दिलशोभा प्रकरणले मिडियामा समेत यसरि सुरु भयो झगडा

समाजसेवी दिलशोभा प्रकरणले देशका दुई ठूला मिडिया हाउसबीच झगडा निम्त्याएको छ । दिलशोभाबारे नागरिक दैनिकमा प्रकाशित समाचारलाई गलत सावित गर्न कान्तिपुर लागेपछि पाँच वर्षअघि फुटेका दुई सञ्चारगृहबीच द्वन्द्व बढेको छ ।

शनिबार नागरिकलाई होच्याएर पत्रकार बिजयकुमारले कान्तिपुरमा लेख छपाएपछि नागरिकले यो प्रकरणलाई कान्तिपुरसँगको वार र पारका रुपमा लिएको छ । त्यसमाथि पनि पाठकपत्र तथा लेखहरु नियमित रुपमा प्रकाशन गर्न थालेपछि नागरिकका सम्पादक/प्रकाशक झस्किएका छन् । रमेश खरेललाई समेत प्रयोग गरी कान्तिपुरले नागरिकको खण्डन गर्न थालेपछि दिलशोभा र नागरिकबीचको द्वन्द्व अहिले नागरिक र कान्तिपुरबीचको द्वन्द्व बन्न पुगेको छ ।

यसरी सुरु भयो कहानी

गरिब बालबालिकालाई आश्रय दिएर पढाउँदै आएकी दिलशोभा श्रेष्ठ श्रीमानबाट पीडित महिला हुन् । पछि उनी समाजसेवामा लागिन् । आमाघर स्थापना गरेर अनाथ तथा गरिब बालबालिकाको शिक्षा दिक्षामा लागिन् । सञ्चारमाध्यमले उनको कामको प्रशंसा गर्दै उनलाई रातारात देशकै हिरो बनाइदियो ।

केही बालबालिकालाई पालेकै आधारमा उनी चर्चित बनिन् । देशविदेशबाट नेपालीहरुले उनलाई सहयोग गरे । करोडौं सहयोग जम्मा हुन थाल्यो ।

यही बीचमा केही नकरात्मक हल्लाहरु पनि चल्न थाले । उनको बालगृह अवैध भएको तथा सहयोग हिनामिना मात्र नभई बालबालिकालाई दुव्र्यवहार हुने गरेका हल्ला चलाइयो । तर अन्तर्राष्ट्रिय रुपमा नै त्यसरी चर्चित बनिसकेकी दिलशोभाविरुद्ध कसैले पनि ती हल्लालाई गम्भीर रुपमा लिएनन् ।

केही महिनाअघि सोसियल साइन्स पढ्ने विद्यार्थीहरु त्यहाँ गए । उनीहरुमध्ये अप्सना गुरुङ समाजसेवामा प्रभावित भएर त्यही काम गर्न थालेकी थिइन् । तर दिलशोभाले बालबालिकालाई गर्ने व्यवहार त्यहाँभित्रका गतिविधि शंकास्पद लागेपछि उनी त्यहाँबाट बाहिरिइन् । त्यसबीचमा उनले दिलशोभाका शंकास्पद गतिविधिबारे अडियो तथा भिडियो रेकर्डहरु बनाइन् । ती रेकर्डको हल्ला भयो र अन्तत: बालकल्याण समितिसम्म पुग्यो ।

गलत नियतले उनले ती प्रमाणहरु बाल कल्याण समितिमा पुर्‍याइन् वा सही नियतले त्यो अनुसन्धानपछि मात्र पुष्टि हुने छ । खासगरी दिलशोभाले फोन गरेको अडियो एक महिलालाई बेश्यावृत्तिमा पठाउन लागिएको अडियोका रुपमा दाबी गरियो । दिलशोभाले त्यसलाई एक क्यान्सर पीडित महिलासँग आफूले गरेको कुराकानी भनेकी छिन् । तर जिल्ला प्रशासन कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानमा त्यो अडियो मैतीदेवी बस्ने एक पुरुषसँग भएको देखिन्छ । स्रोतका माघ २ गते त्यो अडियो रेकर्ड भएको थियो । त्यसकारण त्यो अडियो क्यान्सर पीडित महिलासँगकै हो भनेर विश्वास गरिहाल्ने अवस्था छैन ।

सोही अडियोका आधारमा जिल्ला प्रशासन कार्यालयले उनको आमाघरमा छापा हानी बालबालिकाको उद्धार गर्‍यो । किनकि बालगृह अवैध थियो । त्यसपछि दिलशोभा रुन थालिन् ।

छापा हान्नु अघिल्लो दिन केही व्यक्तिले सो अडियो विभिन्न सञ्चार संस्थाहरुमा पुर्‍याएका थिए । त्यसले भने केही व्यक्ति नियतवश दिलशोभाको विरोधमा लागेको देखिन्छ । विभिन्न सञ्चारमाध्यममा समाचार पुगे पनि नागरिकले दिलशोभामाथि यौन दुराचारको आरोप शीर्षकमा समाचार प्रकाशित गर्‍यो ।

समाचार प्रकाशित भएपछि दिलशोभा एकाएक भगवान्बाट राक्षस भनिन् अनलाइनदेखि सोसियल मिडियाले उनलाई गाली गरे । दिलशोभाले रुदै पत्रकार सम्मेलन गरिन्, त्यसपछि परिस्थिति ठिक उल्टो भयो, पहिला दिलशोभालाई गाली गर्नेहरु नागरिकविरुद्ध खनिए । यो बीचमा अनुसन्धान चलिरहेको थियो । जिल्ला प्रशासन कार्यालयले यति महत्वपूर्ण विषयमा पनि गम्भीर रुपमा अनुसन्धान गर्न नसक्दा अझै यस घटनाको वास्तविकता बाहिर आउन सकेको छैन ।

तर दिलशोभासँग निकट भएर काम गरेका व्यक्तिहरुको भनाइ, त्यहाँबाट उद्धार गरेर गोदावरीको सानो पाइला नामक बालगृहमा राखिएका बच्चाको कारुणिक बयान तथा आर्थिक अपारदर्शीताका कारणले उनको छवि पनि बिस्तारै ध्वस्त हँुदै गएको छ ।

दिलशोभाका कमजोरी

‘जसरी दिलशोभालाई भगवानको रुपमा विजयकुमार लगायतले प्रस्तुत गरे त्यस्तो चाहिँ होइन रहेछ’ जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी भन्छन्, ‘ज्ञान नभएर मात्र होइन नियतवश पनि उनले गरेका धेरै कमजोरी छन् ।’

उनको पहिलो कमजोरी जसरी सडकका बालबालिकालाई उठाएर त्यहाँ राखी पढाइएको भनिएको छ, त्यो गलत देखिएको छ । किनकि त्यहाँ राखिएका सबैजसो बच्चा कर्णाली क्षेत्रका गरिब परिवारका बालबालिका हुन् । त्यस्ता करिब ५० बच्चा उनको संस्थामा बस्दै आएका थिए । तीनै बच्चाका नाममा एक वर्षमा करोडभन्दा धेरै सहयोग पाउँदै आएकी थिइन् । तर त्यो सहयोगको पारदर्शिता छैन । सेतोपाटी डटकमका अनुसार राजु शाक्य नामक व्यक्तिलाई देखाउनका लागि मात्र कोषाध्यक्ष नियुक्त गरेकी थिइन् । कोषाध्यक्ष शाक्यले भनेका छन्, ‘दिलशोभा आमालाई सहयोग गर्न म कोषाध्यक्ष बस्दिएको मात्र हुँ, सबै जिम्मा आमाकै हो ।’

सो संस्थामा बस्दै आएका बालबालिकालाई एन्जल एकेडेमीले नि:शुल्क रुपमा पढाउँदै आएको छ । सो स्कुलका प्रिन्सिपल जोनिकका अनुसार एकदमै फोहोर बनेर बालबालिका स्कुल आउने भएकाले पटक–पटक आफूहरुले नै नुहाइदिनुपर्ने अवस्था थियो ।

हालसम्म बाहिर नआएको र डरलाग्दो पाटो भनेको सो संस्थामा हुने धर्मपरिवर्तनको हो । संस्थामा ल्याइएका सबै बालबालिकालाई जबर्जस्ती क्रिश्चियन बनाइएको छ । दिलशोभाले आफू त्रिश्चियन बनेको स्वीकारीसकेकी छिन् । ‘धर्म परिवर्तन गर्ने स्वतन्त्रता संविधानले दिएको छ,’ बाल कल्याण समितिका एक कर्मचारी भन्छन, ‘तर कलिला बालकहरुलाई थाहै नदिई चर्चमा लगेर धर्म परिवर्तन गराउनु एकदमै डरलाग्दो विषय हो ।’

अर्काेतर्फ उद्धार गरिएका बालबालिकाले आफूहरुमाथि आमाघरमा एकदमै अमानवीय व्यवहार हुने गरेको बताएका छन् ।

त्यसो त दिलशोभाको पक्षमा जसरी अभियान चलाइरहेका छन् त्यसमा ठूलो समूह क्रिश्चियन धर्मवालम्बीहरुको छ । नागरिक न्यूज र पत्रकार केपी ढुङगानालाई गाली र धम्की दिनेहरु धेरै जनाको फेसबुक प्रोफाइलमा बाइबलको धेरै बर्णन छ । अचम्म के छ भने कतिपयले पत्रिका र सम्पादक भन्दा पनि संवाददाता ढुङगानालाई निशाना बनाएर धम्की दिइरहेका छन् । त्यसकारण यो प्रकरणमा कतिपय गलत तत्वहरुले पनि खेलिरहेको प्रष्ट हुन्छ ।

त्यो त बिजयकुमार, रविन्द्र मिश्र जस्ता ठूला पत्रकारले पनि दिलशोभालाई माथि उठाउन सहयोग गरे तथा दर्ता गरेर मात्र संस्था चलाउनुपर्छ, आर्थिक पारदर्शिता हुनुपर्छ भनेर कहिल्यै सिकाउन सकेनन् । तर उनीहरु दिलशोभाले कुनै गल्ती गरेका छैन भन्दै उनको देवत्करण गर्ने प्रयास गरिएकोमा अनुसन्धानमा आबद्ध अधिकारीहरु आश्चर्य मान्छन् ।

खरेलको द्वैध चरित्र

मंगलबार प्रकाशित दृष्टि लेख्छ- दिलशोभा प्रकरणमा एसएसपी रमेश खरेलले पनि द्वैध चरित्र देखाएका छन् । सुरुमा उनले दिलशोभामाथि अनुसन्धान गर्ने बताएका थिए । तर पछिल्लो माहोल दिलशोभाको पक्षमा गएको देखेपछि दिलशोभामाथि आफूले अनुसन्धान नगरेको बताएर कान्तिपुरमा पहिला आफ्नै भनाइको खण्डन गरेका छन् । चर्चाको पछि लाग्ने एसएसपी खरेलले यस्तो विषयमा पनि चर्चाकै पछाडि लागेकोमा अन्य प्रहरी अधिकारी पनि अचम्ममा परेका छन् ।

सिडिओको हातमा दिलशोभाको भविष्य

दिलशोभा र आमाघरमाथि अनुसन्धनका लागि एसएसपी रमेश खरेलले सिडिओ कार्यालयबाट प्रतिवेदन मागेका छन् । यदि सिडिओ कार्यालयले गम्भीरताका साथ अनुसन्धान गरेर प्रतिवेदन बुझाए दिलशोभा अनुन्धानमा तानिने निश्चित छ । किनकि दुई जना बच्चालाई अवैध रुपमा उनले विदेश पठाएको पुष्टि भइसकेको छ । त्यस्तो मुद्दामा मानव बेचबिखन मुद्दा आकर्षित हुने प्रहरी अधिकारीहरु बताउँछन् ।

अर्काेतर्फ अवैध बालगृह, आर्थिक सहयोगको चरम दुरुपयोग, बालबालिकामाथि क्रुर व्यवहारजस्ता घटना प्रष्टिसकेकाले दिलशोभाको जुन छवि जनमानसमा थियो, त्यो छवि पुन: पाउन उनलाई त्यति सजिलो छैन । उनलाई मात्र होइन, यो घटनाले समाजसेवाको नाममा पैसा बटुलेर २/४ जना बच्चा पाल्नेहरुको पनि चिन्ता बढाएको छ । अर्काेतर्फ यो प्रकरणको सम्पूर्ण वास्तविकता बाहिर आएपछि दुई ठूला मिडिया हाउसमध्ये एक नांगिने पनि निश्चित छ ।
- दैनिक नेपाल

,

news and entertainment