२८ माघ, काठमाडौं । एमालेले प्रधानमन्त्री सुशील कोइरालाको सपथग्रहण कार्यक्रम बहिस्कार गरेको छ । कोइरालाको सपथग्रहण कार्यक्रममा एमालेका पार्टी नेता र सभासद नगएका हुन् । दुर्इ पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल भने सपथग्रहणामा उपस्थित भएका छन् । उनीहरूलार्इ पार्टीको तर्फबाट नभर्इ पूर्वप्रधानमन्त्रीका रूपमा सपथग्रहणमा पठाउने निर्णय मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकले गरेको थियो ।
वामदेव आक्रोशित
गृह मन्त्रालय नदिने अडान कांग्रेसले लिएपछि एमाले उपाध्यक्ष वामदेव गौतमले भनेका छन्- ‘नेपाली कांग्रेसले धोका दियो, हामी पनि उसलाई शान्तिसँग बस्न दिँदैनौं ।’
सिंहदरबार नजिकै राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको आठौं केन्द्रीय परिषद्मा बोल्दै एमाले उपाध्यक्ष वामदेव गौतमले कांग्रेसले धोका दिएको हुनाले उसलाई सरकारमा शान्तिसँग बस्न नदिने बताए ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको आठौं केन्द्रीय परिषद् कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले भने, ‘सहमतिमा हस्ताक्षर गरेको मसी नसुक्दै गृह दिन्न भनेर कांग्रेसले धोका दियो, सुशील कोइरालाले प्रधानमन्त्रीको सपथ खाएपछि निरंकशु चरित्र देखाए’, उपाध्यक्ष गौतमले भने, ‘लोकतन्त्रको मसिहाको निरंकुशता विरुद्द देशब्यापी अभियान थाल्छौं ।’
विदेशी शक्तिसँग झुकेर कांग्रेसले कम्यूनिष्टलाई ००६ सालदेखि नै धोका दिँदै आएको उपाध्यक्ष गौतमले बताए । ‘००६ सालमा पनि पुष्पलाललाई कांग्रेसले धोका दिएकाले कम्यूनिष्ट पार्टी जन्मेको थियो, अहिले पनि कांग्रेसले त्यही ब्यबहार हामीलाई गरिरहेको छ’, गौतमले भने, ‘अहिले पनियति निर्लज्ज तरिकाले २४ घन्टा पनि बित्न नपाउँदै सम्झौता भएको कुरा दिन सक्दैनौं भन्नुजस्तो धोकाको राजनीति अरू के हुन सक्छ ?’
गृह नपाए सरकारमा नजाने स्थायी कमिटीको निर्णय
कांग्रेसले गृह नदिएपछि अफ्ठेरोमा परेको एमालेले पछिल्लो परिस्थितिबारे छलफल गर्न एमालेले मंगलबार दिउँसो स्थायी समितिको आकस्मिक बैठक बोलाएको थियो । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले गृहमन्त्री दिने सहमतिबाट कांग्रेस पछि हटेको भन्दै सो मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको स्थायी कमिटी सदस्य विष्णु पौडेलले बताए ।
‘गृह मन्त्रालय एमालेले सम्हाल्ने गरी सरकारमा जाने दुई पार्टीको निर्णयबाट कांग्रेस पछि हटेकाले स्थायी कमिटीले सरकारमा नजाने निर्णय गरेको छ’, सचिव पौडेलले भने, ‘दुई पार्टीबीच गृहलगायका केही महत्वपूर्ण मन्त्रालय लिएर एमाले सरकारमा जाने सहमति भएको थियो, त्यो सहमतिबाट कांग्रेस पछि हटेकाले हामी सरकारमा जाँदैनौ ।’
- अनलाइनखबर

