नेपाली सीमामा ब्यापारिक कम्प्लेक्स बनाउने भारतीय प्रस्ताव
१ असार, काठमाडौं । नेपालमा सामान्य चिनियाँ गतिविधि देख्नासाथ आत्तिने भारतीयहरुले फेरि अर्को एउटा यस्तै प्रचारबाजी थालेका छन् । नेपाली भूमी प्रयोग गरेर चीनले भारतविरुद्ध गतिविधि गरिरहेको भारतीय सशस्त्र सीमा सुरक्षा बल -एसएसबी) लाई उधृत गर्दै भारतीय सञ्चारमाध्यममा उत्तेजनापूर्ण सूचना प्रवाह भएको छ ।
सीमा सुरक्षा बल एसएसबीलाई उधृत गर्दै भारतीय पत्रिका दि टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले सीमा क्षेत्रमा चिनिया अध्ययन केन्द्रहरुले भारतविरुद्ध गतिबिधि गरिरहेको दाबी गरेको हो । इण्डो-नेपाल सीमानामा तैनाथ गरिएको सशस्त्र भारतीय सीमा सुरक्षा बलले सीमावर्ती नेपाली भूभागमा चिनियाँ अध्ययन केन्द्रहरुको संख्या बढिरहेको सूचना दिएको छ । सीमा सुरक्षा सशस्त्र बलको हबाला दिँदै टाइम्स अफ इण्डियाले च्याउसरी उम्रिएका चिनिया अध्ययन केन्द्रहरुले भारतविरुद्ध युद्धका लागि मेनपावर तयार गरिरहेको दाबी गरेको छ ।
चीनले नेपालको विमानस्थल, राजमार्ग र रेलवेहरुमाथि आफ्नो पकड जमाइसकेको र ती ठाउँमा रोजगारी खडा गरेर भारतविरुद्ध युद्धको दीर्घकालीन तयारी गरिरहेको उक्त पत्रिकाको दाबी छ । सो समाचार र एसएसबीको सूचना हावादारी छ भन्ने कुराको एउटै प्रमाण चाहिँ नेपालको रेलवे चीनको पकडमा छ भन्नुले पुष्टि हुन्छ ।
बितेका तीन चार वर्षमा नेपालमा चीन अध्ययन केन्द्रहरु बढेको, उनीहरुले भारत विरोधी भावना भड्काउने रेडियो तथा टिभीमा छलफलहरु चलाइरहेको एसएसबीलाई उधृत गर्दै भारतीय पत्रिकाले लेखेको छ । विशेष गरी प्राइभेट एफएम च्यानलमा भारतबिरोधी बहस चलाउने गरिएको उसको दावी छ । भारतको उत्तर प्रदेश र उत्तराखण्ड नजिक इण्डो नेपाल बोर्डरका कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ कपिलबस्तुमा चीन अध्ययन केन्द्रहरु खडा भइरहेको भन्दै एसएसबीले चिन्ता जनाएको छ ।
आफूले तराईका वस्तीदेखि सिंहदरबारसम्म प्रभाव बढाएको भए पनि चीनले नेपालमा गर्दै आएको सामान्य सहयोगलाई समेत भारतीयहरुले युद्धको तयारीका रुपमा उत्तेजनापूर्ण व्याख्या गर्ने गरेका छन् । नेपालमा हुने चिनियाँ सहयोगप्रति भारतीयहरु बेखुस एवं उत्तेजित हुने गरेका छन् ।
भारतले सीमानामा मार्केट कम्प्लेक्स बनाउने
यसैबीच भारतीय सशस्त्र सीमा बल एसएसबीले तस्करी रोक्न नेपाल भारत सीमामा मार्केट कम्प्लेक्स निर्माण गर्ने प्रस्ताव केन्द्रीय गृहमन्त्रालय समक्ष पठाएको छ । सिलीगुडीबाट प्रकाशित हुने नेपाली भाषाको दैनिक हिमालय दर्पण पत्रिकाले देशको अर्थनीतिलाई बलियो बनाउन सीमा क्षेत्रका मानिसहरुलाई बिबिध असुबिधाहरुबाट मुक्ति दिलाउनका लागि यो योजना ल्याइएको रानीडाँगाका एसएसबी डिआइजी असिकुमार मल्लिकलाई उधृत गर्दै लेखेको छ ।
सिलीगुडीको महकुमाको खोरीबाडी ब्लकमा शनिबार नेपाल र भारतका पत्रकारहरुसँग कुरा गर्दै मल्लिकले तस्करीले गर्दा मार्केटमा मोनोपोली बढेकाले सिमानामा मार्केट कम्प्लेक्स बनाउने अवधारणा गृहमन्त्रालयमा पठाइएको बताएका छन् । उनले सीमानामा मार्केट कम्प्लेक्स बनाउँदा नेपाल र भारत दुवै देशका जनताले राहत पाउने र सीमानामा हुने तस्करी निरुत्साहन हुने दावी गरेका छन् ।
यद्यपि यसबारे नेपाली पक्षको प्रतिक्रिया भने आएको छैन । झापा जिल्लाको सीमानामा बनाइने यस्तो कम्प्लेक्सको निर्माण सम्पन्न गर्न दुई वर्ष लाग्ने बताइएको छ ।
-via onlinekhabar भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
चीनले नेपालबाट भारतविरोधी बढाएको एसएसबीको रिपोर्ट
news and entertainment
