येसरी आएको थियो सुनकोशी नदीमा बाढी (फोटो सहित )
शनिबार विहानै सिन्धुपाल्चोक जिल्लाको चुरे भन्ने स्थानमा गएको पहिरोले सुनकोशी नदी थुनिंदा भयावह स्थिति पैदा भएको छ । नदी थुनिएर ताल बन्दैगएको छ ।
अहिलेसम्म ८ जनाको शव निकालिएको छ । मृतकमध्ये ७ जनाको सनाखत भैसकेको छ । मृत्यु हुनेमा एक बालक रहेका छन् । सो क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
पहिरोले ५२ घर बगाएको छ भने ४० जनाको जीवितै उद्धार गरिएको छ । पहिरोले थुनिएको नदीको वहाव खोल्ने प्रयासमा नेपाली सेना र नेपाल प्रहरी लागिपरेका छन् ।
यसबीचमा प्रधानमन्त्री सुशील कोइरालाले उद्धारकार्यलाई तीब्रता दिन निर्देशन दिनुभएको छ । स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई अन्यत्र जान आग्रह गरेको छ ।
थुनिएको नदी खोल्न अझै ढिलाई हुने हो भने यसले स्थिति अरु भयावह बनाउने त्रासमा स्थानीयबासी छन् । थुनिएको नदीले सो क्षेत्रलाई डुबानमा पार्ने त छँदैछ नदी एकैपटक खुल्यो भने तल्लो तटीय क्षेत्रलाई पनि तहस नहस पार्ने खतरा बढेको छ ।
सुनकोशी नदीको बाढीले सिन्धुपाल्चोक मात्र हैन रामेछाप जिल्लाका १० गाविसलाई प्रभाव पार्नसक्ने आँकलन गरिएको छ । सो पहिरोका कारण नदी थुनिँदा ३ किलोमिटर लम्बाइ, ३ सय फिट चौडाइ र ९० मिटरको गहिराइको ताल बनेको छ ।
बाढीलाई मध्यनजर गर्दै अरनिको राजमार्ग पूर्णरुपमा बन्द गरिएको छ । काठमाडौँबाट जाने सवारी साधनलाई दोलालघाट नजिकै वनदेउमा रोकिएको छ भने तातोपानीबाट काठमाडौँतर्फ आउँदै गरेका सवारी साधनलाई बाह्रबिसेमाथिको खोर्सानीबारीमा रोकिराखेको छ ।
पहिरोका कारण थुनिएको सुनकासीको बाँध फुट्ने त्रासले लामोसाँघुदेखि दोलालघाटसम्मका अरनिको राजमार्ग छेउछाउ र नदी आसपास बस्तीका बासिन्दा घर छोडेर सुरक्षित स्थानतर्फ भागिसकेका छन् ।
- See more at: http://www.nepaljapan.com
