मलेसियामा करिब ७ लाख नेपाली कार्यरत छन्,.जसमा ... ३ लाख नेपाली प्रभावित हुने....
२१ जेठ, काठमाडौं । वार्षिक डेढ लाखभन्दा बढी नेपालीले रोजगार पाउँदै आएको प्रमुख गन्तव्य मलेसियाले पूर्वसूचना नै नदिई एकतर्फी रूपमा लागू गरेको नयाँ भिसा प्रक्रियाबाट नेपाली कामदार मारमा परेका छन्।
मलेसियाले हस्तलिखित पासपोर्टमा भिसा लिएका नेपाली कामदारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाएपछि भिसा पनि त्यसैमा सार्नुपर्ने नियम लागू गरेको हो। मलेसिया दूतावासले ‘रद्द गरिएको पासपोर्टमा भएको भिसालाई मान्यता नदिने जानकारी गराएको’ परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनालीले बताएको नागरिक दैनिकमा खबर छ ।
एमआरपी लिएपछि पुरानो हस्तलिखित पासपोर्ट स्वतः रद्द हुन्छ। मलेसियाको नयाँ व्यवस्थाअनुसार अब पासपोर्टसँगै त्यसमा भएको भिसा पनि रद्द हुनेछ, जुन नियम अरू कुनै देशमा नभएको सम्बद्ध अधिकारी बताउँछन्।
मलेसियामा करिब ७ लाख नेपाली कार्यरत छन्, जसमध्ये करिब ३ लाखको हस्तलिखित पासपोर्ट रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। नेपालका हकमा मात्र लागू गरिएको यस्तो व्यवस्थाबाट ३ लाख नेपाली प्रभावित हुनेछन्।
२०७० भित्रै १ लाख ६६ हजार ८ सय ९८ नेपाली कामदार मलेसिया गएका थिए।
हस्तलिखित पासपोर्टवाहकले एमआरपीमा भिसा सार्न ३ हजार २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ। यो कामदारका निम्ति अतिरिक्त आर्थिक भार हो। भिसा शुल्क गत नोभेम्बरमा मात्रै वृद्धि गरिएको हो। त्यसअघि ७ सय रुपैयाँ मात्र थियो।
