रगत आएको १ सय ३७ वर्षपछि नाला भगवतीबाट पसिना



धुलिखेल : काभ्रेको उग्रचण्डी नाला- ४ मा रहेको उग्रचण्डी नाला भगवतीको मूर्तिको शिलाबाट रगत आएको एक सय ३७ वर्षपछि पसिना आएको छ।

मन्दिर व्यवस्थापन समिति तथा मन्दिरका पुजारी सिद्धिबहादुर कर्माचार्यका अनुसार शनिबार दिउँसो एक बजेबाट एक्कासि भगवतीको मूर्तिको शिलाबाट पसिना आएको थियो। भगवतीलाई पसिना आएपछि त्रसित बनेको मन्दिर व्यवस्थापन समिति तथा पुजारीहरूले पुराना दस्तावेज खोजेका थिए।

यसअघि १८७७ साल तथा पुस ४ गते शनिबारको दिन भगवतीको मूर्तिमाथिबाट रगत खसेर भगवतीको ढाडमा परेको थियो। सोही वर्ष माघ ३० गते पनि शरीरको बीच भागबाट रगत आएको थियो। यसरी भगवतीको शरीरबाट रगत बगेपछि तत्कालीन अवस्थामा हैजा लागेर धेरै नालावासीको मृत्यु भएको स्थानीयवासी बताउँछन्।

हैजा लागेर धेरैको मृत्यु भएपछि जप गरी भगवतीको जात्रा गरिएको थियो। उनले भगवतीलाई पसिना आएपछि हुन सक्ने अनिष्टबाट जोगाउनका लागि राज्यस्तरबाट नै ठूलो खालको पूजाआजा गर्नुपर्ने इतिहास तथा संस्कृतिविद् ज्ञानकाजी मानन्धरले बताए।

भगवतीको मूर्तिको शिलाबाट पसिना आएपछि त्रसित बनेका स्थानीयवासी र मन्दिर व्यवस्थापन समितिले आउन सक्ने सम्भावित समस्याबाट बच्नका लागि गर्न सकिने विभिन्न उपायका बारेमा छलफल गर्ने भएको छ। समितिले आगामी सोमबार उक्त विषयमा छलफल गर्ने कार्यक्रम तय गरेको छ।

भगवतीलाई पसिना आएपछि झन्डै दस हजार सर्वसाधारण मन्दिरमा दर्शन गर्न आएको कर्माचार्यले बताए। उनले भगवतीलाई पसिना आएपछि क्षमापूजा गर्ने प्रस्ताव गाउँलेबाट आएको बताए। पलाञ्चोक भगवती, शोभा भगवतीलगायतका चार भगवतीमध्ये नाला भगवती पनि एक महत्त्वपूर्ण भगवतीको रूपमा मानिन्छ।


annapurnapost.com

,

news and entertainment