दिनमै ५० हजार डलर कमाउने स्मार्टफोन गेमको दुखद अन्त्य
एप स्टोरमा नम्बर एक बनेको २८ दिनमै फ्ल्यापी बर्ड सहीद बन्यो ।
यद्यपि पहिले नै इन्स्टल भएका फोनमा भने फ्यापी बर्ड खेल्न सकिन्छ, तर अब कुनै पनि नयाँ प्रयोगकर्ताले फ्ल्यापी बर्डको पहुँच पाउने छैनन् ।
आखिर किन गुयनले यस्तो अपि्रय निर्णय गरे त ? ‘म यो भन्दा बढी झेल्न सक्दिँन’ गुयनको ट्वीटरमा योभन्दा धेरै व्याख्या र कारण भेटिँदैन । तर, उनले कुनै कानुनी उल्झनका कारण गेम नहटाएइको दावी गर्दै गेम डेभलप गर्न नछाड्ने प्रतिवद्धता जनाएका छन् ।
आशंका
दिनमा ५० हजार डलर कमाइरहेको गेम अचानक बन्द गर्ने निर्णयमा पुग्नुका पछाडि धेरैले धेरैथरि अनुमान लगाएका छन् ।
पछिल्ला चार दिनका ट्वीट अध्ययन गर्ने हो धेरैथरि आशंका देखिन्छन् । कतिपयले गुयनले अझै पनि फ्ल्यापी बर्डको सफलताको लाभ उठाउने कोसिस गरिरहेको आशंका गरेका छन् । गुयनले लाखौं डलरमा यसलाई बेच्न सक्ने उनीहरुको अनुमान छ, जब कि उनले गेम नबेच्ने सार्वजनिक घोषणा गरिसकेका छन् ।
उनले केही चोरीका ग्राफिक्स प्रयोग गरेको र कानुनी कारबाहीबाट मुक्ति पाउन गेम बन्द गरेको पनि आरोप लगाइएको छ । कतिपयले भने उनले अब फि्र एप्सबाट आम्दानी कम भएको निष्र्कष निकाल्दै ‘पेड एप्स’ बनाउन लागेको दाबी गरेका छन् । यदि त्यसो भएमा गुयनले हरेक डाउनलोडबाट ९९ सेन्ट पाउनेछन् ।
आशंका र आरोप जेसुकै भए पनि एउटा तन्नेरीले बनाएको सामान्य एप जो अकल्पनीय तरिकाले सफल भयो, त्यसले मनग्ये पैसा पनि कमायो । तर, सँगसँगै ल्यायो घृणा, आक्रोश र तनाव पनि ।
आगामी दिनमा गुयनले कस्तो कदम चाल्छन्, त्यो अनुमानको विषयमात्र बन्नसक्छ ।
तर, यति चाहिँ भन्न सकिन्छ, यो इन्टरनेट दुनियाँ यति तिलस्मी बन्दै छ कि, कुनै सामान्य जस्तो लाग्ने एप रातारात भाइरल बनिदिन सक्छ, दिनमै लाखौं करोडौं कमाउन सक्छ । ‘भाइरस सक्सेस’ मार्केटिङका दिग्गजहरुका घगड्यान आइडिया र लाखौंको मार्केटिङ बजेटले हैन, गुयनजस्ता सिर्जनशील युवाहरुको नवीन सोचमा निहीत छ ।
गुयन मुख खोले– ‘सधैका लागि मर्यो’
गेम डिलिट गर्ने निर्णयसँगै गुमनाम बसेका गुयनले पछिल्लोपटक फोब्र्ससँग कुरा गर्दै अब कहिल्यै पनि फ्ल्यापी बर्ड नआउने बताए ।
‘यो गेम निकै नशालु सावित भयो’ फोटो नखिच्ने कडा सर्तकावीच फोब्र्ससँग कुरा गर्न राजी भएका उनले भने–‘मैले फुर्सदको केही मिनेट आनन्द लिने किसिमको गेम डिजाइन गरेको हुँ, तर यो त निकै नसालु सावित भयो, मलाई लाग्यो कि यो निकै समस्याजन्य भयो, त्यसलाई समाधान गर्ने एउटै उपाय सधैका लागि बन्द गर्नु नै थियो ।’
एउटा होटलमा भएको अन्र्तवार्ताका क्रममा उनी तनावग्रस्त जस्तो देखिन्थे । ४५ मिनेको अन्तरवार्ताका क्रममा उनले धेरैवटा चुरोटका खिल्ली सके । भियतनामका उपप्रधानमन्त्रीले भेटन खोजेपछि उनी अन्तर्वाताका लागि निर्धारित समयभन्दा निकै घण्टा ढिलो आइपुगेका थिए ।
गुयनका एप स्टोरमा अन्य थुप्रै गेम अझै पनि छन् । जस्तो जगलिङ र सुरिकेन ब्लक एप स्टोरमा नम्बर ६ र नम्बर १८ मा छन् । उनले भने– ‘ती गेम भने हटाउँदिन किनकी ती हानीकारक छैनन् ।’
फ्ल्यापी बर्डका कारण आफुलाई निकै तनाव भएको र निकै रातहरु सुत्न नसकेको उनले बताए । फ्ल्यापी बर्ड बन्द गरेपछि उनी केही इन्टरनेटबाट टाढा रहेका छन् । तनाव कम गर्न ।
अहिले एप स्टोरमा फ्ल्यापी नाम जोडिएका थुप्रै गेम आएका छन् । तर, उनले ती कसैविरुद्ध पनि कानुनी लडाई नलड्ने र मतलव नगर्ने बताए ।
निराश प्रयोगकर्ताका लागि केही सन्देश छ कि ? उनले यति मात्र भने–‘मेरो गेम खेलिदिनुभएकोमा धेरै धन्यवाद ।’
(फोर्ब्स, हफिङटन पोष्ट, बिजनेस इनसाइडर, टाइम र मासाबेलको रिपोर्टमा आधारित)
www.onlinekhabar.com

