सादा पोशाकमा भटाभट फरार अभियुक्त पक्रर्दै प्रहरी
ईलाका प्रहरी कार्यालय लहानको गस्ती टोलीले आज मात्रै चार जना फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ। लागूऔषध मुद्दाका तीन यूवा र कुटपिट मुद्दाका एक बृद्ध पक्राउ परेका हुन्।
लहान नपा ६ का १८ बर्षीय अजय पासवान, पडरिया २ का अनिल चौधरी र पडरिया ४ का हृदयनारायण चौधरी लागुऔषध मुद्दाका फरार अभियुक्त छन्। तीनै जनालाई पक्राउ गरी आवश्यक कारबाही सुरु गरिएको प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए।
अनिल र हृदयलाई दुई/दुई बर्ष कैद र २/२ लाख जरिवानाको सजाय अदालतले तोकेको छ। अजयलाई अदालतले पक्राउ गर्न वारेण्ट जारी गरेपनि सजाय भने नखुलाइएको प्रहरीले जनाएको छ।
यस्तै कुटपिट मुद्दाका फरार अभियुक्त सोठियाईन गाविस ९ का ६४ बर्षीय रामदेव यादब पनि आजै पक्राउ परेका हुन्। उनलाई अदालतले ३ महिना कैद र १८ सय जरीवानाको सजाय तोकेको हो। प्रहरीका अनुसार यादबलाई अदालतले सजायको फैसला सुनाएपछि विगत लामो समयदेखि फरार थिए।
चारै जनालाई सादा पोशाकमा खटेको प्रहरीले पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक निरौलाले बताए। उनले भने, 'फरार अभियुक्त थुप्रै छन्। त्यही भएर पक्राउ गर्ने अभियान नै चलाएका छौं।'
फरार अभियुक्तहरु पक्राउ परिसक्दा अपराधिक क्रियाकलाप समेत नियन्त्रण हुने उनले जनाए। 'जहाँ जहाँ अपराधिक क्रियाकलाप हुने सम्भावना छ, ती सबै क्षेत्रमा निगरानी बढाएका छौं’, उनले थपे।
लहान नपा ३ स्थित होटल तथा लँजमा छापा मारेर आजै यौनधन्दामा लिप्त दुई जोडी, होटल मालिक र कुक म्यान गरी ६ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक निरौलाले बताए। अपराधिक कार्यमा संलग्न व्यक्तिहरु विशेष गरी होटल तथा लँजमा बस्ने गरेको प्रहरी भनाई छ।
