‘ओलीका लागि प्रधानमन्त्री भन्दा अडान प्यारो’


सहमतिका लागि अपमान सहेँ, अब केको गिफ एण्ड टेक ?

२६ पुस, काठमाडौं । एमाओवादी र मधेसी मोर्चासँग टक्कर लिँदा र कांग्रेसलाई समेत लतार्न खोज्दा प्रधानमन्त्री बन्न कठिन छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले बुझेका रहेछन् ।
शनिवार बल्खुस्थित एमाले मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले मुखै खोलेर भने-‘प्रधानमन्त्री पदमै ध्यान भएको भए त राष्ट्रिय एकताको पक्षमा अडान लिने थिइँन होला ।’
ओलीको यो भनाइले धेरै अर्थ लगाउँछ । माघ ८ मा संविधान जारी गर्नुपर्छ भन्दा सरकार परिवर्तनको हतारो गरेको अर्थ लगाइएकोमा एमालेले पत्रकार सम्मेलनमा विज्ञप्तिमार्फत नै खण्डन समेत गरेको छ ।
अध्यक्ष ओलीले आफूले माघ ८ मा संविधान जारी गर्ने बाहेक त्यसको भोलिपल्ट के गर्ने भन्ने नसोचेको पत्रकारहरुलाई बताए । उनले आफूलाई प्रधानमन्त्री बन्ने हतारो नभएको दोहोर्‍याउँदै भने-‘त्यस्तो हुन्थ्यो भने धेरै कुरामा अडान होइन, सम्झौता गरिन्थ्यो ।’


ओलीले सत्ता साझेदार कांग्रेसप्रति पनि अप्रत्यक्ष कटाक्ष गर्न बाँकी राखेनन् । कांग्रेसका केही नेताले आफ्नो एजेण्डामा एमाले आएको भनेकोमा उनले त्यसलाई अस्वीकार गरे ।
कांग्रेस एमालेको गठबन्धन भत्काउन सके माघ ८ मा संविधान आउँदैन भनेर केहीले खेल्न खोजेको भन्दै उनले सानातिना कुरामा आफू नफस्ने बताए ।
केको गिभ एण्ड टेक ?
तर, प्रधानमन्त्री सुशील कोइरालाले दुवै पक्षलाई विन विनको अवस्था आउने गरी गिभ एण्ड टेक गर्ने भनेकोमा चाहिँ ओलीको फरक धारणा रहेछ ।
कोइरालाको नाम नलिई ओलीले भने-‘देशको हितमा केको गिभ एण्ड टेक ? के को विनविन ? भौगोलिक अखण्डता, सामाजिक सद्भाव र मुलुकको सम्बृद्धि हुने बाहेक अरु कुरामा गिभ एण्ड टेक हुँदैन ।’
उनले संविधान आलु प्याज किने जस्तो होइन भन्दै यसमा बार्गेनिङ र गिभ एण्ड टेक नहुने धारणा व्यक्त गरे ।
कुस्ती खेल्ने भए अखडामा जाऊ
अध्यक्ष ओलीले केही सभासदहरुले होहल्ला गरेर विरोध जनाए पनि बिरोधका बीच संविधान जारी गरिने बताए । उनले संख्यालाई केेही होइन भन्ने हो भने संविधानसभाको औचित्य नरहने स्पष्ट पारे ।
‘उहाँहरु भिडन्त गर्ने, रक्तपात गर्ने भन्दै हुनुहुन्छ । कुस्ति खेल्ने, भिड्ने हो भने त्यस्तै अखडामा गए हुन्छ, संविधानसभामा त संविधानको कुरा हुन्छ’ ओलीले भने ‘संविधान त जसरी पनि जारी हुन्छ ।’
अपमान सहेर बसेको छु
ओलीले मधेसी मोर्चासँग माफी नमाग्ने अडान पुनः दोहोर्‍याए । उनले आफूले संविधानसमा सहमति जुटाउनका लागि पटक-पटक अपमान सहनुपरेको गुनासो गरे ।
‘माफी त मैले होइन, उहाँहरुले माग्नुपर्ने हो, कहिले को बुरुक्क उफ्रेर हिँड्छ, कहिले को उचालिन्छ, बाहिर तथानाम गाली गरेका छन्, मेरो अपमान गर्नेले माफी माग्ने कि मैले ?’ ओलीले भने-‘सहमतिका लागि एक वर्षदेखि अपमान सहिएको छ, कहिले महेन्द्रीय भनेका छन्, कहिले ०४७ सालको संविधान ल्याउन खोज्यो भनेका छन् ।’
ओलीले झापा मोरङलाई कुन प्रदेशमा राख्ने भन्ने कुरा त्यहाँका जनता र जनप्रतिनिधिले निधो गर्ने हो भन्दै अरुले बोल्न नपाउने प्रष्ट पारे ।

,

news and entertainment