हुनेवाला श्रीमतीको नाम बिर्सेपछि २० महिना कैद

एजेन्सी । बेलायतको एक अदालतले हुनेवाला दुलहीको नाम बिर्सने एक युवासहित तीन जनालाई २० महिना कैद सजाय सुनाएको छ । अदालतले अध्यागमन अपराधमा सजाय सुनाएको हो ।

घटना गएको अक्टुबरको हो । जुबेर खान नामका पाकिस्तानी युवा, जो बेलायतमा बस्छन्, उनी विवाह समारोहअघि विवाहलाई कानुनी दर्ता गर्न सरकारी निकायमा पुगे ।

तर, आफ्नी भावी दुलहीको नाम भने बिर्सन्छन् । उनले आफ्नो बिहे गराइदिने मध्यस्थकर्तालाई व्यक्तिलाई फोन गरी भावी दुलहीको नाम सोधे ।


यसमा रजिस्ट्रारलाई शंका हुन्छ । रजिस्ट्रारले गृह प्रशासनका अधिकारीलाई यसबारे सूचना दिन्छन् । त्यसको लगत्तै जुबेर उनको विवाह गराइदिने अरु दुईजनालाई प्रहरीले गिरफ्तार गर्छ ।

जुबेर बेलायतकै एक कलेजका छात्र हुन् । तर, उनको स्टुडेन्ट भिसा सकिएको थियो । बेलायतमा रहनकै लागि उनले बेलायतमा बस्ने अनुमति पाएकी हंगेरियन महिला बिटा जिलाग्गीसँग काजगी विवाह गर्ने प्रपञ्च रचेका थिए ।
समाचारअनुसार हल क्राउन कोर्टले जुबेरलाई २० महिना, उनकी हुनेवाला श्रीमती जिलाग्गीलाई १७ महिना र यिनीहरुको विवाह गराउन खोज्ने बिचौलिया खालिक दाद खानलाई २० महिनाको कैद सजाय सुनाएको छ ।

बेलायतमा बस्ने अनुमति पाएकी बिटा जिलाग्गी सिंगल मदर हुन् । बेलायतमा कुनै रोजगारी नपाएपछि उनले पैसा लिएर जुबेरलाई सहयोग गर्न तयार भएकी थिइन् ।

उनले जुबेरसँग कागजी विवाह गरेबापत दुई हजार पाउन्ड लिने सहमति भएको थियो । तर, यो सबै काम बिचौलिया खालिक दाद खानले गरेका थिए । जुबेर र जिलाग्गीबीच भने कुनै कुराकानी भएको थिएन ।

news and entertainment