आफ्नै आमाले गरे तीन छोराछोरीको हत्या

राजविराज, फागुन २

आमा नै छोरा–छोरीको हत्यारा बनेपछि अब कसको विश्वास बाँकी रह्यो र ? कसले सोच्या होला, १० महिनासम्म गर्भमा राखेर जन्माएका छोराछोरीको आमाले नै ढुङ्गामा राखी घाँटी बटारी पानीमा फ्याक्लिन् भन्ने ?

सप्तरीमा एक निर्दयी आमाले तीनजना छोरा–छोरीको हत्या गरेको स्वीकार्दै जेल पुगेकी छन् । तेरहौता–३ की २६ वर्षीया कुडी भनिने सजनदेवी सदाले आफ्नै कोखबाट जन्मेका छ वर्षीय सन्तोष सदा, तीन वर्षीया नन्दनी र छ महिनाकी अञ्जलीलाई हत्या गरेको स्वीकार्दै अदालतमा बयान दिएपछि जेल पुगेकी हुन्, आजको अन्नपूर्णमा मनोहरकुमारले खबर लेखेका छन्।

सप्तरीको बैरबा–३ स्थित कोसी नदीको पश्चिम तटबन्धको पूर्वतर्फ जमेको पानीमा तीन बालबालिकाको शव गत पुस १९ गते भेटिएका थिए । पानीमा तीनजना छोराछोरीको लाश तैरिएको भेटिएपछि उनीहरुकी आमालाई सुनसरीको हरिपुर–१ बाट माघ २ गते प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो ।

विक्षिप्त अवस्थामा पक्राउ परेकी सजनदेवीलाई ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार गराएपछि इलाका प्रहरी कार्यालय कञ्चनरुपले माघ ४ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

आरोपितले आफू विरामी भएपछि छोराछोरीले पाल्न नसकेका बेला ससुराले कुटपिट गर्नुका साथै बलात्कार गर्ने गरेको विलौना सुनाइन् । उनले ससुराको अत्याचारबारे पतिलाई सुनाउँदा विश्वास नगरेकाले छोराछोरीलाई मारी आफू पनि मर्ने सोंचले पालैपालो तीन छोराछोरीको हत्या गरेकोबताइन् ।
प्रकाशित मिति: शनिबार, फाल्गुण २, २०७१

news and entertainment