विश्वमा नचलेको जहाज नेपाललाई उपहार !
२०७१ जेठ १४ गते
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका लागि आगामी एक वर्षभित्रै पाँच प्रकृतिका जहाज उडाउनु चुनौतीपूर्ण देखिएको छ। आन्तरिक उडानमा ट्वीनअटर र अन्तर्राष्ट्रिय उडानका लागि बोइङ नामका जहाज उडाइरहेको निगमले भर्खरै एमए ६० नामक चिनियाँ जहाज नेपाल भित्र्याएको छ। निगमले आगामी कात्तिकसम्ममा वाई १२ र फागुनभित्र एअरबस नामक जहाज ल्याउने तयारी गरेको छ।
एक महिनादेखि चिनियाँ जहाज उडाउन संघर्ष गरिरहेको निगमले थप गर्ने अर्को चिनियाँ जहाज वाई १२ र एअरबसका जहाज उडाउनु थप चुनौतीपूर्ण हुने निगमका कर्मचारीले बताएका छन्। ‘निगमले ल्याएको चिनियाँ जहाज आवश्यक प्रक्रिया पूरा गरेर उडाउन नसक्दा एक महिनादेखि विमानस्थलमा घाम तापेर बसेको छ’, निगमकै एक वरिष्ठ क्याप्टेनले भने। यसले अन्तर्राष्ट्रियस्तरमा निगमको नकारात्मक सन्देश जाने अवस्था आएको छ।
जहाज कम्पनीले जहाज थप गर्नु र उडान गर्नु त राम्रौ हो तर फे डरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) र युरोपेली युनियन (ईयू) ले मान्यता नदिएको यो जहाज माफियातन्त्रबाट प्रभावित भएर भित्र्याउन हतार गर्नुले भोलि निगमलाई आवश्यक परेको जहाज ल्याउन नसक्ने अवस्था आउने निगमकै अर्का वरिष्ठ पाइलटले बताए।
चिनियाँ दबाबमा आएको यो जहाज एउटा किन्दा अर्को नि:शुल्क हुनु नै चीनले विश्वमा नचलेको र विकसित देशले मान्यता नदिएको जहाजलाई हाम्रो देशमा उडाएर प्रमाणित गर्नु रहेको ती पाइलटले बताए। निगमको आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान अलग गर्नुपर्ने समयमा योजना र तयारीबिना नै चिनियाँ जहाज ल्याउन हतार गर्नु नै निगमका लागि ठूलो चुनौती भएको निजी क्षेत्रको हवाई जानकार बताउँछन्। उनका अनुसार निगमले जहाज उडाउनै सक्दैन भन्नेचाहिँ होइन।
एउटै प्रकृतिको जहाजलाई स्थापित गर्न नसकेको निगमले एकैपटक पाँच थरीका जहाज कसरी उडाउँछ? आन्तरिक व्यवस्थापन सुधार गर्ने, मानव संसाधन बलियो बनाउने र भएको जहाजलाई राम्रोसँग उडाउने क्षमता बनाउन नसकेर आलोचित भएको निगमले बिनायोजना फरकफरक प्रकारका जहाज छनोट गर्नु नै आफ्नै कमजोरी लुकाउन खोज्नु भएको एक हवाई क्षेत्रका जानकारको टिप्पणी छ।
जहाज ल्याएर उडान गर्न नसक्नु भनेको लाइसेन्सबिना नै ट्याक्सी किन्न हतार गरेकोजस्तै भएको उनको तर्क छ। नागरिक उड्डयन प्राधिकरणको एअरलाइन्स अपरेसन सर्टिफिकेसन रिक्वायरमेन्ट (एओसीआर)अनुसार आवश्यक प्रक्रिया पुर्याउन नसकेका कारण जहाज उडान अनिश्चित भएको हो।
निगमका प्रवक्ता रामहरि शर्माले जहाज छिटो उडान गर्नुपर्छ भनेर तयारी गरिहेको भए पनि प्राधिकरणबाट अनुमति नपाएका कारण ढिलाइ भएको बताए। निगमले एअरक्राफ्ट रजिस्ट्रेसन (दर्ता प्रमाणपत्र), एअर वर्दिनेश (उडान योग्यता), रेडियो मोबाइल सर्टिफिकेसन (जहाजको सञ्चार उपकरण ठीक भएको प्रमाणपत्र) र वायुसेवाको सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) का लागि प्राधिकरणसमक्ष निवेदन दिएको छ।
प्राधिकरणसमक्ष पेस भएका यी नियममध्ये आवश्यक प्रक्रिया पूरा नभएको भन्दै कुनै पनि अनुमति दिइएको छैन। प्राधिकरणले अनुमति नदिएका कारण र चीनबाट प्रशिक्षक पाइलट नआइपुगेका कारण तोकिएको समयमा जहाज उडाउन नसकिएको निगमको भनाइ छ। ‘यो जहाज उडान गर्न ढिलो भएको मात्रै हो उडानै गर्न नसक्ने भन्ने होइन’, शर्माले भने, ‘धेरै प्रकृतिको जहाज सञ्चालन गर्नु चुनौतीपूर्ण भए पनि व्यवस्थापन मिलाउने मात्रै हो जहाज उडाउनै नसक्ने भन्नेचाहिँ होइन।’
चिनियाँ जहाज उडान चीनले नै एक सय घन्टा प्रशिक्षक पाइलट उपलब्ध गराउने सहमति भएकोले यसैको पर्खाइमा केही समय ढिलो भएको हो। शर्मा भन्छन्, ‘हामी सबै तयारी पूरा गरेर जहाज उडाउन लागेकोले भोलि थप हुने नयाँ प्रकृतिका जहाजलाई असहज नहोस् भन्ने पनि बुझेका छौं।’
अन्तर्राष्ट्रिय नागरिक उड्डन संगठन (आईकाओ) को नियमअनुसार एउटा जहाज उडाउने पाइलटले अर्को प्रकृतिको जहाज उडाउन पाउँदैन। निगमसँग हाल अन्तर्राष्ट्रिय उडान गर्ने २७ पाइलट छन्। आन्तरिकमा १८ कोपाइलट र १७ क्याप्टेन गरी ३५ जना छ। यी पाइलटले अर्कोमा जान नपाउने भएकोले तालिम दिने नयाँ जनशक्ति थप गर्नुपर्ने हुन्छ। यसका लागि निगम व्यवस्थापन सक्षम भए पनि चुनौतीपूर्ण भने देखिएको शर्माले स्वीकार गरे।
‘निगमले धेरै प्रकारको जहाज उडाउनु ठूलो कुरा होइन। यसबाट डराउनु पनि पनि पर्दैन तर कसरी व्यवस्थापन गर्ने भन्ने हो। निगम सरकारी वायुसेवा भएकोले जहाज हुनुपर्छ जति प्रकारका भए पनि उडाएरै देखाउन सक्छौं’, शर्माको भने।
निगमले पाँच प्रकारका जहाज उडाउन सक्छ कि सक्दैन भनेर युरोपेली युनियनले समेत जिज्ञासा राखेको प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले बताए। यो प्रश्नलाई प्राधिकरणले निगमसमक्ष राख्दा सन्तोषजनक जवाफ पाउन नसेको उनले जानकारी दिए।
निगमले ल्याएको जहाजले अहिलेसम्म उडान अनुमित नपाउनु पनि यसले एओसीआर तथा ईयूले तोकिएको सुरक्षा मापदण्ड पूरा नगर्नु नै भएको प्राधिकरणको भनाइ छ। अहिले आवश्यक प्रक्रिया पूरा गर्न नसकेका नयाँ प्रकृतिका थप गर्न अझै चुनौतीपूर्ण रहेको सुमनको बुझाइ छ।
निगमले दर्ता, एओसीको प्रक्रिया, पाइलटको आवश्यकता, उडान योग्यताको प्रमाणपत्र तोकिएको सर्तअनुसार पूरा गर्न सकेको छैन। तयारीबिना कुनै पनि वायुसेवाले नयाँ जहाज ल्याउँछ भने त्यसलाई उडान अनुमति दिइहाल्नुपर्छ भन्ने मानसिकतामा प्राधिकरण नरहेको उनको भनाइ छ।
आन्तरिक उडानमा ट्वीनअटर र अन्तर्राष्ट्रिय उडानका लागि बोइङ नामका जहाज उडाइरहेको निगमले भर्खरै एमए ६० नामक चिनियाँ जहाज नेपाल भित्र्याएको छ। निगमले आगामी कात्तिकसम्ममा वाई १२ र फागुनभित्र एअरबस नामक जहाज ल्याउने तयारी गरेको अन्नपूर्ण पोष्टमा खबर छ ।