रङ नम्बरले जुरायो जोडी
जनकपुरधाम, असार ५ – रङ नम्बरमा फोन गर्दा प्रेममा परेका धनुषाका एक अन्तरजातीय जोडीले विवाह गरेका छन् ।
धनुषाको सोहनी सिनुजोडाका २० वर्षका पंकज राउत र महोत्तरी श्रीपुर कविलासाकी १७ वर्षकी मुन्नी झा गलत नम्बरमा फोन गर्दा सम्पर्क स्थापित भएर पछि बैवाहिक संबन्धमा जोडिएका हुन् ।
जनकपुरको मिट क्याम्पसमा पढ्ने पंकजले करिब ६ महिनाअघि फोन गर्दा गलत नम्बर डायल भएर मुन्नीकोमा पुग्यो । त्यतिबेला झुक्किएर कुराकानी भएको उनीहरुबीच त्यसपछि भने लगातार कुराकानी हुन थाल्यो । ‘उहाँको अवाज सुन्दैमा मन पर्यो, हामीबीच फोनमा धेरै कुराकानी हुन थाल्यो’ मुन्नीले भन्नुभयो ‘पछि विस्तारै भेटघाट पनि हुन थाल्यो, अहिले पति पत्नी हुँदा धेरै खुशी लागेको छ ।’ मुन्नी पनि जनकपुरको राजर्षी जनक क्याम्पसमा पढ्नुहुन्छ ।
दुवैबीच प्रेम बसेपछि विवाह गर्न खोजेका उनीहरुलाई जात नमिलेका कारण परिवार र समाजले स्वीकार गरेन । झा मैथिली ब्राम्हण राउत भन्दा ठूलो जात भन्ने मानसकिताका कारण घर परिवारले उनीहरुको विवाह हुन दिएन । त्यसपछि भागेर विवाह गरेका उनीहरु विराटनगर बस्न थाले । मुन्नीका घर परिवारले प्रहरीमा पंकजको नाम किटान गरी अपहरण मुद्दा दर्ता गरायो ।
त्यसै मुद्दाको अधारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्यो र मुन्नीलाई परिवारको जिम्मा लगायो । त्यसको केही दिनपछि उनीहरु फेरि भागेर काठमाडौ जाने योजना बनाए । अन्तमा र घर परिवारले उनीहरुको धुमधामले विहे गराइदियो ।
अहिले विवाह गरेर संगै बस्न पाएकोमा उनीहरु निकै खुशी छन् । आफुहरुको विवाहलाई मान्यता नदिएका कारण भागेको भन्दै पंकज भन्नुहुन्छ ‘भाग्नु कसैको रहर हैन बाध्यता हो, प्रेम विवाहलाई हाम्रो समाजले मान्यता दिनुपर्छ ।’
शैलेन्द्र महतो/उज्यालो

