थप २७ लाख तिरेपछि बल्ल मिल्यो अक्षय कुमारको सुटिङ टोलीको विवाद
अक्षयकुमारद्धारा अभिनित फिल्म युनिट र नेपालमा फिल्म सुटिङका लागि जिम्मा लिएको कम्पनीबीच भएको विवाद ८ घन्टा लामो छलफलपछि टुंगिएको छ।
काठमाडौंको गौशाला प्रहरीमा भएको छलफलमा भारतीय फिल्म युनिटले नेपाली कम्पनी आइसपल एडभेन्चरलाई २७ लाख रुपैयाँ बुझाएपछि साँझ ५ बजे बल्ल विवाद टुंगिएको हो।
फिल्म सुटिङका लागि विगतमा भएको सहमतिअनुसार रकम नदिएको भन्दै आइसपल एडभेन्चरले ५ करोड रुपैयाँभन्दा बढी रकम पर्ने क्यामरा नियन्त्रणमा लिएपछि विवादले उग्ररुप लिएको थियो।
हायत होटलमा बसेर बिहीबार बिहान दिल्ली उड्न लागेका बेला क्यामरा लिन चावहिलनजिकै भत्केको पुल गएका बेला दुई पक्षबीच सामान्य हातपात समेत भएको थियो।
आफूहरु असुरक्षित भएको भन्दै भारतीय फिल्म युनिटले प्रहरी गुहारेपछि गौशालाबाट खटेको प्रहरी टोली भत्केको पुल गएर आइस पल एड्भेन्चरका निर्देशक रामकृष्ण पोखरेलसहित एक दर्जन युवालाई नियन्त्रणमा लिएको गौशालाका डिएसपी अबिनारायण काफ्लेले जानकारी दिए।
दिनभर छलफल भएपछि भारतीय पक्षले रकमको चाँजोपाँजो मिलाएर बुझाएको उनले बताए।
सुटिङका लागि भएको खर्च नदिई भारतीय फिल्म युनिट भाग्न खोजेका कारण आफूहरुले विगतमा भएको सहमतिअनुसार पाउनुपर्ने रकम मागेको आइसपल एडभेन्चरका शेखर ज्ञवालीले बताए।
उनले भारतीय फिल्म युनिटमाथि हातपात नभएको पनि जिकिर गरे।
भारतीय फिल्म युनिटले नेपाल आउनुभन्दा अघि नै आइस पल एडभेन्चरलाई १ करोड १२ लाख बैना दिइसकेको थियो।
बाँकी रकम उपलब्ध गराउन आइसपल एडभेन्चरले माग गरेको थियो। तर रकम लिन भारतीय फिल्म युनिटले मुम्बई आउन भनेपछि दुई पक्षबीच विवाद भएको उनले बताए।
आइसपल एडभेन्चरका ज्ञवालीले भने मुम्बई गएर भारतीय फिल्म युनिटसँग रकम असुल्न नसकिने बताए।
‘यसअघि पनि थुप्रै भारतीय फिल्म युनिटसँग काम भयो, रकम लिन मुम्बई बोलाउँछन् तर दिँदैनन्,’ उनले भने।
फिल्म युनिटका एक तरलक्य सिंहले रकम नदिने आफूहरुको मनसाय नभएको बताए। उनले भने, ‘हामीले साथीहरुलाई रकम लिन मुम्बई बोलाएका थियौं, उनीहरुले मानेनन्। हाम्रो क्यामरा पनि नियन्त्रणमा राखे।’
उनले थपे, ‘हामीलाई गरेको व्यवहारदेखि दुख लागेको छ। उनीहरुले हाम्रो क्यामरा खोज्दै हातपात गर्न थालेपछि हामीले प्रहरी बोलाएका हौँ।’
उनले आइसपल एडभेन्चरले नेपालमा गर्ने व्यवस्थापनमा निकै कमजोरी गरेको बताए। ‘राम्रो काम गर्छौँ भनेर काम गरे तर चित्तुबझ्दो भएन,’ उनले भने।
उनले विमानस्थल र भक्तपुरमा चाहेजस्तो सट लिन नपाएको भन्दै दुख व्यक्त गरे। एडभेन्चरले व्यवस्थापनमा अपनाउनुपर्ने तौरतरिका नपनाएको पनि उनले बताए।
बिहान ९ बजेदेखि गौशाला प्रहरी चौकीमा छलफल भए पनि अन्ततः साँझ ५ बजे मात्र सहमति भएको थियो। प्रहरी र नेपाल चलचित्र प्राविधिक संघको रोहबरमा दुई पक्षबीच सहमति भएको हो।
भारतीय फिल्म पक्षले सहमति अनुसार काम नगरेको भन्दै जम्मा २७ लाख मात्र दिने अडान लिएपछि आइसपल एड्भेन्चरले बल्लतल्ल सहमति जनाएको थियो।
भारतीय फिल्म युनिटले गोपीकृष्ण हलका संचालक निरक पौडलसँग सहयोगका लागि हारगुहार गरेपछि उनले दिनभरमा २७ लाख रुपैयाँ जुटाइदिएका थिए। उनले २५ लाखको चेक र २ लाख रुपैयाँ नगद उपलब्ध गराएका थिए।
आइसपल एडभेन्चरका निर्देशक रामकृष्ण पोखरेललाई रकम दिँदै फिल्मका एक निर्माता शीतल भाटियाले अब नेपालमा कसैसँग काम नगर्ने बताए।
भारतीय फिल्म टोलीले नेपालीसँग काम गर्दा ५० लाख रुपैयाँभन्दा बढी घाटा भएको बताएको छ। दुई पक्षबीच बिहानैबाट विवाद भएपछि ११ बजेका लागि तय भएको मुम्बईको फ्लाइट पनि छुटेको थियो।
फ्लाइट छु्टेपछि निमार्ता भाटिया, तरलक्य सिंह, जेपीसहितका ४ जना कंलकीबाट भैरहवाको बस चढेर गोरखपुरबाट रेलयात्रा गरेर मुम्बई जाने भन्दै हिँडेका थिए।
फिल्मका नायक अक्षयकुमार भने बुधबार काठमाडौंबाटै टर्की प्रस्थान गरिसकेका छन्। नेपालमा सुटिङ गरिएको फिल्म ‘बेबी’को टर्कीमा पनि सुटिङ हुने भएपछि अक्षयकुमार त्यसतर्फ लागेका हुन्। फिल्म सुटिङ गर्नका लागि भारतीय टोली डेढ साता अघि काठमाडौं आएको थियो।
