मोरङको मधुमल्ला स्थित कत्ले टोल निवासी रमा सिग्देलको तौलले अहिले सवैलाई चंकित बनाएको छ। भर्खर १८ वर्षमा हिँडिरहेकी रमाको तौल २ सय किलोको हाराहारीमा पुगेको छ। आफ्नो तौल दैनिकजसो बढेको महसुस हुने रमा बताउँछिन्। उनी जन्मँदा सामान्य नै थिइन्। घरमै जन्मिएकी रमाको तौल एक महिना हुँदादेखि नै अस्वाभाविक रूपमा बढ्दै गएकोपिता खेमनाथ सिग्देल बताँउछन्।
अहिले उनको कम्मर ६० इन्च पुगेको छ भने हातको पाखुरा नै ३० इन्चको हाराहारीमा छ। यसरी शरीरमा मासु थुपिँ्रदै गएर तौल बढ्न थालेका कारण हिँडडुल गर्न अप्ठ्यारो हुँदै गएको बुबा खोमनाथ बताउँछन्। तीन छोरी र एक छोरा मात्र भएका सिग्देल परिवारमा रमा माइली छोरी हुन्। अन्य सन्तान भने सामान्य रहेका बुवा खेमनाथले बताए।
केही वर्ष अघिसम्म सामान्य अवस्थामा रहेकी रमा शरीरमा मासु लागेर तौल बढ्न थालेपछि विगत दुई वर्षदेखि घरबाहिर हिँडडुल गर्न सक्ने अवस्थामा छैनन्। घरमा उनलाई बस्न र सुत्न सहज हुने गरी बिछ्यौना मिलाइएको बुबा खेमनाथ बताउँछन्। खेमनाथका अनुसार रमाले बिहान उठेर आफ्नो नित्य कर्म गर्ने, खाना पकाउने, सरसफाइ गर्नेसम्मको काम गर्दै आएकी थिइन्।
गत पुसमा रमाको तौल १ सय ७० किलोग्राम थियो। रमाले बजारमा पाइने कुनै पनि तयारी कपडा लगाउन मिल्दैन भने यातायातका साधनहरूमा बस्न नै असुविधा हुने गरेको छ। चिकित्सकहरूले हार्मोनका कारण यसरी मासु बढेको भन्दै सुविधा भएका अस्पतालहरूमा उपचार गर्न सुझाव दिएका छन्। दमकस्थित आम्दा अस्पतालले उनलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको छ।