नेविसंघ कार्यकर्तासँग सिकार खेल्न गएका बाबु छोरा नै जेलमा

२९ फागुन, काठमाडौ । मालीगाउँका १८ वर्षीय जोन खड्का कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा थिए। कामको सिलसिलामा विगत १३ महिनादेखि हङकङमा रहेका बुबा लीलाबहादुर खड्काले घुम्न जाने योजना सुनाउनासाथ जोनले पनि सँगै जाने ढिपी गरे। तर बन्दुकको तारो लगाउन सिपालु आफ्ना बुबासँग सिकार खेल्न सिक्ने रहर जोनका लागि अभिशाप बन्यो।

एसएलसीमा ८० प्रतिशत अंक ल्याएका जोनको पढाइ बिग्रन्छ कि भन्ने चिन्ता पनि लीलाबहादुरलाई थियो। तर छोराको ढिपीसामु उनको केही लागेन। '१३ महिनापछि छोरासँग भेट भयो, बुबा म पनि सँगै जान्छु भन्यो, हिँड् भनें, त्यही गल्ती भएछ', महानगरीय प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका लीलाबहादुरले अन्नपूर्णसँग भने।

अवैध हतियारसहित पक्राउ परेका शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेतले नै लीलाबहादुरलाई फोन गरेर 'हामी घुम्न जाऔं, हतियार पनि ल्याउनुस् है' भनेका थिए। हतियार इजाजतको म्याद सकिएको थाहा नपाएका जोन तारो हान्न पाउने आसमा उत्सुकताका साथ बुबा र शुभरामसँगै निस्किए।

बेलाबेलामा सिकार खेल्दै आएका लीलाबहादुर पनि भएभरका गोली र हतियार बोकेर निस्किए। सँगै जाने ढिपी गरिरहेकी पत्नीलाई भने उनले घरमै रोकेका थिए। 'पत्नी पनि जान्छु भन्थिन्, धन्न मैले पछि जाउँला भनेर रोकें, नत्र परिवारै खोरमा पुगिने रहेछ', लीलाबहादुरले भने।

बस्नेतसँगै धादिङको मजुवा र भीमढुंगा सामुदायिक वनमा अवैध हतियार लिएर सिकार खेल्न गएका खड्का बाबुछोरा, राजेशविक्रम शाही र शतीश शर्मा गत मंगलबार राति तीन बजे सीतापाइलामा प्रहरी फन्दामा परेका थिए। भारतीय दूतावासस्थित केन्द्रीय विद्यालयमा १२ कक्षामा पढ्ने जोन साथीभाइबीच पनि चर्चित छन्। उनी अवैध हतियारसहित पक्राउ परेको खबर साथीभाइले थाहा नपाऊन् भन्नेमा छन्। 'मलाई साथीभाइ पनि भेट्न नआऊन्, कसैले थाहा नपाए हुन्थ्यो जस्तो लागिरहेको छ', जोनले मलिन अनुहारमा भने, 'जाँच आइसक्यो, पढाइ बिग्रियो, बुबासँग बेकार गएछु।'

लीलाबहादुरले काठमाडौं प्रहरी प्रमुख रमेश खरेलसँग राम्रो सम्बन्ध रहेको भन्दै चाँडै छुट्ने दाबी गरे। 'खरेलका दाजु र मेरा दाजु हितैषी हुन्, उहाँसँग राम्रो चिनजान छ। कस्ताकस्ता परिवर्तन त हुन्छन्, हामी त छुटिहाल्छौं नि', उनको विश्वास थियो भन्ने खबार अन्नपुर्ण पोष्टले लेखेको छ ।  ।उनले आफ्ना बुबा र हजुरबुबाले समेत लाइसेन्स लिएर हतियार राख्दै आएकाले आफूले पनि राखेको बताए। 'हतियार राख्ने परम्परा थियो, बेलाबेलामा तारो लगाउने गर्छु', उनले भने। लीलाबहादुरले २०५३ मा जिल्ला प्रशासन कार्यालयबाट २२ बोरको बन्दुक र त्यसमा प्रयोग हुने दुई सय राउन्ड गोली लिएका थिए।

त्यस्तै २०६८ मा जिल्ला प्रशासन कार्यालय ललितपुरबाट १२ बोरको बन्दुक र ५० राउन्ड गोली लिएका थिए। उनले भने, 'अहिले त्यति छैन, ४३ राउन्ड प्रहरीले बरामद गर्‍यो, केही घरमा होला अरू तारो हानेर सकिए।' जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ परेका चारजनामाथि हातहतियार तथा खरखजाना ऐन मुद्दामा अनुसन्धानका लागि बुधबार दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। स्रोतकाम्अनुसार जिल्ला प्रशासन कार्यालयमा म्याद थप्न पुगेका बेला प्रशासनका कर्मचारीले बस्नेतसहितको अनुसन्धान फाइल दुई घन्टासम्म बेपत्ता बनाएका थिए।
महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख डीएसपी दयानिधि ज्ञवालीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए। उनले भने, 'बरामदबाहेक अन्य हतियार कता गए भन्ने खोजी गर्दैछौं।'

,

news and entertainment