नक्कली नोठदेखि सावधान : एभरेष्ट बैंकको ट्याग लगाइएको हजारको बण्डलमा भेटियो नक्कली नोट



काठमाडौं, कात्तिक १७–एभरेष्ट बैंकले भुक्तानी गरेको रकममा नक्कली नोट भेटिएको छ । सो बैंकको छापसहितको ट्याग हालिएको एक हजार दरको सिल नतोडिएको बण्डल (एक लाख) मा एउटा नक्कली नोट भेटिएको हो ।

सोमबार बिहान राजधानीको सामाखुसीमा अवस्थित जेष्ठ सहकारीका कर्मचारी रकम डिपोजिटका लागि यति विकास बैंक पुग्दा सो बण्डलभित्र नक्कली नोट भएको भन्दै बैंकका कर्मचारीले फिर्ता पठाइदिएका थिए । रकम जम्मा गर्न बैंक पुगेका सहकारीका कर्मचारी ओम ढकालका अनुसार सबै रकम चेकजाँच गर्दै जाँदा बैंकका कर्मचारीले बण्डलभित्र नक्कली भेटेका थिए । सो रकमको बण्डलमा एभरेष्ट बैंकको छापसहित ट्याग लगाइएको छ ।

नक्कली नोट कसरी सहकारीसम्म आइपुग्यो भन्ने स्पष्ट हुन नसकेपनि ग्राहकहरुमार्फत सहकारीमा डिपोजिट भएको हुनसक्ने आशंका गरिएको छ । कर्मचारी ढकालका अनुसार ग्राहकहरुले डिजोजिट गर्न ल्याएको रकम चेकजाँच गर्न आफूहरुसँग मेसिन नभएको र कुनै ग्राहकमार्फ नै नक्कली नोटसहितको बण्डल जम्मा भएको हुनसक्ने बताए ।

तर, उनले एभरेष्ट बैंकको ट्याग हालिएको बण्डलमा नक्कली नोट भेटिनु आश्चर्यजनक रहेको बताए । यसरी बैंकको ट्याग लगाईएको बन्डलमा नक्कली नोट भेटिने केश भने नौलो होईन । जेष्ट सहकारीका प्रबन्ध निर्देशक मधुसुधन पाठक भन्छन्–‘लगातार यस्ता नक्कली नोट भेटिने गरेको छ, सम्बन्धित निकाय के गर्छ कुन्नी ?’ उनले दुईदिन अघि पनि ‘क’ वर्गकै बैंकको पाँच सयको बन्डलबाट नक्कली नोट भेटिएको बताए ।

जवकी बैंकमा नक्कली नोट जाँच्ने मेशिन हुन्छ भने डिपोजिट गर्नेले आफ्नो खाता नम्बर लेख्नुपर्ने हुन्छ । प्रबन्ध निर्देशक पाठकका अनुसार प्रायः नयाँ नोटको बन्डलमा यो खाले समस्या देखिएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुमा रकम नक्कली वा सक्कली छुट्याउने मेसिन हुन्छ । तर, एभरेष्टजस्तो बैंकको ट्याग हालिएको हजार दरको बण्डलमा नक्कली नोट भेटिनुलाई आश्चर्यजनक रुपमा हेरिएको छ ।
नक्कली भेटिएको सो नोट निकै पातलो र हेर्दैमा फिक्का देखिन्छ । जसको संकेत ग४ ७४७५०६ रहेको छ ।

यसैबीच विभिन्न बैंकहरुले रकम भुक्तानीमा गडबडी गर्दै आएको पाइएको छ । ति बैंकहरुले रकम भुक्तानीका क्रममा कम नोट दिने तथा बण्डलभित्र च्यातिएका नोट समेत राखेर दिने गरेको सेवाग्राहीहरु बताउँछन् ।

सेवाग्राहीका अनुसार धेरै रकम भुक्तानी लिँदा एकएक गरी रकम नगनी काउन्टरमा बण्डलमात्रै गन्ने गरिन्छ । तर, पछि नोट गिन्ती गर्दा १ –२ ओटा नोट अपुग हुने तथा बिचबिचमा च्यातिएका नोटहरु राखिने गरेको पाइएको उनीहरुको भनाई छ । पछि रकम अपुग भयो भनेर बैंकको छापसहितको सिल नतोडिएको रकम लिएर गएपनि कर्मचारीहरुले विभिन्न बहाना बनाएर भुक्तानी नदिने गरेको उनीहरुको दाबी छ ।

नक्कली नोट भेटिएको जेष्ट सहकारीकै कर्मचारीहरु पनि आफूहरुले पनि यस्ता समस्याहरु भोग्दै आएको बताउँछन् । आफूहरुले विभिन्न समयमा विभिन्न बैंकबाट भुक्तानी लिएका बण्डलहरुमा तोकिएको भन्दा कम परिमाणमा नोटहरु हुने गरेको पाइएको उनीहरु बताउँछन् । तर, पछि रकम अपुग भयो भन्दै बैंकमा गइएपनि रकम नदिइने गरेको कर्मचारीको दाबी छ ।

http://www.zestkhabar.com

,

news and entertainment