बधाई र शुभकामना विज्ञापन नछपाउन निर्देशन

इस्लामावाद (एएफपी), जेष्ठ २५ - पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री नवाज सरिफले आफ्नो दल र आफूलाई बधाई दिएर पत्रपत्रिकाहरूमा विज्ञापन नछाप्न निर्देशन दिएका छन् । हालै मात्र सम्पन्न संसदीय निर्वाचनमा उनको दलले झिनो बहुमत प्राप्त गरेको थियो । यसपछि उनले बिहीबार प्रधानमन्त्रीको शपथ लिएका हुन् ।
उनलाई बधाई दिँदै विभिन्न निजी क्षेत्रका संघसंस्था, व्यक्ति वा सरकारी निकायहरूले पनि आकर्षक रूपमा पत्रपत्रिकाहरूमा विज्ञापन छापेका छन् । प्रधानमन्त्री कार्यालयले जारी गरेको निर्देशनमा किन सरकारी निकायहरूले पत्रिकामा पूरै पेजमा रंगीन साजसज्जामा विज्ञापन छापेका हुन् ? बारेमा स्पष्टीकरण मागिएको छ ।
नेसनल बैक अफ पाकिस्तान, नेसनल हाई-वे र घुम्ती प्रहरी संगठनले उनले शपथ लिएपछि शुक्रबारको पत्रिकामा 'हार्दिक बधाई तथा शुभकामना' जस्ता परम्परागत शब्दाबली भएका विज्ञापन छापेका थिए । विज्ञापन बारेमा प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण सोधेको बताइएको छ ।
'प्रधानमन्त्रीले पाकिस्तानी नागरिकको अवस्था, उनीहरूको भावना र आफ्ना समर्थकहरूको उनीप्रतिको मायालाई राम्रोसँग बुझेका छन्, त्यसैले यसरी पत्रिकामार्फत त्यति धेरै प्रशंसा गरिरहनु पर्दैन,' विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा देशको अवस्था अहिले पनि नाजुक रहेको, भ्रष्टाचारको नियन्त्रण हुन नसकेको तथा शान्ति सुरक्षाबारेमा सबै नागरिक जानकार रहेकाले सबैले देश निर्माणका लागि जुट्नुपर्नेमा पनि जोड दिइएको छ । गत मे ११ मा भएको आमनिर्वाचनमा उनको दलले तेस्रो कार्यकालका लागि यो बहुमत प्राप्त गरेको हो ।

news and entertainment