भ्यालेन्टाइन डे कै दिन विवाह मन्डपबाटै बेहुला भागेपछि....
३ फागुन, काठमाडौं । आफैंले मन पराएर जीवनसाथी बनाउन लागेको बेहुली छोडी बेहुलो नै मण्डपबाट भाग्यो भन्दा पत्याउन निकै गाह्रो पर्छ । तर, शनिबार काठमाडौंको बत्तीसपुत्तलीस्थित राम मन्दिरमा यस्तै अपत्यारिलो घटना भएको छ ।
तामझामका साथ आएका झापाका एक युवक आधा विवाह सकिएपछि मण्डपबाटै भागेका छन् । कुनै कारण नबताई बेहुलो भागेपछि बेहुली पक्षधर भने मर्माहत बन्न पुगेका छन । झापा कुमरखोद स्थायी घर भएका नेत्रप्रसाद काफ्ले शनिबार दिउँसो पागलको नाटक गरी विवाह मण्डपबाट भागेका हुन् ।
उनी बेहुला बनेर झापा बुधबार स्थायी घर भई हाल गुहेश्वरी बस्दै आएकी खतिवडा थरकी युवतीलाई बेहुली बनाएर आफ्नो घर भित्र्याउन राम मन्दिर आएका थिए । विवाहका लागि सबै सामग्री तयार पारी जन्तीसहित बेहुली लिन राम मन्दिर पुगेका बेहुला काफ्ले एक्कासि पागलको नाटक गरी मण्डप छोडेर हिँडेका हुन् ।
‘पागल भएको नाटक गरी विवाह मण्डपबाट एक्कासी बेहुला (काफ्ले) भागे,’ घटनाका प्रत्यक्षदर्शीले भने । बेहुला मण्डप छाडेर हिँडेपछि बेहुलीका आफन्त न्याय माग्दै प्रहरी कार्यालयमा पुगेका छन् ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार तामझामका साथ मन्दिर प्रवेश गरेका बेहुलाको केटीपक्षले पनि राम्रो स्वागत सत्कार गरेका थिए । तर, के कुरामा चित्त बुझेन कुन्नी, उनी त विवाह आधा हुनलाग्दा पागलजस्तो नाटक गर्न थाले । त्यति मात्र होइन, विवाह मण्डप नै छाडेर हिँडेपछि बेहुली पक्ष समस्यामा परेका हुन् ।
मन्दिरमा बेहुलाले गर्ने कर्म गरिरहेकै बेला उनी एक्कासि पागल भएको नाटक गर्न पुगे । अभिनय गरिरहेका बेहुला मण्डप नै छाडेर हिँडेपछि जन्ती र केटी पक्षका आफन्तहरु अलमल भएका थिए । बेहुला काफ्लेले मण्डप छाडेपछि आफन्तहरुले उनलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगेका थिए । तर, अस्पतालले उनमा कुनै रोग देखा नपरेको बताएको छ । आजको राजधानीमा खबर छ ।
