शालीनदी स्वस्थानी मेलामा एक महिनासम्म ‘झोला’ प्रदर्शन गरिने
काठमाडौं, पुस १६ – पौष शुक्ल पुर्णिमाको दिनबाट काठमाडौंको साँखु स्थित सालिनदीमा लाग्ने स्वस्थानी मेलाको अवसर पारेर सति प्रथाको ऐतिहासिक कथामा आधारित मौलिक नेपाली चलचित्र ‘झोला’ को एक महिने सो तय भएको छ ।
चलचित्र युनिटले दिएको जानकारी अनुसार स्वस्थानी ब्रत सुरु हुने यही पौष २१ गतेबाट माघको २० गतेसम्म उक्त मेलाको अवसर पारेर ‘झोला’को सो आयोजना हुन लागेको हो । निर्माण युनिटले कुनै पनि मेला लक्षित गरेर यती लामो समयसम्म चलचित्र प्रदर्शन हुन लागेकोमा नेपालमै पहिलोपटक भनेको छ ।
मंगलवार साँखुमा आयोजित एक कार्यक्रमका बीच सिनेमा युनिट र माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको सहकार्यमा चलचित्र प्रदर्शनको लागी सम्झौता भएको जानकारी गराईएको थियो । कार्यक्रममा बोल्दै आयोजक समितिका अध्यक्ष दिलिपकुमार श्रेष्ठले चलचित्रमा पुरानो नेपाली समाजको यथार्थ कथा रहेको स्वस्थानी ब्रत कथामा समेत जोडिएका धेरै पक्षहरु मेल खाने भएकोले पनि यो चलचित्र नै रोजिएको बताए ।
त्यस्तै ‘झोला’ निर्देशक यादवकुमार भट्टराईले महिला हिंसा बिरोधी आवाज बुलन्द गरेको यो चलचित्र नेपालीले हेर्नै पर्ने चलचित्र रहेको भन्दै सार्वजनिक प्रदर्शनमा आउँदाको समयमा विशेष कारणबस हलमा पुगेर हेर्न नपाएका दर्शकको लागी यो मेलाको सो एक अवसर पनि रहेको जनाए ।
मेलामा बर्सेनी २५ लाखदेखी ३० लाखसम्मको बीचमा श्रद्धालु भक्तजनहरु सालीनदीको जल सेचनसँगै आफ्नो मनोकामनाको पुर्णताको कामना गर्दै दर्शनको लागी आउने गरेको आयोजक समितिले जनाएको छ । जसमा यो बर्षदेखी पहिलो पटक चलचित्र प्रदर्शनको तयारी गरिएकोले कम्तिमा पनि ६० हजार ले चलचित्र हेर्ने अपेक्षा गरिएको छ ।
चलचित्र प्रदर्शनको लागी बाँसबाट निर्मित छुट्टै हल तयार हुँदैछ । जहाँ ५ सय सिटको ब्यवस्था रहेको छ । जहाँ दिनमा पाँच सो सम्म चलचित्र देखाउने लक्ष्य आयोजक तथा चलचित्र युनिटको छ ।
९० मिनेट लामो यो चलचित्र हेर्न जम्मा १ सय रुपैयाँ टिकट शुल्क निर्धारण गरिएकोमा चलचित्र हेर्ने मध्ये वृद्धवृद्धा तथा विद्यार्थीलाई यो शुल्कमा पनि ५० प्रतिशतको छुट दिईने चलचित्रमा निर्माता राज तिमिल्सिनाले जानकारी दिए ।
साहित्यकार कृष्ण धारावासीको साहित्यिक कृति’झोला’ माथी रहेर नै यो चलचित्र तयार भएको हो । चलचित्रमा मालती शाह, रामगोपाल थापा र सुशिल शाहको लगानी छ भने गरिमा पन्त, सुजल नेपाल, दीपक क्षेत्री, लक्ष्मी गिरी, देशभक्त खनालको मुख्य अभिनय रहेको छ । मेलामा सो चल्दै गर्दा चलचित्रका कलाकार हरु समेत विशेष दिन पारेर उपस्थित गराउने निर्माण टिमले बताएको छ ।
