यसरी झुक्दैछ भारत
काठमाण्डु, १३ असोज– नेपालका लागि भारतका राजदूत रणजित रायले नेपालमा हाल उत्पन्न समस्या चाँडो समाधान हुने विश्वास व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध पुरानै अवस्थामा फर्कनेमा आफू ढुक्क रहेको बताएका छन् ।
‘अहिलेको समस्या नेपालको आन्तरिक विषय हो र त्यसको समाधानका लागि यहाँको नेतृत्व वर्ग लागिपरेको छ,’ राजनीतिक समस्याको निकास खोज्न सम्बद्ध दलका नेता क्रियाशील रहेकाले शीघ्र निकास निष्कने विश्वास व्यक्त गर्दै उनले भने ।
‘बल प्रयोग गरेर तत्कालै समस्या समाधान भए पनि त्यो चिरस्थायी हुँदैन’, सीमापारिबाट भइरहेका अवाञ्छित गतिविधि नियन्त्रण गर्न आफ्नो मुलुकका सुरक्षाकर्मी प्रयोग गर्न नसकिने स्पष्ट गर्दै उनले भने ।
खुला सिमानाका कारण भारतीय भूमिमा नेपाली पुग्ने गरेका र ‘रोटीबेटीको’ द्विपक्षीय सम्बन्धमा सुरक्षाकर्मी परिचालन गर्न नसकिने उहाँको तर्क थियो । भारतले नेपाल र नेपालीलाई आदर गर्दै आएको र नेपालका सबै नेता भारतका मित्र भएका पनि बताए ।
वार्ताको माध्यमबाट समस्याको निकास खोजिनुपर्नेमा जोड दिँदै उनले आन्दोलनरत पक्ष र सरकार मिलेर अघि बढ्नु श्रेयस्कर हुने बताए ।
दुवै देशका सरकार र जनताका साथै कूटनीतिक तहमा पनि आपसी सम्बन्धलाई पुरानै अवस्थामा फर्काउने अथक प्रयास भइरहेको राजदूत रायले बताए ।
