इराकमा संकट: 'आफन्त भए जानकारी देऊ'
काठमाडौ, असार ६ - इराकमा हिंसा चर्केकाले सतर्क हुन आग्रह गर्दै सरकारले त्यहाँ रहेका नेपालीबारे विवरण उपलब्ध गराउन परिवार र आफन्तलाई आग्रह गरेको छ । 'आवश्यक पर्दा उद्धारमा सहज हुने' भन्दै पराराष्ट्र मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी विवरण संकलनका लागि छुट्टै डेस्क स्थापना गरेको जनाएको हो ।
प्रवक्ता दीपक धितालका अनुसार मन्त्रालयले इमेल र टोलीग्राफमार्फत बिहान ८ बजेदेखि राति ८ बजेसम्म विवरण लिनेछ । इमेलमा आफन्तले 'रेस्क्यु एट मोफा डट जिओभी डट एनपी' मार्फत विवरण दिन सक्नेछन् ।
यसैबीच, कतारको दोहास्थित संवाददाता होम कार्कीका अनुसार इराकको भिडन्त स्थलहरूमा नेपाली नरहेको त्यहाँ कार्यरत कामदार र नेपाली संघसंगठनका पदाधिकारीले बताएका छन् । केही सातायता विद्रोही समूहले सहरहरू कब्जामा लिन थालेपछि इराकमा हिंसा भड्किँदै गएको हो । विदेशी कामदार अपहरणमा परेका समाचार एजेन्सीहरूमा आइरहेका छन् ।
सबैभन्दा बढी २० हजार नेपाली रहेको सहर कुर्दिस्थान हो, जहाँ १० हजार नेपाली घरेलु कामदार नै छन् । कुर्दिस्थान स्वशासित राज्य भएकाले यसको आफ्नै सरकार, सेना र प्रशासन छ । कुर्दिस्थानमा ६ वर्षदेखि कार्यरत लालकाजी गुरुङले यो सुरक्षित क्षेत्र रहेको बताए । 'यहाँ अशान्ति छैन, डराउनुपर्ने स्थिति छैन,' गैरआवासीय नेपाली संघ इराकका अध्यक्षसमेत रहेका गुरुङले भने ।
उनका अनुसार भिडन्त स्थलहरूबाट अहिलेसम्म कुनै नेपाली सम्पर्कमा आएका छैनन् । 'जति स्थानमा भिडन्त भएका छन्, ती स्थानमा नेपाली नरहेको हाम्रो अनुमान छ,' उनले भने, 'जति छन्, सबै सुरक्षित र शान्त ठाउँमा छन् ।' उनले इराकमा भिडन्त भयो भन्दैमा आत्तिइहाल्नु नपर्ने बताए ।
इराक हेर्ने जिम्मेवारी पाएका पाकिस्तानस्थित नेपाली राजदूत भरतराज पौड्यालले नेपालीको अवस्थाबारे निकै सतर्क भएर काम गरिरहेको बताए । 'हामी बढीभन्दा बढी नेपालीको सम्पर्कमा पुग्ने प्रयास गरिरहेका छौं,' उनले भने, 'अहिलेसम्म नेपालीलाई कतै केही भएको छैन । भिडन्तस्थलतिर नेपाली नरहेको सूचना पाइरहेको छु ।' निर्माण पेसामा संलग्न सय जना कामदार विद्रोहीको अपहरणमा परेको समाचार एजेन्सीहरूमा आएका छन्, जसमा ४० जना भारतीय कामदार रहेको भारतीय परराष्ट्र मन्त्रालयले जनाएको छ । 'ती अपहरणमा नेपाली परेका छैनन्,' राजदूत पौड्यालले भने, 'अपहरण गरिएको क्षेत्रमा नेपाली कार्यरत छैनन् ।'
राजधानी बग्दादबाट दुई घन्टा टाढाको कारेबला सहरमा चार वर्षदेखि कार्यरत संखुवासभा बाला गाविसका मोहन राईले उक्त क्षेत्रमा पनि भिडन्तको असर नपरेको बताए । 'स्थिति सामान्य छ, जनजीवन सामान्य हिसाबले चलिरहेको छ,' उनले फोनमा कान्तिपुरसँग भने । कारेबलामा रहेका २४ जना नेपाली आपसमा सम्पर्कमै रहँदै आएको उनले बताए । 'सुपरमार्केट, होटल र पसलमा काम गर्ने साथीहरू नियमित सम्पर्कमा छांै,' कपडा पसलमा कार्यरत राईले भने ।
दुई पक्षीय भिडन्तले इराकका उत्तरी सहरहरूमा उग्र रूप लिएको छ । ती स्थानबाट विस्थापित हुनेको संख्या ठूलो भएको एजेन्सीहरूले जनाएका छन् । बग्दादमा पनि नियमितजसो विस्फोट भइरहेका छन् । 'हाम्रो सम्पर्कमा भएका सबै नेपाली सुरक्षित स्थानभित्र मात्रै कार्यरत छौं,' बग्दादको रेड जोनमा १० वर्षदेखि कार्यरत पोखराका देव थापाले भने । बग्दादमा रहेका अधिकांश नेपाली रेड र ग्रीन जोन (क्षेत्र) भित्रै काम गर्छन् । यो क्षेत्रभित्र कडा सुरक्षाबीच कूटनीटिक नियोग, सरकारी भवन, अन्तर्राष्ट्रिय कम्पनी छन् । नेदरल्यान्ड्स दूतावासको सुरक्षा गार्डका रूपमा कार्यरत पोखराका कृष्ण थापाले भने, 'यी जोनभित्र कार्यरत नेपालीलाई असुरक्षाको स्थिति छैन ।' कास्कीका दिलकुमार तामाङले आफूहरूलाई कम्पनीले नै सुरक्षा दिने भएकाले डराउनु नपर्ने बताए । 'कम्पनीले नै सुरक्षा दिन्छ । यहाँको सुरक्षाबारे बेलाबेलामा बि्रफिङ गरिरहेको हुन्छ,' कुकमा काम गर्ने तामाङले भने, 'आत्तिनुपर्ने स्थिति छैन ।'
- See more at: http://www.ekantipur.com
