर र भिडियो ड्रोन क्यामराबाट लिए स्थानीय नागरिक आश्चर्यमा छन् । म्यागीसहित पक्राउ परेका ति क्यानडियन मात्रै भएको पुष्टि प्रहरीले गरेपछि घटना थप रहस्य बनेको भन्दै एक प्रहरी अधिकारीले नाम नखुलाउने शर्तमा भने,- ‘कहिल्यै सुर्खेत नआएको क्यानडियनले सवै ठाउँमा पुगेर तस्विर वा भिडियो लिन सक्दैनन्, यसको भित्रै रहस्य अर्कै रहेको हुनसक्छ ।’ सिएनएन हिरो पक्राउ परेपछि सुर्खेत प्रहरी भने मध्यरातीसम्म निकै तनावमा भएको उच्च स्रोतको बतायो । ‘मिडियाले नै नाम थाहा पाएपछि एसपी सापलाई म्यागीको नाम दिन सक्नु भएन’ जिल्ला प्रहरी कार्यालयले स्रोतले भन्यो,-‘सिएनएन हिरोलाई नै मुछ्ने हो भने अर्को विवाद आउने देखेपछि क्यानडियन नागरिक मात्रै भनिएको हो ।’
बुधबार बिहान वीरेन्द्रनगरको रातो पुल नजिकैबाट ड्रोन क्यामरा चलाएको स्थानीयले देखिपछि मात्रै सुरक्षा निकायले चासो लिएको थियो । वीरेन्द्रनगरका सवै नाका सिल गरेर सुर्खेत प्रहरीले उनीहरुको खोजविन थालेको थियो । बुधबार साँझ ५ बजे काँक्रेविहार जंगलमा ड्रोन क्यामरा उडाइरहेको अवस्थामा म्यागी र क्यानडियन नागरिक पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयबाट ड्रोन क्यामरा उडाउने अनुमित लिनु पर्ने कानूनी प्रावधान छ । तर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ भने हालसम्म कसैले पनि यसबारे जानकारी नलिएको बताउँछन् । ‘माथिबाट पनि खिच्न दिनु भन्ने परिपत्र आएको छैन, यहाँबाट ड्रोन उडाउने अनुमति पनि लिएका छैनन् ।’ अधिकारी श्रेष्ठले भने ।
सुर्खेत उपत्यकाभित्र रहेका सुरक्षा निकायको भवन र सुरक्षाको दृष्टिकोणले अति संवेदनशील क्षेत्रमा पनि ड्रोन क्यामरा उडाएको आशंका कायमै छ । तर यसबारे सुरक्षा निकायले अझै मुख खोल्न चाहेको छैन् । नेपालको कानून अनुसार प्रशासनसँग अनुमति लिएर मात्रै ड्रोन क्यामरा उडाउन पाइने उडान सम्वन्धी कार्यविधि २०७२ मा उल्लेख छ ।
पूर्व स्वीकृतीबिना ड्रोन क्यामराको प्रयोग गरी तस्बिर वा भिडियो रेकर्ड गरेको खण्डमा नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ र विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही हुने प्रावधान छ । साथै निर्देशिकाले धार्मिक र सांस्कृतिक स्थल, सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र र हवाई मार्गमा असर पर्नसक्ने क्षेत्रमा ड्रोन उडान रोक लगाएको छ ।
dainiknepal

news and entertainment