‘वैद्य र प्रचण्ड बीच एकता को चर्चा : कांग्रेशमा तरङ्ग

१८ जेठ, काठमाडौं । करिब एक वर्षअघि विभाजित बनेका एकीकृत माओवादी र नेकपा-माओवादीवीच पार्टी एकताको चर्चा शुरु भएपछि यसबारे विभिन्न कोणबाट प्रतिक्रिया आउन थालेका छन् । शनिबार राजधानीको एक कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले वैद्य समूहले पार्टी दर्ता नगरेकोमा आक्रोश व्यक्त गर्नुभएको छ भने पेरिसडाँडामा आयोजित नियमित पत्रकार सम्मेलनमा एमाओवादी प्रवक्ता अग्नि सापकोटाले शनिबार बिहान पनि प्रचण्ड र वैद्यवीच कुराकानी भएको बताउनुभयो ।
‘वैद्य पक्षसँग एकताका लागि कुराकानी भैरहेको छ, बाबुरामजी र प्रकाशजीले कुरा गरिसक्नुभएको छ । आजै पनि बिहान अध्यक्षले सम्पर्क गर्ने कुरा थियो ।’-पत्रकार भेटघाटमा सापकोटाले भन्नुभयो । तर, सापकोटाले यस्तो भने पनि वैद्य माओवादीका प्रवक्ता पम्फा भुसालले भने पार्टी एकताको कुनै सम्भावना नरहेको दाबी गर्नुभएको छ ।
यसअघि वैद्य पक्ष र प्रचण्ड पक्षवीच एकताको चर्चा चल्दा धेरैले पत्याएका थिएनन् । एक साताअघि लाजिम्पाटमा अनलाइनखबरलाई अन्तरवार्ता दिने क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले निर्वाचन अगाडि नै पार्टी एकता गरेर चुनावमा जान वैद्य पक्षलाई सार्वजनिक आह्वान गर्नुभएको थियो । त्यसपछि वैद्य पक्षका पूर्वसभासदको पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले वैद्यसमेत पार्टीमा फर्किने दाबी गर्नुभएको थियो । तर, दुई माओवादी मिल्ने विषयलाई एमाओवादी अध्यक्षले चलाएको रणनीतिक हल्लाका रुपमा पनि कतिपयले लिने गरेका छन् ।
अनलाइनखबरसँगको कुराकानीमा एक एमाओवादी नेताको प्रतिक्रिया छ-’ चुनाव सुनिश्चित नभई एकताको कुरा गर्दा विपक्षीहरु चुनावदेखि डराएर भाग्ने डर छ । उनीहरु पार्टी फुटेको अवस्थामै माओवादीदेखि डराइरहेका छन्, पार्टी एकता हुने भो भन्ने सुनेपछि उनीहरु झन् आत्तिने खतरा छ ।’
माओवादी प्रवक्ता पम्फा भुसालले दिनहुँ विभिन्न दलका नेताहरु भेट हुनु स्वाभाविक भए पनि प्रचण्डपक्षसँग पार्टी एकता हुने कुनै सम्भावना नरहेको बताउनुभयो । ‘पार्टी एकताको कुनै सन्दर्भ पनि छैन र यो सम्भव पनि छैन ।’- भुसालले अनलाइनखबरसँग भन्नुभयो ।
एमाओवादीले महाधिवेशन सकेको महिनौंसम्म केन्द्रीय समितिलाई पूर्णता दिन नसकेकाले उसभित्र कार्यकर्ता अड्याउने अनेक बाध्यता रहेको भुसालको तर्क छ ।
मिल्ने सुनेपछि कांग्रेस नेता रुष्ट
एमाओवादी नेताहरुले अनुमान गरेजस्तै शनिबार नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले दुई माओवादीवीच एकताको कुरो सुनेपछि रोष प्रकट गर्नुभयो । पार्टी फुटेको नाटक गरेर माओवादीले दुख दिइरहेको पौडेलको भनाइ छ । पार्टी विभाजन भएको हो कि नाटकमात्रै देखाएको भन्दै वैद्य माओवादी निर्वाचन आयोगमा दर्ता नभएकोमा पौडेलले गुनासोसमेत गर्नुभयो ।
यसअघि वैद्य माओवादीलाई निर्वाचनमा ल्याएर एमाओवादीलाई कमजोर पार्ने रणनीति कांग्रेस र एमालेका नेताहरुले बनाएका थिए । तर, प्रचण्ड आफैंले वैद्यसँग एकताको प्रयास थालेपछि उनीहरुमा असन्तोष र बेखुसी देखिएको हो ।
वैद्य पक्षकै नेता आश्चार्यमा
दुई पार्टीवीचको एकताको भित्री प्रयत्नबारे वैद्यपक्षीय माओवादीकै धेरै नेताहरुलाई पत्तो छैन । पार्टी अध्यक्ष वैद्यले एमाओवादी नेताहरुसँग गरेको भित्री कुराकानी आफ्नो पार्टीमा रिपोर्टिङ गर्ने हिम्मतसम्म गर्नुभएको छैन । माओवादीका सीपी गजुरेल, बादल लगायतले पार्टी एकताको विरोध गर्ने डर वैद्यलाई छ । साथै प्रचण्डपक्षसँग रुष्ट रहेका कार्यकर्ताहरु पनि एकताको विपक्षमा उभिन सक्ने विश्लेषण नेताहरुले गरेका छन् ।
तर, विगतमा एक-अर्कालाई खुल्लामञ्चबाटै एक नम्बरको भ्रष्टाचारी र राष्ट्रघाती भनी आरोप-प्रत्यारोपमा उत्रेका एमाले र मालेका नेतावीच एकता सम्भव भएको उदाहरणलाई हेर्ने हो भने दुई माओवादीवीच एकता असम्भव नरहेको दाबी एमाओवादीका नेताहरु गर्छन् । तर, एमाले मालेको एकता हुँदा सीपी मैनालीको नेतृत्वमा एउटा टीम अलग्गै बसेको थियो । एमाओवादी र माओवावीच एकता भैहाल्यो भने पनि एउटा गुटचाँहि बाहिरै बस्न सक्ने अनुमानसमेत नेताहरुले गरेका छन् ।

news and entertainment