कमल थापाको पुत्ला जल्यो
१७ पुस, काठमाडौं ।
राप्रपा नेपालको रथयात्रा राजधानी आउने क्रममा राप्रपा नेपाल सुदृढीकरण अभियानले विरोध स्वरुप कमल थापाको बिहीबार पुत्ला दहन गरेको छ ।
संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रमा संझौता गरेको भन्दै राप्रपा नेपालका विद्रोही समूहले अध्यक्ष थापालाई बिहान थानकोटमा कालो झण्डा समेत देखाएका थिए ।
रथयात्रा प्रवेश गर्ने समयमा सुदृढीकरण अभियान पक्षधरले हिन्दू राष्ट्र जिन्दावाद, भ्रष्ट कमल थापा मुर्दावाद, राप्रपा नेपाल जिन्दावाद भनेर नाराबाजीसमेत गरेका थिए ।
विरोध प्रदर्शनको क्रममा आयोजित कोण सभालाई सम्बोधन गर्दै सुदृढीकरण अभियानका नेता प्रल्हाद साहले भने, ‘२४ सभासद चयन गर्दा करौंडो भ्रष्टाचार गरेका कमल थापाले हिन्दू राष्ट्रको नाममा व्यापार गरिरहेका छन् । थापा असली राजावादी होइनन्, हिन्दू राष्ट्रवादी पनि होइनन् उनी त केवल अवसरवादी मात्र हुन् जो कुरा रथयात्राको क्रममा सार्वजनिक गरिएको संकल्प प्रस्तावबाट पनि पुष्टी हुन्छ ।’
रथयात्राको बेला जारी संकल्प प्रस्तावमा थापाले संवैधानिक राजतन्त्र उल्लेखै नगरेर पुरानो अवसरवादी मुसा प्रवृति प्रदर्शन गरेकोले अब जनता, कार्यकर्ता नक्कली राजतन्त्रवादी र नक्कली हिन्दू राष्ट्रवादीको पछि नलाग्ने नेता साहको दावी थियो ।
सम्बोधन कै क्रममा साहले पार्टीको मूलभूत सिद्धान्तमा संझौता गरेर थापा सरकारमा जान तमतयार रहेको आरोप लगाए । ‘भ्रष्ट कमल थापालाई तह लगाउन जनता जागेर सामाजिक बहिष्कार गर्नुपर्दछ,’ साहले भने ।
