गोरखा कप फुटबलः ब्वाइज युनियन सेमिफाइनलमा प्रवेश

काठमाडौँ, २७ जेठ । सहिद स्मारक बी डिभिजन लिग विजेता ब्वाइज युनियन क्लब गोरखा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  दशरथ रङ्गशालामा भएको सो प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न क्वाटरफाइनल चरणको अन्तिम खेलमा ब्वाइज युनियनले रानीपोखरी कर्नर टिम (आरसीटी) लाई २–० गोलअन्तरले पराजित गरेको छ ।

ब्वाइज युनियनको जितमा कमल श्रेष्ठ र असिमजङ्ग कार्कीले एकएक गोल गरेका थिए । खेल सुरु भएको ५ मिनेटमै किरण राईको क्रसमा श्रेष्ठले बललाई हेडमार्फत जाली चुमाउँदै पहिलो अग्रता दिलाएका थिए । यस्तै खेलको मध्यान्तरअघि २१औँ मिनेटमा विनोद लामा घिसिङको पासलाई असिमजङ्ग कार्कीले गोल गर्दै अग्रता दोब्बर बनाए । तर, ६५औँ मिनेटमा असिमले नै प्रहार गरेको बल गोलपोष्ट माथिबाट बाहिरिन पुगेको थियो । खेलको ८८ औँ मिनेटमा रवी सिलवालले हानेको फ्रिकिक बललाई आरसीटीका गोलरक्षक दिलीप क्षेत्रीले सुन्दर ढङ्गबाट बचाए ।

प्रतियोगितामा खेलको विभिन्न समयमा पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा आरसीटी क्वाटरफाइनल चरणबाट नै बिदा भयो । खेलपछि ब्वाइज युनियनका प्रशिक्षक विजय महर्जनले अन्य दिनको खेलभन्दा आज राम्रो खेल प्रदर्शन गरेको भन्दै आगामी खेलका लागि आत्मविश्वाससमेत बढेको उल्लेख गर्नुभयो । आगामी सेमिफाइनल भिडन्तमा ब्वाइज युनियनले त्रिभुवन आर्मीको सामना गर्नेछ ।

यस्तै आरसीटीका प्रशिक्षक मधु कार्कीले आफना खेलाडीले ब्वाइज युनियनलाई  कमजोर टिमको रुपमा लिएकाले खेल हार्न पुगेको बताउनुभयो । प्रतियोगितामा यसअघि त्रिभुवन आर्मी, मनाङ मस्र्याङ्दी क्लब र थ्रीस्टार क्लब सेमिफानलमा प्रवेश गरिसकेका छन् ।सेमिफाइनलका खेलहरु बुधबारदेखि सञ्चालन हुनेछन् ।

news and entertainment