वैज्ञानिकले पत्ता लगाए शक्तिशाली एन्टिबयोटिक
क्षयरोगको उपचारमा अहिले प्रयोग भैरहेको औषधिको प्रभावकारिता घट्दै गएको र क्षयरोगको जिवाणु औषधि प्रतिरोधी बन्दै जाँदा जटिलता थपिइरहेको बेला वैज्ञानिकहरुले महत्वपूर्ण सफलता हात पारेका छन् ।
एन्टिबायोटिक प्रतिरोधी क्षयरोगको जिवाणुको विकाश हुँदै गएको अवस्थामा बढेको चुनौतिका बीच वैज्ञानिकहरुले एउटा नयाँ एन्टिबायोटिकको विकाश गरेका छन् जसले क्षयरोगको जिवाणुलाई समूल नष्ट गर्न सक्छ ।
प्रयोगशालामा मुसामा यो औषधिको प्रयोग गरिएको छ । प्रयोगशालामा परिक्षणका क्रममा यो एन्टिबयोटिकको प्रयोगले ट्युबरकुलोसिस तथा स्टाफिलोकोकस जिवाणुका साथै एन्थ्राक्स र क्लोस्टि्रडियम डिफिसाइल जस्ता जिवाणुको औषधि प्रतिरोधी जातलाई समेत नष्ट गरेको पाइएको छ । यद्यपि मानिसमा यसको चिकित्सकीय प्रयोगका लागि अझै ५-६ वर्ष लाग्छ सक्छ ।
नेचर जर्नलमा छापिएको समाचार अनुसार यो नयाँ एन्टिबायोटिकको मानवमा समेत परीक्षण सफल भएमा यसले ब्याक्टेरियाजन्य रोगविरुद्धको लडाइँमा नयाँ सफलता हासिल हुनेछ ।
यो नयाँ एक्टिबायोटिकको नाम टिजोब्याक्टिन राखिएको छ, जुन माटोमा पाइने एक प्रकारको व्याक्टिरियाले निकाल्ने प्राकृतिक जिवाणु प्रतिरोधी यौगिकबाट बनाइएको छ ।
अमेरिकाको नर्थइस्टर्न विश्वविद्यालयका वैज्ञानिकहरुले नोभोबायोटिक फार्मा कम्पनीको आर्थिक सहयोगमा नयाँ एन्टिबायोटिकको विकाश गरेका हुन् । यो एन्टी बायोटिक मुसामा प्रयोग गर्दा यसको साइड इफेक्ट समेत नदेखिएको शोधकर्ता किम लेविसले बताए ।
यो एन्टीबायोटिकले ब्याक्टेरियाको कोष भित्तामा रहेको फ्याट्टी अणुलाई बाँध्ने भएकाले त्यसपछि उक्त ब्याक्टेरिया उत्परिवर्तन भएर नयाँ खालको प्रतिरोधी ब्याक्टेरियामा विकशित हुने जोखिम न्यून हुने बताइएको छ ।
