आफ्नै प्रेमीले ३ लाख, मोटरसाइकल र ल्यापटप दाइजो मागेपछि


वैशाख १८ गते दिउँसो २ बजेतिर मैले उनलाई फोन गरेँ। एउटा ‘रेडियो टक सो’को कन्टेन्टका लागि मलाई उनको अन्तर्वार्ता चाहिएको थियो। उनी सिरहाको एउटा अस्पतालमा अनमीको रुपमा कार्यरत स्वास्थ्यकर्मी थिइन्। परिवारका पाँचजना छोरीहरुमध्ये जेठी। उसो त अस्पतालमा आउने बिरामीहरुको ज्यान सन्चो पार्ने उनको ड्युटी हो। छ दिनअघि मात्रै उनी आफैँले आत्महत्या गर्ने प्रयास गरेकी थिइन रे। आत्महत्याको निहुँ थियो, परिवारले बिहेमा भनेजति दाइजो दिन नसक्नु। 
वैशाख २८ गते बिहे गर्ने भनेर केटीपक्षले आफन्तलाई कार्डसमेत बाँड्न भ्याएका थिए। केटाकेटी दुबै एकअर्कालाई प्रेम गर्थे। उनीहरुकै पहलमा हुन लागेको यो प्रेम विवाह थियो। आफँैले मन पराएको केटासँग विवाह गर्न उनी आतुर थिइन्। झण्डै एक महिनाअघि केटाले लोकसेवा पास गरेर सरकारी जागिरमा आफूलाई भर्ती गराएपछि यो जोडी विवाहका लागि थप उत्साहित थियो। अनमीको जागिर भएकै कारण हुनेवाला श्रीमानको भरमै बाँच्नुपर्छ भन्ने चिन्ता उनलाई थिएन। प्रेम विवाह भएपनि दुबैपक्षका परिवारबीच बिहेको तयारी सुरु भयो। 
केटीपक्षले सुरुमा प्रेमविवाह अस्वीकार गरेको थियो। तर, लोकसेवा पास गरेको खाइलाग्दो केटो छोरीका लागि ठिक हुन्छ भनेर विवाहका लागि अघि सर्यो। उता केटापक्ष पनि अनमी बुहारी राम्रै हुन्छ भन्ने सोच्थ्यो। बिहे रीति पुर्या‍एरै गर्ने तय भयो। वैशाख ४ गते केटापक्षले बिहेबापत ३ लाख दाइजो नगद माग्यो। पढेको बुझेको केटोको परिवारले दाइजो मागेको देखेर केटी पक्ष झसङ्ग भयो। केटाको बुवाले ठाडै दिन सक्तिन भनेर जवाफ फर्काए। केटाकेटी चिन्तामा पिरोलिए। केटीले परिवारलाई फकाइन्, ‘अब त्यति पैसा जसरी नि मिलाउनुपर्छ बुवा, म अरुसँग बिहे गर्न सक्दिन, बरु म पछि पैसा कमाएर तिराैँला।’
केटी पक्षले जसैगरी पैसा जुटाउने निर्णय लियो। लगत्तै बिहेको कार्ड छापियो। कपडा गहना किन्ने मेसो जुट्दैथ्यो। वैशाख ६ गते केटापक्षले केटीपक्षलाई थप माग राख्यो। अब ३ लाख बाहेक लिस्टमा एउटा मोटरसाइकल र ल्यापटप थपिएको थियो। केटी आफैँले दाइजो बेहोर्न नसक्ने कुरा राखिन्। केटापक्षले खुशी खुशी दिनुस् भन्यो। दुबै पक्षबीच घन्टाैँ ३ लाख नगदबाहेक मोटरसाइकल र ल्यापटप दिने कि नदिने भन्ने बिषयमा बार्गेनिङ चलिरह्यो। मानौं केटापक्ष केटीपक्षलाई लोग्ने बेच्ने मोलतोल गर्दैछ। केटी आफैँले दिनसक्ने हैसियत छैन भन्दै बिन्ती बिसाइरही। केटा आफैँ मौन थिए, परिवार सामू बोल्ने साहसै गरेनन्। केटोले बल्लतल्ल मुख खोल्यो, बिहेका लागि मोटरसाइकल र ल्यापटप दिन नसक्ने भए, जैले किनेर दिन सक्छौ, बिहे गरौला, बरु १ वर्ष कुर्छु तर माग राखेको कुरा चाहियो।’ आफैँले प्रेम गरेको मान्छेको यस्तो जवाफ सुनेपछि बिहे रोकियो। 
केटीपक्ष निरास भएर घर फर्क्यो। छरछिमेक आफन्त सबैकहाँ बिहेको रमझमको कहानी लुकेको थिएन। जसोतसो ३ लाख जुटाएको केटीपक्षले थप पैसा जुटाउने साहस गरेन। त्यस साँझ केटीको मनमा अनेकन कुरा खेलिरहे। स्थीर तलाउमा कसैले ढुङ्गा हानेपछि छाल उठेर यताउता गरेझैँ उनी छटपटीमा रातभर निदाउन सकिनन्। केटीपक्षका लागि रोकिएको विवाह बेइज्जतीको बिषय बनेको थियो। विवाह रोकिएकी छोरीका मनमा मन पराएको मान्छे लोग्ने बन्न नसक्नु ठूलो चित्त दुखाइ बनेको थियो। समाजका लागि बिहे रोकिनु कुरा काट्ने ठूूलै बहाना बनेको थियो। मानसिक तनावमा आएर केटीले गहुँमा लाग्ने किरा मार्ने औषधी खाइन्। उनलाई तत्कालै लहान अस्पताल लगियो। थप उपचार हुन नसकेपछि धरानको बिपी कोइराला अस्पताल हुँदै विराटनगरको नोबेल नर्सिङ होममा आइसियूमा ७ दिन राखेर उपचार गरेपछि घर फर्किन्। 
अस्पतालमा उनको प्रेमी एक दिन पनि भेट्न आएनन्। पीडितपक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो। प्रहरीले मिलापत्र गर्न सल्लाह दियो। उनी अस्पतालको शैय्यामा थिइन्। प्रहरीले उनलाई ‘अब तिमी पछि त्यो केटासँग बिहे गर्छौ कि गर्दैनौ’ भनेर बारम्बार सोधिर्यो। 
उनी मलाई भन्दै थिइन्, ‘म आफैँ यस्तो अवस्थामा छु, त्यो प्रश्नको जवाफ कसरी दिन सक्थे र?’ हामी महिलाको उजुरी सुन्न महिला प्रहरी नै हुनुपर्ने आवश्यकता यहाँनिर खड्कियो मलाई। ‘प्रहरीले अनुसन्धानका क्रममा व्यक्तिगत कुराहरु खोतल्छन्, जुन कुरा म पुरुष प्रहरीलाई खुलेर भन्न सक्तिन्,’ उनले थपिन्। यति कुरा गरेर मैले फोन राखेँ। 
वैशाख २१ गतेको नेपाल चौतारी टक सो कार्यक्रमका लागि त्यो अन्तर्वार्ता सम्पादन गरेर बजायाैँ। कार्यक्रममा मुख्य अतिथि थिए, प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुरेन्द्रबहादुर शाह। उनी लामो समयदेखि महिला हिंसा विरुद्ध नेपाल प्रहरीबाटै काम गर्ने प्रहरीका रुपमा परिचित थिए। उनले कार्यक्रममै भनेका थिए, ‘म तत्कालै एक्सन लिन्छु, प्रहरीले उजुरी समेत लिएको रहेनछ।’ 
करिब २ घण्टापछि मेरो मोबाइलमा डिआइजी थापाको फोन आयो। भन्दै थिए, ‘निशाजी, हामीले त्यो पीडकलाई थुनिसक्याैँ, पीडित बहिनीलाई यो कुरा सुनाइदिनुस्।’ 
मैले भोलिपल्ट फोन गरेँ, ‘हामीले तपाईको अन्तर्वार्ता बजायाैँ, डिआइजीले पछि भन्नुुभयो, तपाईँको पीडक थुनियो रे।’ उनी मसिनो स्वरमा भन्दै थिइन्, ‘मलाई थाहा भयो।’
थोरै हालखबर सोधेपछि मैले फेरि सोधेँ, ‘ऐले के गर्दै हुनुहुन्छ?’ उनको जवाफ झन् मसिनो भयो, ‘हिजो हाम्रो मिलापत्र भयो, आज हामी कोट म्यारिज गर्न जिल्ला प्रशासन कार्यालय जाँदै छौँँ।’ 
पीडित महिलाले कार्बाही गराउन थालेको कदम आखिरमा बिहे गर्ने मिलापत्रमै टुंगिएछ। २ दिन अघिसम्म उनी कार्बाही हुनुपर्यो भन्दै थिइन्। प्रहरीले कार्बाही गरेको एक दिन नपुुग्दै समस्या समाधानमा बदलियो ।
हुन त आफ्नै प्रेमी, मिलापत्र गर्ने या सजाय दिने उनको नितान्त व्यक्तिगत रोजाइ हो। तर, ३ लाख नगदसहित मोटरसाइकल र ल्यापटप माग्दासमेत चुुइँक्क नबोलेका केटालाई बिहे गर्न पनि आँटी मन चाहिन्छ। यो जोडीलाई विहेको अग्रिम शुभकामना्,अब कुनै समस्या नझेली उनीहरुको बिहे सम्पन्न होस्। केटोले आफनो भूल मनबाटै स्वीकार गरेको होस्। 
नेपालको सामाजिक व्यवहार सुधार ऐन २०३३ अनुुसार दाइजो लिनु र दिनु हुन्न भन्ने स्पष्ट प्रावधान छ। तर पनि बर्षेनि २५ प्रतिशतभन्दा बढी महिला हिंसाका घटनाहरु दाइजोकै कारण भएको सुनिन्छ्। ओरेक नेपालको २०७० फागुन महिनाको तथ्याङ्कअनुसार गत वर्ष २२ जना महिलाको हत्या दाइजोकै कारण भएको थियो, अरु ६ जनाको हत्या प्रयास गरिएको थियो। हामी बारम्बार पत्रपत्रिकामा तराईमा दहेज प्रथाका कारण महिलाहरु हिंसामा परे भन्ने खबरहरु सुन्छौँ। उसो त सहरबजारमा पनि दाइजो लिने चलन नभएको हैन। कानुन छ तर कार्यान्वयन छैन। ठूलाठूला मन्त्रीहरुले सयौँ तोला सुन दाइजोमा ल्याएका समाचारहरु पनि ताजै छन्। दाइजो नलिने चलन यो देशबाट कहिले हराउँछ होला। 

, , ,

news and entertainment