काउकुती लाग्दो यौवनका कुरा

'गुच्चा खेल्दा साथीका गुच्चा यसरी फुटाइन्थ्यो की झगडै पर्थ्यो । धेरैले मेरो कुटाइ खाए'

'केटाहरुले जिस्काउँदा निक्कै रिस उठ्थ्यो र रमाइलो पनि लाग्थ्यो । राम्री केटी साथीलाई धेरै केटाहरुले जिस्काउँथे, मन पराउँथे, मलाई भने निक्कै डाहा लाग्थ्यो'

'सानैमा सँधै भात पकाउने, भैसीलाई घाँस काटेर हाल्ने काम मैले गर्नु पर्ने । कहिले काहीँ त यति रिस उठ्थ्यो की भैसी फुकाएर म पनि त्यसैका पछिपछि घर छाडेर भागुँ झै लाग्थ्यो'

'कुरकुरे वैंशमा स्कुल पढ्दा जुन केटी देखेपनि राम्री लाग्ने । कुनै केटीसँग हात मिलाएँ भने त्यो दिन मेरो सबैभन्दा मिठो दिन हुन्थ्यो'

कसैको जीवनसँग मेल खाएमा माथिका कुराहरु संयोग हुने छैनन् । हुन पनि हामीमाझ धेरैका बाल्यकाल र यौवन अवस्था यस्तै यस्तै घटनाक्रमसँगै बितेका छन् । कथा मीठो सारङीकोका लागि नयाँ नाटक लेख्न सुरु गर्ने बेलामा विषय नै 'बाल्यकाल र यौवन अवस्थामा आउने विभिन्न परिवर्तन समस्या र समाधानका बाटो' परेको थियो ।

नयाँ कथा सुरु गर्दा कहाँबाट सुरु गरुँ भन्ने ध्याउन्न सधैं हुँदो रैछ । यसपाली बाल्यकाल र यौवन अवस्थाका बारेमा कथा बनाउनु पर्ने भएकाले पहिला आफ्नै मनमा भएका पुराना तर मिठा काउकुतीहरुलाई एक पटक फेरि सम्झने मौका पाइयो । बाल्यकालका रमाइला पल र यौवन अवस्थाको रोमान्ससँगै भोगेका तनावका बारेमा विचार मन्थन सुरु भयो ।

आफूले सम्झे र बुझेका कुरा बुँदागत रुपमा उतारेपछि हाम्रो नाटकका गतिविधीलाई इन्टरनेटबाट संसार घुमाउने साथी कमलकुमार, नाटकले उठाएका र छुटाएका विभिन्न मुद्दालाई रेडियो म्यागाजिन मार्फत उठाउने साथीद्वय रोजिता र भानुसँग उनीहरुले बुझेका र भोगेका कुराहरुका बारेमा भलाकुसारी सुरु भयो ।

नाटक रेकर्ड र पोस्ट प्रोडक्सनमा सहयोग गर्ने साथीहरु शिरिष विक्रम थापा अनि प्रकाश घिमिरेका बाल्यकाल र युवाअवस्थाका कुरा पनि कम्ता रोचक थिएनन् । दिलुको भुमिकामा नाटकमा आउने प्रकाश गन्धर्वले आफू गाउँ डुल्दाका कुरा सुनाएर कथामा नयाँ पाटा थप्ने बाटाहरु दिए ।

नाटक उत्पादनका विभिन्न पक्षमा नजिक रहेर सहयोग गर्ने सृष्टि राजभण्डारी अनि लेख्दा लेख्दै अड्किएका र लेखिसकेपछि चित्त नबुझेर घोत्लिएका बेलामा सधैं अदृश्यरुपमा नाटकका दृश्य कल्पना गर्न सघाउने साथीद्वय खगेन्द्र र सिवानीसँग पनि रमाइला कुराकानी हुन थाले । हामीले लेखेका कुराहरुलाई नाट्य रुपान्तरण गर्दा रोचक बनाउन सधैं सल्लाह सुझाव दिने नाटक सम्पादक फियोना लेजरसँगको छलफलले पनि मैले कोर्न थालेको कथालाई नयाँ मोडहरु दिन मद्दत गर्दै थियो ।

'अम्बा चोर्न जाँदा म रुखमै थिएँ साथीहरु भागिसकेछन् रुखबाट हत्तन पत्त झर्न खोजेकॊ त बागबानीका पालेदाइकै अगाडी हाम फालिएछ'

'फिल्म हेर्न जानलाई पैसा दिन्न भन्नु भयो म त चोरेरै भएपनि गएँ । फिल्म हेर्न जत्ति मजा आयो साँझ घर फर्कदा त्यो मजा सबै आमाको चुटाइ खाँदा बिर्सिएँ'

'सबैले यो केटीले तिमीलाई धेरै हेर्छे भन्थे, हो त हो त्यही गलफ्रेन्ड जस्तो लाग्यो । के गर्नु ८ वर्षको त थिएँ'

यस्ता यस्ता कुराले हाम्रो छलफललाई मात्र रोचक बनाइरहेको थिएन कथाका दृश्य पनि बुन्दै थियो । बाल्यकाल र युवा अवस्थाका क्षणका बारेमा फेसबुकमा राखिएका प्रश्नमा आएका उत्तरहरु श्रोताले हामीलाई पठाउनु भएका एसएमएस इमेल र पत्रहरुमा उठाइएका मुद्धाहरुलाई पनि केलाउन थालिसकेका थियौं हामीले । कार्यालय भित्रै अन्य समुहका साथीहरुको बिचारलाई पनि अब एकीकृत गर्न सुरु गरियो ।

'मेरा केटी साथीमात्र धेरै थिएँ कसैले त केटी नै होस् क्या भनेर जिस्काउँथे'

'पहिलो पटक महिनावारी हुँदा मरुँला झै भाथ्यो'

'साथीले हस्तमैथुन गरेर देखायो म त हेरेको हेर् यै भएँ'

'पहिलो पटक प्रेम पत्र पाउँदा मैले स्कुलको ट्वाइलेटमा गएर हेरेँ । मेरो जिउ लुगलुग काम्यो '

'मलाई एक जना केटाले जिस्काएको थियो । मैले बालाई भने बाले सरलाई । केटोको सातो गयो'

यस्तै यस्तै कुराहरुले सबैलाई बाल्यकाल र यौवन अवस्था सम्झाइ राखेको थियो ।

केही स्कुले विद्यार्थी र शिक्षकसँगको भेट अनि पहिला पहिलाका नाटकका पात्रहरुसँगको फोन सम्वाद् अझ धेरै कुराहरु बाहिर ल्यायो । समुहमा पढ्ने नाममा साथीकहाँ गएर लुकी लुकी ब्लु फिल्म हेर्ने, स्कुलमा मोबाइल लुकाएर लैजाने र पोर्न तस्बिरहरु हेर्ने, केटी वा केटाका विषयमा झगडा गर्नेमात्र हैन रिस उठे शिक्षक पिट्न समेत पछि नपर्ने घटनाहरु हामी माझ आए । डन्डिफोर आउँदा होस् या जुंगा आउँदाहोस् शरिरमा आएको परिवर्तनका बारेमा अनभिज्ञ हुँदाको तनावहरु पनि धेरै सुन्न पाइयो । अझ पहिलो पटक महिनावारी हुँदाको पिडा, नाइटफल हुँदाको उत्सुकता पढाइको तनाव, घर व्यवहारको झमेलाबारे सुनेका र भोगेका कुराले बाल्यकाल र युवाअवस्थालाई निक्कै नै राम्ररी नियाल्न सहयोग पुर्यायो ।

news and entertainment