एक बोतल रक्सीको साढे चार लाख !




एउटै पसलबाट महिना दिनमा ६० लाखको रक्सी बिक्यो
 दसैंको मुखमा सर्वसाधारण जनता र बाढी पीडितहरु आर्थिक समस्यामा रुमलिइरहेका बेला काठमाडौंमा यस्तो रक्सी भित्रिएको छ, जसको ७ सय मिलिलिटरको एउटा बोतललाई साढे चार लाख रुपैयाँ पर्छ ।
फ्रान्सेली सम्राट लुई तेह्रौंका नाममा बनेको यो रक्सी फ्रान्सको कन्याक कम्पनीले उत्पादन गरेर काठमाडौं भित्र्याएको हो । यो मदिरा संसारभर अत्यन्तै धनाड्य वर्गले मात्रै उपभोग गर्दै आएका छन् ।
धनाढ्य नेपाली मदिरा पारखीलाई मध्यनजर गर्दै गत जुलाइमा लुई तेह्रौं नेपाल भित्र्याइएको ‘ग्रीन लाइन’का बजार तथा बिक्री प्रबन्धक सागर सापकोटाले अनलाइनखबरलाई जानकारी दिए ।
सापकोटाका अनुसार पछिल्लो समय नेपालमा ब्राण्डेड मदिरा सेवन गर्ने प्रवृत्ति बढ्दो छ । महंगो मूल्यका रक्सी पिउनेहरु नेपालमा बढेका छन् ।

कसैले किनेनन् लुइ तेह्रौं
जुलाइमै भित्र्याइएको भए पनि नेपाली बजारमा लुइ तेह्रौैं ब्राण्डी अहिलेसम्म बिक्री भएको छैन । ‘आशा गरौं दसैंमा चाहिँ बिक्छ कि !’ सापकोटाले भने -‘यो ब्राण्डीका बारेमा दैनिक चार/पाँच जनाले सोध्ने गरेका छन् ।’
सापकोटाका अनुसार यस्ता उच्चस्तरका ब्राण्डीहरु खासगरी संसारभर तारे होटलमा खपत हुन्छ । ‘तारे होटलहरुले एक प्याकको ३० हजार रुपैयाँसम्म बिक्री गर्छन्’ उनले भने ।
महंगा रक्सी तथा हृवीस्कीहरुमा रोयल स्यालूट ब्राण्डीचाहीँ नेपाली बजारमा बिक्री भएको सापकोटाले जानकारी दिए ।
‘गत वर्ष तीन बोतल रोयल स्यालूट ब्राण्डी बिक्री भएको थियो’ उनले भने -अब एक बोतलमात्रै बाँकी छ, यो बिक्री गर्दैनौ, सोपिसका लागि राखेका हौं ।
रोयल स्यालुटको मुल्य ३ लाख ३ हजार रुपैयाँ रहेको छ । बेलायतकी महारानी एलिजावेथले ‘रोयल सेरेमोनी’मा यो ब्राण्डी प्रयोग गरेकी थिइन ।
कुन रक्सी कति महंगो ?
नेपालमा उपलब्ध भएका मदिराहरुमध्ये लुइ तेह्रौं नै सबैभन्दा महंगो हो । ७ सय ५० मिलिलिटरको यो मदिराको नेपाली उपभोक्ता मुल्य ४ लाख ४५ हजार रुपैयाँ छ ।
त्यसैगरी दोस्रोमा कोन्याकको रोयल सेल्यूट हो । त्यस्तै गन सेल्यूटको ७५० मिलिलिटरको प्रतिबोतल २ लाख ९५ हजार र इज्ली अफ स्काइको ७५० मिलिलिटरको एक लाख रुपैयाँ पर्छ ।
ग्रीन लाइनमा पचार हजारभन्दा माथि र एक लाख रुपैयाँभन्दा कम मूल्य पर्ने करिब डेढ दर्जन ब्राण्डेल मदिरा रहेको सापकोटाले बताए ।
महंगा वाइन
ग्रीन लाइनले टूर ड्यूरोकमिलोन, बोटेडा एमरोन, इन्क्लेभलगायतका ब्राण्डेड महंगा वाइन बिक्रीका लागि राखेको छ ।
फ्रान्समा उत्पादित टूर ड्यूरोकमिलोनको ७५० मिलिलिटरको एक बोतलको मूल्य ११ हजार ६० रुपैयाँ रहेको छ । यो फ्रान्सको पोलाक राज्यमा उत्पादित वाइन हो ।
त्यसैगरी इटालीमा उत्पादित बोटेडा ब्राण्डको ७५० मिलिटरको प्रतिबोतल १० हजार र चिलीमा उत्पादित इक्लेभ वाइनको प्रतिवोतल ८ हजार ४ सय ९५ रुपैयाँ पर्छ ।
www.onlinekhabar.com

,

news and entertainment