तीन दलको मात्र समिति बने दाहाल संयोजक
दोस्रो संविधानसभा निर्वाचनलगत्तै उच्चस्तरीय राजनीतिक समिति गठन नगरे संविधानसभामै सहभागी नहुने चेतावनी दिएपछि भएको सहमति अनुसार समिति गठन नभएपछि एमाओवादीले संसद अबरुद्ध गर्ने चेतावनी दियो ।
एमाओवादीले तीन दलको बैठकमा उच्चस्तरीय राजनीतिक समिति बनाउने र त्यसको संयोजक स्थायी रुपमा अध्यक्ष पुष्पकमल दाहाललाई बनाउनुपर्ने प्रस्ताव गरिआएको छ । यस विषयले चर्को राजनीतिक विवादको रुप समेत लिएको छ ।
हरेक पटकको बैठकमा एमाओवादीले समिति गठनको प्रस्ताव गर्दैआएको छ । केही दिन अघिको बैठकमा सो प्रस्तावमा कांग्रेस-एमाले असहमतत भएपछि एमाओवादीले बैठक नै वहिस्कार गरेको थियो ।
यसबीचमा कांग्रेस र एमालेबीच पनि समिति गठन गर्ने विषयमा एकमत नभैरहेका बेला दाहालको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समिति गठन गर्न सहमत भएको समाचार छ ।
समाचार अनुसार सत्तारुढ दुई दल कांग्रेस, एमाले र एमाओवादी मात्र सम्मिलित समिति गठन गर्ने मनस्थितिमा रहे पनि एमाओवादीले भने उच्चस्तरीय समितिमा तीन दल मात्रै नभई मधेशवादी र जनजातिलाई पनि समेट्नुपर्ने शर्त अघि सार्दै आएको छ ।
समिति गठनका विषयमा एमाओवादीका नेताले दिएको जानकारी अनुसार विहीबार बिहान कांग्रेस र एमालेका तर्फबाट तीन दलीय समिति बनाउने प्रस्ताव आएको हो ।
सत्तारुढ दुई दलले कांग्रेस, एमाले र एमाओवादी मात्रै सम्मिलित समिति बनाएको खण्डमा मात्र दाहाललाई संयोजक बनाउन तयार रहेको बताइएको छ ।
