आफूसंगै बस्न नमानेपछि श्रीमतीको हत्या
सुनसरीको इटहरीस्थित अरुण गेस्ट हाउसको बक्स पलङ्ग भित्र गत असोज २ गते मृत अवस्थामा फेला परेकी पाँचथर नागी गाविश २ घर भइ धरान १६ मा बसोबास गर्दे आएकी कुमारी सेन्देङ लिम्बुको दोश्रो श्रीमानबाटै हत्या भएको रहस्य खुलेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले कुमारीको योजनाबद्ध भएको हत्याका आरोपित पाँचथरको दुरदिम्बा १ का ३९ वर्षीय तेज बहादुर घिमिरेलाई सुनसरीको पकलीबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेपछि यस्तो रहस्य खुलेको हो ।
प्रहरीद्वारा पक्राउ अभियुक्त घिमिरेले विवाह गरेर शारिरिक सम्बन्ध गासिसकेको श्रीमती आफूसँगै बस्न नमानेपछि योजनाबद्ध रुपले इटहरीको अरुण गेस्ट हाउसमा बोलाई ९ नं को कोठामा घाटी थिचेर हत्या गरेको स्विकारेको अभियुक्तलाई उद्धत गर्दे इटहरी प्रहरीले जनाएको छ ।
घिमिरेले पटक पटक सँगै बस्ने आग्रह गरेपनि लिम्बुले आफ्नो ११ वर्षे छोरो र परिवार छाड्न नसक्ने अडान कायमै राखेपछि उनलाई मार्ने योजना बुन्न थालेको प्रहरीले अनुसन्धानबाट खुलेको बताएको छ ।
पाँचथरको नागी २ का लोकबन्धु लिम्बुसँग वैवाहिक बन्धनमा बाँधिएकी लिम्बुले पुनः ६९ सालमा इटहरीकै राधाकृष्ण मन्दीरमा अभियुक्त घिमिरेसँग दोश्रो विवाह गरी सँगै बस्दै आएको र पछि वैदेशिक रोजगारबाट फर्किएका उनको श्रीमानले घिमिरेसँग छुटाएर लगेपछि उनलाई मार्ने योजना बनाएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
छुटाएर लगेपनि श्रीमान वैदेशीक रोजगारीमा लागेपछि लिम्बु पुनः घिमिरेको नजिक हुन पुगेको र त्यसैको बिचमा पटक–पटक शारिरिक सम्पर्कसमेत भएको अवस्थामा पनि आफूसँगै बस्न नमानेपछि अभियुक्तले अन्ततः लिम्बुको हत्या गरी गेस्टहाउसको बक्स पलङ्ग भित्र लास लुकाई आफू फरार हुने क्रममा सुनसरीको पकलीबाट पक्राउ परेको इटहरी प्रहरी प्रमुख डिएसपी बिनोद कुमार शर्माले बताए ।
पक्राउ परेका घिमिरे बिरुद्ध शुक्रबार नै ज्यान सम्बन्धि मुद्दा दर्ता गरिएको इटहरी प्रहरी प्रमुख डिएसपी शर्माले बताए ।
यता मृतक लिम्बुको ११ वर्षे एक छोरा र श्रीमान रहँदै आएका छन् ।