यस्तो रह्यो सेना दिवसको विशेष समारोहको रोचक दृश्य

राष्ट्रपति डा रामवरण यादव महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएका छन्।

सो अवसरमा राष्ट्रपति डा यादवले त्यहाँस्थित वीर स्मारकमा माल्यार्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरेका थिए । राष्ट्रपति डा यादव नेपाली सेनाका परमाधिपतिसमेत हुन्।



 



राष्ट्रपति डा यादवले नेपाली सेना, सैनिक जनसम्पर्क निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही’ नामक वार्षिक पत्रिकाको विमोचन गर्नुका साथै फ्रि फल जम्पका विजयीलाई पुरस्कार प्रदान गरेका थिए।

फ्रि फल जम्पमा प्रमुख सेनानी ध्रुवप्रकाश शाह प्रथम भए। द्वितीय पुरस्कार सुवेदार दिल्लीबहादुर खत्रीले प्राप्त गरे। नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

समारोहमा सेनाले निशान प्रदान कवाज, महाशिवरात्रि बढाइँ कवाजका साथै मार्चपास, सैनिकसम्बन्धी विविध कला, नृत्य र सङ्गीतको धून प्रदर्शन गरेको थियो ।

समारोहमा राइफल बढाइँअन्तर्गत छिटो लहरे, अर्धचन्द्र र क्रसिङ बढाइँ तथा तोपबाट समेत बढाइँ प्रस्तुत गरिएको थियो ।

उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरिएको थियो । समारोहमा राजदल गणद्वारा पन्ध्र तोपको लहरे तथा पाँच तोपको एकठ्ठा बढाइँ पनि गरिएको थियो ।

त्यस्तै, युद्धभैरव गणद्वारा आतङ्ककारी विरुद्धको सफल कारबाही र उपत्यका पृतनाद्वारा खुकुरी ड्रिल प्रस्तुत गरिएको थियो । समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्नखालका सवारी साधन र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।

समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला र सभामुख सुवास नेम्वाङ पनि सरिक थिए।

मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि र समाजका लब्धप्रतिष्ठित महानुभावको पनि सो अवसरमा उपस्थिति थियो।

news and entertainment