अमेरिकामा नेपाली विद्यार्थीको हत्या
अमेरिकाको भर्जिनिर्या टेक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी समानता श्रेष्ठको गत शनिबार हत्या भएको छ। श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ। हत्याको कारणबारे कुनै जानकारी नभएको त्यहाँ स्थित ल्याक्सवर्ग प्रहरीले जनाएको छ ।

प्रहरीले श्रेष्ठको हत्या अभियोगमा भर्जिनिया टेकका स्नात्तक तहका वरिष्ठ दुई विद्यार्थीहरू २२ वर्षीया जेसिका मिचेली इविङ र २३वर्षीय केइफर काइल ब्राउनलाई पक्राउ गरेको हो। मोन्टगोमेरी काउन्टी जेनरल डिस्ट्रीक कोर्टले समानता श्रेष्ठको हत्याको अभियोगमा पक्राउ आदेश (अरेस्ट वारेन्ट) जारी गरेको थियो ।
भर्जिनिया टेकका प्रवक्ता मार्क ओक्जास्र्कीले इविङ विश्वविद्यालयमा माछा विज्ञान मुख्य विषय र जैविक विज्ञान सहायक विषय लिएर अध्ययन गर्ने वरिष्ठ तहका विद्यार्थी भएको बताए ।यस्तै ब्राउन अगस्तको गर्मीयाममा धर्म तथा संस्कृतिमा स्नत्ताक गरेका थिए
मृतक श्रेष्ठ जैविक विज्ञान प्रमुख विषय लिइ अध्ययनरत बरिष्ठ तहकी विद्यार्थी रहेको बाहेक उनको बारेमा अन्य केही खुलाइएको छैन् । श्रेष्ठ विगत चार वर्षदेखि एप्सिलोन सिग्मा अल्फासंस्थासँग आवद्ध रहेको जनाइएको छ । एप्सिलोन सिग्मा अल्फाका अध्यक्ष जेसिका डेनले श्रेष्ठको बारेमा केही बोल्न मानेका छैनन् ।
अन्तराष्ट्रिय मुद्रा कोषमा कार्यरत पिता मणिकलाल श्रेष्ठ र राइजिङग नेपालमा पूर्वकार्यरत् संचारकर्मी राजश्री श्रेष्ठकी उनि एक मात्र छोरी हुन् । समानता अभिभावकसंगै भजिनिर्यामा बस्दै आइरहेकी थिइन् । श्रेष्ठ दम्पतिमाथि यो दोस्रो पुत्री वियोगको दुःखद घटना हो । श्रेष्ठ दम्पतिको पहिलो छोरीको केही वर्ष पहिले नेपालमा नै मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । दुई सन्तानमध्ये दुवैको यसरी अल्पायुमा नै दु:खद निधन भएपछि परिवार सन्तान वियोगको पिडामा डुबेको छ।