काठमडौं – भारतीय मूलका अमेरिकी इन्जिनियर सत्या नडेला सूचना प्रविधिको क्षेत्रमा दिग्गज मानिएको कम्पनी माइक्रोसफ्टको कार्यकारी अधिकृतमा गत साता नियुक्त भए। सत्याभन्दा अगाडि उक्त कुर्सीमा संसारकै धनी बिल गेट्स बस्थे। कम्पनीका संस्थापक तथा पूर्वअध्यक्ष गेट्सले भने माइक्रोसफ्ट चलाउन सत्याभन्दा योग्य व्यक्ति अहिलेसम्म फेला पारेका थिएनन्। माइक्रोसफ्टको नेतृत्व परिवर्तनको यो चक्रमा पूर्वकार्यकारी अधिकृत स्टिप वामरको स्थान सत्याले लिए भने कम्पनीको अध्यक्ष बिल गेट्सको स्थान जोन थाम्पसनले लिएका छन्।
सूचना प्रविधिमा अहिले ठूलो प्रतिस्पर्धा चलेको छ। यो प्रतिस्पर्धामा माइक्रोसफ्टले आफूलाई जहिले पनि पहिलो स्थानमा राखिरह्यो। यो सफलताको उचाइलाई कायम राखिराख्नुपर्ने चुनौती कम्पनीसँग छ। यो चुनौतीको सामना गर्न माइक्रोसफ्टले सत्यालाई जिम्मेवारी सुम्पेको हो। यस्तो महत्वपूर्ण जिम्मेवारी लिने भारतीय मूलका सत्या को हुन् भन्ने विषयमा सबैको चासो छ। ४६ वर्षीया सत्याको जन्म भारतको हैदरावादमा भएको हो। त्यहीँ उनले प्रारम्भिक शिक्षादीक्षा लिए। बेगमपेटको हैदरावाद पब्लिक स्कुलमा पढाइ सकेपछि सत्या मणिपाल युनिभर्सिटीको सूचना प्रविधिको इन्जिनियर अध्ययन सुरु गरेका थिए। अमेरिका जानुभन्दा अघि उनले इन्जिनियरिङ विषयमा राम्रो नम्बर ल्याएर स्नातकसम्मको अध्ययन पूरा गरे। अमेरिका पुगेपछि उनले विस्कानिसल विश्वविद्यालयबाट विज्ञान विषयमा मास्टर र सिकागो विश्वविद्यालयबाट एमबीएसम्मका अध्ययन पूरा गरे। अध्ययन सकिएपछि सत्याले आफूलाई क्लाउड गुरुका रूपमा परिचित गराइसकेका थिए। क्लाउड त्यो सेवालाई भनिन्छ, जो इन्टरनेटमा पूर्णरूपले चलेको हुन्छ। अर्थात् इन्टरनेटमार्फत जुनसुकै फाइल संसारको जुनसुकै ठाउँमा देख्न वा प्रयोग गर्न सकिन्छ। माइक्रोसफ्टमा काम गर्दागर्दै सत्याले एमएस अफिसलाई क्लाउडमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गरे।
>माइक्रोसफ्टले भनेको छ, अफिस ३६५ उसको सबैभन्दा सफल उत्पादनमध्ये एक हो। माइक्रोसफ्टको आफ्नो क्लाउड सेवा अजूरलाई स्थापित गर्न पनि सत्याले महत्वपूर्ण योगदान दिएका थिए। सत्या सन् १९९२ देखि माइक्रोसफ्टसँग सम्बन्धित छन्। त्यसबेलादेखि नै कुनै न कुनै एउटा उत्पादनमा सत्याले नेतृत्व लिएका छन्। यसमध्ये केही कम्पनीले कम्पनीलाई राम्रो लाभ भयो। जस्तो विन्डो, सर्वर, डेवलपर्स टुल, अजुरलगायतका सफ्टवेयर हुन्। कम्पनीले बजारमा ल्याएको विन्गले भने त्यति राम्रो सफलता पाउन नसकेको चाहिँ पक्कै हो। झण्डै २२ वर्षअघि सत्या माइक्रोसफ्टमा आबद्ध भए। त्यसभन्दा अघि उनी माइक्रोसिस्टममा काम गर्थे। त्यो कम्पनीमा अहिले ओरेकलको स्वामित्व छ। माइक्रोसफ्टको ३८ वर्षे इतिहासमा सत्या तेस्रो मुख्य कार्यकारी अधिकृत (सीईओ) हुन्। उनीभन्दा अघि यो पद केवल स्टिप वामर र कम्पनीका संस्थापक विल गेट्सले प्राप्त गरेका थिए। जिम्मेवारी र व्यवसाय एकातिर राखेर सत्या खेलमा पनि त्यत्तिकै रुचि राख्छन्। उनको प्रिय खेल क्रिकेट हो। स्कुल पढ्दा उनले आफ्नो भविष्य क्रिकेटमा देखेका थिए। स्कुल टिमको नेतृत्व सत्याले गर्दथे। त्यसबेला उनले टिम भावना र नेतृत्व गर्ने तरिका सिकेको सत्या बताउँछन्। तर सूचना प्रविधिको मोहले खेलजीवनलाई अघि बढ्न दिएन। तर क्रिकेटप्रतिको रुचि घटेन। सत्यालाई नजिकबाट चिन्नेहरू भन्छन्, नयाँ चिज सिक्ने त्यो मान्छेमा अद्भूत क्षमता छ। सत्या भन्छन्, म जति किताब पढ्छु, त्योभन्दा बढी किन्छु, जति अनलाइनमा कोर्ष पाउँछु, लिन्छु, त्योभन्दा बढी नै बुकिङ गरिरहेको हुन्छु। मलाई विश्वास छ, यदि नयाँ कुरा सिक्दैनौं भने नयाँ काम पनि गर्न सक्दैनौं। जुन वर्ष सत्या माइक्रोसफ्टसँग सम्बन्धित भए, त्यही वर्ष उनले आफ्नै साथी अनुपमासँग विवाह गरे। अनुपमा र सत्याका बाबुहरू साथीसाथी हुन्। उनीहरू दुवै भारतीय प्रशासन सेवाका कर्मचारी थिए। सत्या र अनुपमाका तीन सन्तान छन्।
उनको परिवार यतिबेला वासिङ्गटनको बेलब्युमा बसोबास गर्छ। समाचारहरूमा जनाइएअनुसार माइक्रोसफ्टको कार्यकारी अधिकृतको वार्षिक तलब १२ लाख डलर हो। यो तलब प्रथम सिईओ स्टिव वामरको भन्दा ७० प्रतिशत बढी हो। तर बोनस र अन्य मुनाफासहित सत्याले वार्षिक एक करोड ८० लाख डलर तलबभत्ता बुझ्ने गरेको बताइन्छ।
माईक्रोसफ़्टका सिईओको वार्षिक तलव २ करोड
news and entertainment
