राजधानीमा फस्टाउँदै 'कोठी'

एक वर्षअघि चितवनबाट काठमाडौं आएकी रविना तामाङ (नाम परिवर्तन) रोजगारीको खोजीमा चिनजानकी दिदीकोमा पुगिन्।
दिदीकै फ्ल्याटमा बस्न थालिन्। त्यहाँ विभिन्न खालका मान्छे आउँथे। उनीहरुलाई खुसी बनाउने जिम्मा रविनालाई दिइन् दिदीले।
सुरूमा रक्सी सर्भ गर्न लगाइन्थ्यो,पछि उनको जवानी नै दिनुपर्ने अवस्था आयो। रोजगारीको आसमा काठमाडौं छिरेकी उनी एक किसिमको कोठीको दुनियाँमा हराइन्। दुःख पनि नहुने र पैसा पनि हुने भन्दै चिनजानका दिदीहरुले उनलाई यस्तो काममा लगाएका थिए, आजको नयाँ पत्रिकामा नवराज मैनालीले रिपोर्ट लेखेका छन्।


कमजोर आर्थिक अवस्था भएकाले उनले पनि बाध्य भएर त्यही पेसा अँगाल्न थालिन्। पछि चिनजानकै एक व्यक्तिले रविनालाई त्योभन्दा राम्रो काम र कमाइ हुने भन्दै दरबारमार्गको लिप्स डान्सबारमा पुर्‍यायो। बेलुका उनी डान्सबारमा नाच्थिन्, पछि ग्राहकसँग जान बाध्य बनाइन्थ्यो।
सोही डान्सबारमा डान्सरका रुपमा काम गर्ने साथी सुरेश कार्की मग्रातीले उनलाई ग्राहकसँग जान लगाउँथ्यो। तिनै मग्रातीले रविनालाई महेन्द्रनगरमा आफ्नो साथीको डान्सबार भएको र त्यहाँ राम्रो कमाइ हुने आश्वासन दिए। पछि उनले त्यहाँको डान्सबारमा आफूलाई बेच्न लागेको थाहा पाएपछि जान अस्वीकार गरिन्।
राजधानीमा रविनाजस्ता सयौं युवती छन्। काठमाडौंमा युवतीलाई राखेर मोलतोल गरी यौन धन्दामा लगाइने सयौ अखडा खुलीसकेका छन्। प्रहरीले त्यसमा कुनै चासो देखाएको छैन।
जो सुखी जीवनको सपना देखेर सहर छिर्छन्,जागिर खोज्छन्,काम नपाएपछि रात्रिकालीन व्यवसाय हुँदै वेश्यावृत्तिमा लाग्छन् । कतिपय खुसीले लागेका छन् भने कतिपयको किनबेच हुने गर्छ । गाउँका सोझा युवतीलाई कोठी र डान्सबारमा ल्याएर एजेन्टहरुले बिक्री गर्ने गरेका घटना सार्वजनिक हुन थालेका छन्।
प्रकाशित मिति: शनिबार, फाल्गुण २, २०७१

news and entertainment