भारतका पूर्वगुप्तचर प्रमुख माथुर सबै नेतालाई भेटेर भनिरहेका छन्, ‘अबको प्रधानमन्त्री तपाईँ -
काठमाण्डु, १३ असोज– भारतीय बाह्य गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ‘र’का पूर्व उच्च अधिकारी एबी माथुर एक सातादेखि काठमाण्डुमा सक्रिय छन् । ह्यात होटलमा अड्डा जमाएर बसेका माथुरले हरेक दलका शक्तिशाली नेतालाई भेटेर अबको प्रधानमन्त्री तपाईँ हुनु पर्छ भन्दै प्रमुख तीन दलबीच फुट ल्याउने प्रयास गरिरहेका छन् ।
ओलीलाई फुक्र्याउने प्रयास
गत बिहीबार नै एमाले अध्यक्ष ओलीलाई उनको निवास पुगेर माथुरले नयाँ सरकारको विषयमा कुराकानी गरेका थिए । स्रोतका अनुसार माथुरले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्नमा आफूहरुले सहयोग गर्ने लोभ देखाउँदै आफ्नो मुद्धामा लचिलो बन्न आग्रह गरे ।
देउवासँग डिनर
बिहीबार नै कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको निवासमा माथुरले लामो बातचित गरे । त्यो बेला अमरेशकुमार सिंह पनि साथमै थिए । खानपिनसहित माथुरले देउवालाई कसरी आगामी प्रधानमन्त्री बनाउन सकिन्छ भन्ने बारे कुराकानी गरे ।
बाबुरामलाई घरमै पुगेर बधाई
माथुरले बाबुराम भट्टराईलाई सानेपास्थित निवासमै पुगेर पार्टी छाडेकोमा बधाई दिए । उनले भट्टराईसँग मधेसको आन्दोलनलाई कसरी परिणामुखी बनाउने र भट्टराईलाई कसरी स्थापित गर्ने भन्ने विषयमा कुराकानी गरेका थिए ।
बुधबार साप्ताहिकबाट
