चुनाव नभए ५० वर्ष पछाडि फर्केर आन्दोलन गर्नुपर्छ : चित्रबहादुर केसी -

२५ जेठ, काठमाडौं । राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानसभाको निर्वाचन गरेर गणतन्त्र र बहुदलीय व्यवसथालाई संस्थागत गर्न नसकिए ५० वर्ष पछाडि फर्किएर आन्दोलन शुरु गर्नुपर्ने बताउनुभएको छ । ‘त्यसपछि हामीले इतिहास र नयाँ पुस्ताका अगाडि गम्भीर अपराध गरेका हुनेछौं’ , केसीले भन्नुभयो ।
इन्टरनेशनल कम्युनिष्ट अर्गनाइजेसन अफ रिभोल्युसनरी (आइकोर) को आयोजनामा शनिबार राजधानीमा आयोजित तीन दिने अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै केसीले संविधानसभाको चुनाव अपरिहार्य भएको बताउनुभयो । एशियाली मुलुकहरुले साम्राज्यवादविरुद्ध संघर्ष गरिरहनुपरेको उहाँले बताउनुभयो ।

बागबजारको होटल हार्दिकमा आयोजित कार्यक्रममा आइकोरका तर्फबाट स्वागत मन्यव्य व्यक्त गर्दै भाकपा मालेका नेता सञ्जय सिंघ्वीले विश्वमा पछिल्लो दशक ठूला जनआन्दोलनहरु उठेको बताउनुभयो । नेपालमा पनि ठूलो परिवर्तन भएको र ६० प्रतिशतभन्दा बढी कम्युनिष्टहरुले निर्वाचन जिते पनि किन जनताको अवस्थामा परिवर्तन आएन भन्नेबारे खोजी गर्नुपर्ने उहाँले बताउनुभयो । भारतीय विस्तारवादका कारण नेपाल उत्पीडनमा परेको उहाँले बताउनुभयो ।
‘साम्राज्यवादको विरोध एवं लोकतन्त्रका लागि एशियाली सम्मेलन’ शीर्षकमा आयोजित सेमिनारको उद्घाटन कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस सभापति सुशील कोइरालालाई समेत बोलाइएको भए पनि उहाँहरु आउनुभएन । कार्यक्रममा कांग्रेसका मनमोहन भट्टराई, एमालेका प्रदीप ज्ञवाली, मालेका सीपी मैनाली, नेकपा एकीकृतका परी थापा, मसालका हरि आचार्यलगायतका नेताहरुको उपस्थिति छ । कार्यक्रममा भारत र बंगलादेशका कम्युनिष्ट पार्टीका नेताहरु कार्यपत्र प्रस्तोताका रुपमा उपस्थिति छ ।
तीन दिने कार्यक्रममा एशियाको लोकतान्त्रिक आन्दोलनको इतिहास, विभिन्न मुलुकको समसामयिक राजनीतिक परिस्थिति, नवऔपनिवेशिक सन्दर्भमा लोकतन्त्र र साम्राज्यवादको संकट एवं साम्राज्यवाद विरोधी संघर्ष आन्दोलनबारे छलफल गरिने आयोजकले बताएका छन् । कार्यक्रमको उद्घाटनस्थल साँघुरो रहेको र मञ्चमा बोलाइएका अतिथिहरुका लागि कुर्सीको अभाव भएपछि उद्घाटनमा केहीबेर भद्रगोल देखिएको थियो ।

news and entertainment